पञ्चपुरी र चौकुनेमा कोरोनाविरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु हुँदै


सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाइने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधक सहयोगमा कोरोनाविरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु हुँदैछ ।
पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी तथा ११ वटै वडाका वडाध्यक्ष र पालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सहभागितामा खोप समन्वय समितिको बैठक र खोप अभियानमा सहभागि हुने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरिएको हो । दुबै कार्यक्रममा अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाइएको छ ।
यस्तै, अभियानमा खटिने स्वास्थ्यकर्मीलाई खोपका बारेमा अभिमुखिकरणसमेत गरिएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कोल्ड चेन निरीक्षक हरि बस्नेतले नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई खोपका बारेमा आवश्यक जानकारी दिनुका साथै अभियानलाई सफल बनाउन लागि पर्न आग्रह गरे ।
यस्तै, पालिकामा खोपको अवस्था, खोपको प्रभावकारिता, खोप लगाउदा अपनाउनुपर्ने सावधानी, खोप भण्डारण तथा तथ्यांक संकलन लगायतका प्राविधिक विषयमा इपिक नेपालका प्रदिप श्रेष्ठले स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरेका थिए । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीले खोप अभियानलाई वडा तहसम्म व्यापक बनाएर लैजानु पर्ने बताए ।
नागरिकको स्वास्थ्यमा पालिका प्रतिवद्ध रहेको बताउँदै भण्डारीले खोपका विषयमा जनचेतना मार्फत खोपबाट छुटेका सबैलाई अभियानमा जोड्नतर्फ वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई ध्यान दिन आग्रह गरे । चौकुने गाउँपालिकामा भएको कार्यक्रम पालिकाका अध्यक्ष खड्क विकको अध्यक्षतामा भएको हो ।
पालिकामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित कार्यक्रममा पालिकामा विशेष गरी खोपको कुनै पनि डोज नलिएका व्यक्तिलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
चौकुनेमा सम्पन्न खोप समन्वय समितिको बैठकमा जिल्ला जनस्वाथ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले खोप अभियान सञ्चालन गर्न जनप्रतिनिधि तथा शिक्षा क्षेत्रको भुमिका मुख्य रहने भन्दै अभियानलाई थप प्रभावकारी बनाउनतर्फ लाग्नु पर्ने बताए ।
यस्तै, चौकुनमा कार्यरत स्वास्थ्यकर्मीलाई इपिक नेपालका मुकेश भट्टले कोरोनाविरुद्धको खोपका बारेमा आवश्यक प्राविधिक पक्षमा अभिमुखिकरण गरेका थिए । दुबै पालिकामा सम्पन्न कार्यक्रमका सहभागी सरोकारवालाले पालिकाको आवश्यकता भन्दा खोपको मात्रा कम भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
शुक्रवारदेखि सञ्चालन हुने अभियानका लागि आवश्यक पर्ने खोप पालिकामा पठाइ सकिएको छ । शुक्रबार र शनिवार गरी २ दिन चल्ने अभियानमा विशेष गरी कोरोनाविरुद्धको खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोजबाट छुटेका १२ वर्षमाथिको उमेर समूहका व्यक्तिहरुलाई समेट्ने लक्ष्य राखिएको छ ।






