नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा


दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख आउने तयारी भएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि बाटो खुलेको हो ।

अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको र अर्थबाट भन्सारमा पत्र जाने क्रम जारी भएकाले एक–दुई दिनमा रुपैडिया नाकामा रोकिएका करिब ३० वटा उपकरणसहितका ट्रक दैलेखका लागि हिँड्ने खानी तथा भूगर्भ विभागका प्रमुख दिनेशकुमार नापितले बताए ।

दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकतामा ६० वटा ट्रक आइसकेका छन् । नेपालगन्जस्थित रुपैडिया नाकामा ३० वटा ट्रक पुगिसकेका छन् ।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत दिनेशकुमार त्रिपाठीले जानकारी दिए ।

जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउनेलगायतका अधिकांश काम सम्पन्न भइसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भूगर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो । अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ ।

नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । यसपालिको अन्वेषणको सकारात्मक रिपोर्ट आएमा समग्र नेपालकै आर्थिक अवस्था सुधारमा यो परियोजना कोसेढुंगा साबित हुनेछ ।

नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा

हिमा नदीमाथिको पुल जीर्ण

नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा

चैत अन्तिममा एमालेकोे कालीकोटमा अधिवेशन