बुर्का फालेर समाज परिवर्तनको अभियानमा ‘नजबुल’


छैठौं ऐतिहाँसिक राष्ट्रिय बेटि सम्मेलन–२०८० कर्णाली प्रदेश, सुर्खेतमा सम्पन्न भएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरद्धारा माघ २७ गतेदेखि वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको हो । ‘दिगो विकास लक्ष्य ५ पुरा गर्ने प्रतिवद्धता, सबै निर्णायक तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता’ भन्ने नारा यस सम्मेलनको हो ।
नजबुल खान मुस्लिम समुदायकी एक विद्रोही छोरी हुन् । बुर्का फालेर समाज परिवर्तनको अभियानमा लागेकी नजबुल आभाशा राष्ट्रिय अभियानको केन्द्रिय संयोजक हुन् । नजबुल, महिला अधिकारको क्षेत्रमा एक शसक्त नाम पनि हो । उदयपुरमा जन्मिएकी नजबुल ४४ वर्षको भईन् ।
उनले पढ्नका लागि बुर्का फालेर विद्रोह गरिन् । बुर्का फाल्दागलत भन्ने समुदायले अहिले उनको प्रशंसा गर्न थालेको छ । नजबुलका विभिन्न योजनाहरु थिए । त्यसको कार्यान्वयन गर्न घरमा बसेर सम्भव नै थिएन् । उनी कहाँ–कहाँदौडिनु पथ्र्यो ।
त्यसको कार्यान्वयन गर्न केही वर्षयता आभाशा राष्ट्रिय अभियान सञ्चालन गर्दै आएकी छिन् । आभाशा को अर्थ आसनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने हो । महिलालाई आसनमा पनि भाषणमा पनि र शासनमा पनि पछि पार्ने गरिएको महशुस गरेपछि उनले यो राष्ट्रिय अभियान सञ्चालन गरेकी हुन् । समानता, समावेशी र मानव अभिकारका लागि हुनैपर्छ, आसनमा महिला, भाषणमा महिला, शासनमा महिला, हरेक घर हरेक पालिका हुनुपर्छ साहसी बालिका भन्ने मुल उद्देश्य पनि ।
नजबुलले भनिन्,‘आभाशा राष्ट्रिय अभियानबाट अहिले सम्म धेरै काम गरेका छौँ । तर, त्यसमा पनि बेटी राष्ट्रिय सम्मेलन एउटा विशेष सम्मेलन हो ।’ छोरीचेलीको सशक्तिकरणका लागि उनको नेतृत्वमा शुरु भएको यो सम्मेलन प्रत्येक बर्ष एउटै मितिमा हुँदै आएको छ ।
विशेषगरी छोरीचेलीको हकहितका लागि रछोरीचेलीको शसक्तिकरणको लागि यो अभियान सन् २०१२ मा संस्थागत रुपमा लिएको बताईन् । आभाशाले बेटी सम्मेलन मात्रै नभई, महिलाहरुको हक अधिकारमा समेत आवाज उठाउँदै आएको छ । नजबुलले भनिन्,‘महिलाहरुलाई उप–सुप–चुप बनाउँने गरिएको छ ।’‘यसको अर्थ महिलाहरुलाई उपाध्यक्ष, उपप्रमुख, उपसभापति जस्ता पदमा थन्क्याउने गरिएको छ । हामी त्यसको कडा बिरोध गर्छौं ।’
‘महिलाहरु उपाध्यक्ष, उपप्रमुख, उपसभापति मात्रै होइन अध्यक्ष, प्रमु्ख, सभापति जस्ता पदका लागि पनि लायक हुनुहुन्छ भनेर राजनीतिक दलहरुलाई दबाब दिनेगरी हामी अब छिट्टै अभियान सञ्चालन गर्छौं ।’
छोरीचेलीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणमा सहयोग पुग्नेगरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । नजबुलका अनुसार २०७५ बाट शुरु गरेको यो सम्मेलन प्रत्येक वर्ष एउटै मितिमा हुने गरेको र७ वर्षका लागि पहिल्यै नै यो सम्मेलनको मिति तय गरिएको थियो । प्रत्येक वर्ष माघ २७,२८ र २९ गते यो सम्मेलन हुने गर्दछ ।
१७ बुँदे घोषणा–पत्र जारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलको प्रमुख आतिथ्यतामा दिगो विकास लक्ष्य पाँच र कर्णाली प्रदेश लगायत देशब्यापी रुपमा रहेको चेलिबेटि तथा महिलाहरुको समसामयीक सवालहरुमा छलफल भयो ।
यसका साथै सामाजिक अभियान्ता देवी भट्टराईको संयोजकत्वमा १५ सदस्यीय आभाशा राष्ट्रिय अभियान कर्णाली प्रदेश समिति गठन समेत ग¥यो ।यस सम्मेलनबाट १७ बुँदे कर्णाली घोषणा–पत्र जारी गरिएको छ । घोषणा–पत्रमा वर्तमान संवैधानिक व्यवस्थाको ईमान्दारीपूर्ण कार्यान्वय गराउँदै राज्यको हरेक तहमा महिलाहरुको ५० प्रतिशत अर्थपूर्ण सहभागीता सुनिश्चीत गराउने, हैन भने भद्र असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्ने अभियान सञ्चालन गर्ने जनाइएको छ ।
कर्णाली प्रदेश सरकार लगायत कर्णाली प्रदेशका स्थानीय सरकारहरुको बचत खाता छोरीको, सुरक्षा जीवन भरीको र छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम लगायतका महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानहरुको निरन्तरता र प्रभावकारीता बढाउन आवश्यक पैरवी तथा सहकार्य गर्ने, जाजरकोट भूकम्पबाट जोखिममा रहेका पिडितहरुको सुरक्षा र पुनःस्थापनाका कार्यहरुलाई तिब्रगतिमा अगाडि बढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आवश्यक सहकार्य गर्ने, सबै सार्वजनिक संस्था वा निकायहरुमा काम गर्ने महिलाहरुका साथै शैक्षिक संस्थामा अध्ययन गरिरहेका छात्राहरुका लागि निशुल्क रुपमा स्यानेटरी प्याड वितरणको व्यवस्था मिलाउन सम्बन्धित संस्था तथा निकायहरुलाई जिम्मेवारी बनाउने, छोरी भ्रूण हत्या, बाल विवाह, बहुविवाह, बहुपति प्रथा, घुम्टो प्रथा, दाईजो प्रथा, तिलब प्रथा, तलाक प्रथा, बोक्सी प्रथा, छाउपडी प्रथा, वादी प्रथा र जातिय भेदभाव तथा छुवाछुत प्रथा लगायतका हानीकारक सामाजिक परम्पराहरुको अन्त्य गर्ने कुरा समावेश भएको छ ।
त्यस्तै प्रदेशहरुमा महिला शान्ती स्तम्भ निर्माण गरी शान्ति, सम्मृद्धि एवम लैङ्गिकमैत्री सन्देश प्रवाह गर्ने, ग्रामीण भेगमा वसोवास गर्ने विषेशगरी गरिव तथा विपन्न वर्ग र हिंसा पिडित महिला तथा बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्राप्त गर्न छात्रवृत्ति लागु गरी अनिवार्य शिक्षाको व्यवस्था हुनुपर्ने घोषणापत्रमा जारी गरिएको छ ।
आर्थिक रुपमा विपन्न महिलाहरुलाई आत्मनिर्भर र सशक्त बनाउन आयआर्जनमुलक रोजगार बनाउन स्थानीय सरकार तथा प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य गर्ने लगाएतका साझा प्रतिवद्धता घोषणा पत्रमा जारी गरिएको छ ।
सम्मेलनको मुख्य उद्देश्य
सबै प्रदेशमा महिला बालबालिका मन्त्रालय स्थापनाका लागि दबाब दिने उदेश्य रहेको छ । त्यस्तै ७७ वटै जिल्लामा महिला तथा बालबालिका कार्यालय पुनःस्थापना हुनुपर्ने,स्यानिटरी प्याडको अभावमा स्कुल तथा कार्यालयमा महिलाहरुले अप्ठ्यारो भोग्नुपरेको जस्ता समस्या समाधानका लागि स्यानिटरी प्याड निःशुल्क वितरणको व्यवस्था गर्नुपर्ने माग रहेको छ ।
यस्तै राजनीतिक दलदेखि लिएर हरेक संघ संस्थामा नेतृत्व परिवर्तन तथा पुस्ता हस्तान्तरण, बालिकाहरुलाई आत्मरक्षाका कार्यक्रम सरकारले नीति तथा कार्यक्रमभित्रै ल्याउनुपर्ने, स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरेर कुपोषण बिरुद्धको कार्यक्रम सञ्चालन गर्नुपर्ने, गुणस्तरीय शिक्षा र लोकसेवामा समावेशीकरण गर्दै पिछडिएको वर्गका महिलालाई विशेष अवसर दिनुपर्ने, चेलीबेटी सशक्तिकरण गर्दै महिलामाथी हुने सबै प्रकारका हिंसा अन्त्य गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वय गर्नुपर्ने, अभाशा राष्ट्रिय अभियानलाई सात वटै प्रदेशहरुमा समन्वय सहकार्य गर्दैै माघ २७ गतेलाई आभाशा दीवसका रुपमा मनाउन सबै पक्षलाई आह्वान गर्ने साथै यस राष्ट्रिय अभियानलाई नेपाल, भारत, बंगलादेश हुँदै सार्क राष्ट्रका सबै देशहरुमा फैलाउँने मुख्य उद्देश्य रहेको छ ।
बेटी राष्ट्रिय सम्मेलनले गरेका काम
आभाशा अन्तर्गत चेलीबेटी सशक्तिकरणका लागि २०७५ बाट राष्ट्रिय बेटी सम्मेलन गर्न शुरु गरेकोछ । पहिलो बेटी सम्मेलन २०७५ सालको माघ २७,२८ र २९ गते उदयपुरमा भएको थियो । दोस्रो राष्ट्रिय बेटी सम्मेलन २०७६ सालमा मधेश प्रदेशमा भयो ।
तेस्रो २०७७ मा हेटौंडामा र चौथो २०७८ पोखरामा, पााचौँ २०७९ बुटवलमा र छैठौँ २०८० कर्णाली प्रदेशको सुर्खेतमा गरियो ।सम्मेलनमा विभिन्न विषयमा केन्द्रीत रहेर हिमाल, पहाड, तराईका छोरीचेलीहरुका बीचमा व्यापक अन्तरक्रिया तथा छलफल चलाउँने गरेको छ भने प्रत्येक सम्मेलनमा केही छोरीचेली र छोरीचेलीहरुको हकहितका लागि काम गर्ने तथा समाजमा उदाहरणीय काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ ।






