जनप्रतिनिधि र कर्मचारीले श्रमदानबाटै बनाए सडक


हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सडक निर्माण गरेका छन् । नगरपालिकाभित्र पर्ने चुँ गार्ड खोलादेखि लिकु जाने बाटोसम्मको करिब एक किलोमिटर सडक निर्माणसँगै सुधार गरेका हुन् ।
मंगलबार नगर प्रमुख जनचन्द्र रोकायको नेतृत्वमा गएको जनप्रतिनिधि र कर्मचारीको टोलीले साँघुरो ठाउँमा बाटो चौडा गर्नुका साथै बीच बाटोमा रहेका ढुंगाहरू फुटाएर सडक निर्माण गरेको हो ।
पैदलयात्रु र मोटरसाइकलमा आवतजावत गर्न समस्या भएपछि जनप्रतिनिधि र कर्मचारी मिलेर सडक सुधारको काम पनि गरेका छन् । सबै सानातिना ठाउँमा बजेट हाल्न पारदर्शी नहुने भएकाले जनप्रतिनिधि र कर्मचारीसहित श्रमदान गरेर सडक बनाइएको उनले बताए ।
पहिला बाटो अप्ठेरो भएकाले मोटरसाइकलमा यात्रा गर्न असहज भए पनि अब भने सरर यात्रा गर्न मिल्ने बनाइएको छ । बाटो सुधार भएसँगै चुँगार्ड खोलामा मोटरेबल पुल नबनुञ्जेल मोटरसाइकलमा सहज रुपमा आवतजावत गर्न सकिने वडा नम्बर १ का अध्यक्ष रामचन्द्र कुलालले बताए । श्रमदान कार्यक्रममा झण्डै ५० जना जनप्रतिनिधि र कर्मचारी सहभागी भएका थिए ।






