सम्पादकीय : राष्ट्रिय भलिबल प्रतियोगिताका सन्देशहरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा विहीबार ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भयो । राष्ट्रिय भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा एपिएफ क्लबलाई उछिन्दै नेपाल पुलिस क्लब ३४ औं राष्ट्रिय पुरुष भलिबलको उपाधि हात पार्न सफल भयो । नेपाल पुलिस क्लब च्याम्पिएन बनेसंगै एपिएफ दोस्रो, गण्डकी प्रदेश तेस्रो र त्रिभुवन आर्मी क्लब सान्तवना भए ।

प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी रविन चन्द, उदियमान खेलाडी पहल गहतराज घोषित भए । उपाधिसँगै पुलिसले एक लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । कर्णालीमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सन्देश यति मात्रै होइन् । नतिजा एउटा सन्देश हुन सक्ला तर यो प्रतियोगिताले कर्णालीलाई छाडेका आयामहरु सबैले केलाउन र मनन् गर्न जरुरी छ ।

भलिबल नेपालमा सर्वाधिक र चर्चित खेलमा पर्दछ । यो नेपालको राष्ट्रिय खेल पनि हो । हरेक नेपाली नागरिकहरु कुनै न कुनै हिसाबले यो खेलसंग परिचित छन् । अझ कर्णालीको भूगोलमा भलिबल बढी खेल्ने गरिन्छ । तराईमा क्रिकेट लोकप्रिय भएजस्तै पहाड र उच्च पहाडी भूगोलमा यो खेल चर्चित छ । यस हिसाबले कर्णालीको मनोविज्ञान समेत भलिबलले बोकेको छ । भलिबलको राष्ट्रियस्तरको प्रतिष्पर्धा कर्णालीकै मैदानमा हुनु सुखद पक्ष हो । यो प्रतियोगिता २०८१ मा कर्णालीमै आयोजना हुने दसौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई कसरी व्यवस्थापन गर्ने भन्ने सिकाइ बनेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा खेलकूदका दुई ठूला पूर्वाधार एकैसाथ बन्दैछन् । अत्याधुनिक प्रकृतिको प्रादेशिक रंगशाला र क्रिकेट रंगशाला । यी संरचना २०८१ मंसिर अगावै सम्पन्न गर्नुपर्ने चुनौती छ । रंगशाला नहुँदा आयोजकलाई खुला आकाशमूनी, घाम, पानी र धूलोको त्रासले खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता छ । यसपटक त अझ रोचक दृश्य देखियो, खुलामञ्चमा भलिबल हेर्न दर्शकहरुले बाँसको टेवा लगाएर, बसको छत र रुखमा चढेर खेलको स्वाद लिए ।

यो दृश्यले दर्शकलाई अत्यासमात्र दिएन हाम्रो शासन प्रणाली, खेल पूर्वाधार र खेल व्यवस्थापनलाई समेत जिस्क्यायो । कर्णालीमा प्रादेशिक रंगशाला लगायतका केही महत्वपूर्ण पूर्वाधारहरु छिटो सम्पन्न गर्न दबाब दिएको छ ।सार्वजनिक बस, बाँसको टेवालाई रंगशालाको प्यारापिट जस्तो बनाएको दृश्यले पक्कै पनि कर्णाली प्रदेश सरकार, खेलकूद परिषद्लाई घोचिरहेको हुनुपर्छ । राष्ट्रिय भलिबल प्रतियोगिताको अर्को सन्देश हो, घरेलु मैदानमा खेल हुँदा समेत कर्णालीको टोली समूह चरणमै बाहिरियो । सेमिफाइनल खेल्न पाएन ।

घरेलु मैदान पाउँदा समेत कर्णालीका खेलाडीले लाभ लिन सकेनन् । निकट भविष्यमा हुन लागेको दसौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि कर्णाली सबै खेलको पदक तालिकामा पुछारमा हुने संकेत देखापरेको छ । करोडौं खर्च गरेर पूर्वाधार बनाउने, प्रतियोगिता आयोजना र व्यवस्थापन गर्ने तर पदक तालिका जम्मै शून्य पाउने हो भने सरोकारवालाले अहिलेदेखि नै गम्भीर भएर सोच्न आवश्यक छ । पदक तालिका पुछारमा पर्नबाट जोगाउन खेलाडीहरुलाई छनौट गरी तालिम दिन शुरु गर्नुपर्छ । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले छाडेका यी सन्देशहरुलाई कर्णाली प्रदेश सरकार, खेलकूद परिषद् लगायतका सरोकारवालाले समयमै ग्रहण गर्न सकून ।

सम्पादकीय : राष्ट्रिय भलिबल प्रतियोगिताका सन्देशहरु

बालबालिकालाई झुक्याउन थाले, जनप्रतिनिधी

सम्पादकीय : राष्ट्रिय भलिबल प्रतियोगिताका सन्देशहरु

YUGAAWHAN NATIONAL DAILY (2080-09-29)