चिसोले कष्टकर जीवन बिताउँदैभूकम्प पिडित


कार्तिक १७मा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट,सल्यान, पश्चिम रुकुमबासी यतिवेला त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका छन् । तीन महिना बितिसक्दा अस्थायी टहरा समेतको व्यवस्था नहुँदा अधिकाँश भूकम्प पिडित खुल्ला आकाशमुनी त्रिपालभित्र कष्टकर जीवन बिताई रहेका छन् ।
चिसोले गर्दा बृद्धबृद्धा,गर्भवती महिला,सुत्केरी,बालबालिका बढी प्रभावित भएका छन् । चिसोले गर्दा नै भूकम्पपछि २ जना सुत्केरीसहित जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ जना गरी ३६ जनाको ज्यान गईसकेको छ ।
पीडितका न्यानो कपडा खाद्यान्न लगायतका सामाग्री पुगे पहुँच नभएकाको ठाउँमा अझै पुग्न सकेको छैन् । चिसोबाट बच्न पिडितले आगोको साहारालिएर राहत कटाउनु परेको जाजरकोट भेरी नगरपालिका–५ की जयन्ता विकले बताईन । उनले भनिन,‘दिनमा त घाम तापेर जाडो हट्छ । रातीमा आगो बालेर हटाउँछौं । दाउराको समस्या उस्तै छ ।’
विभिन्न गैरसरकारी संघ संस्था र सरकारी कार्यालयले भूकम्प पिडित परिवारका लागि न्यानो कपडा,त्रिपाल कम्बल समेत पहुँचकै आधारमा जनप्रतिनिधीले वितरण गर्ने गरेको भूकम्प पिडितको गुनासो छ । घरबार विहिन बनेका भुकम्प पिडित तीन महिना वितिसक्दा पनि अझै पनि त्रिपालमुनि कष्टकर रात कटाउन बाध्य छन् ।
कतै आगोको साहारा लिएर रात बिताई रहेका छन् । घर भत्किदा त्रिपालमुनी बसेर रात बिताउनु परको भेरी नगरपालिका–१ का चन्द्रबहादुर कामीले बताए । उनले भने, ‘त्रिपाल त दियाँका छन् । तल भुईमा चिसो छ, माथीबाट राती शित झर्छ, भित्र आगो बालौं भने त्रिपाल पोलिने डर हुन्छ । हामी त बाहिरै बसेर आगो तापेर रात काट्छौं । चिसोबाट गर्भवती महिला,बालबालिका दिर्घरोगी समस्यामा छन् ।’
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरि चन्द्र शर्माले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा एक सय एक जनाले भूकम्प परेर ज्यान गुमाएको जानकारी दिए । उनले भने, ‘चिसोले गर्दा मान्छेको मरेको भनेर समाचार र सुन्नमा आएको छ । चिसोले नै मान्छे मरेका हुन् भन्ने आधिकारीता तथ्यांक आई सकेको छैन ।’
चिसोले मरेका हुन् भन्ने स्वास्थ्यकर्मीले दिनुपर्ने होईन उनले प्रश्न गरे ? तर चिसोको कारणले गर्दा २०८० पुस २१ सम्म जाजरकोटमा ३१र रुकुममा पश्चिममा ५ जना गरी ३६ जनाले ज्यान गुमाएको विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
भेरी नगरपालिकमामा ४९७अस्थायी टहरा निर्माण
जाजरकोट भेरी नगरपालिकामा चार सय ९७ अस्थायी टहरा निर्माण भईसकेको नगरपालिकाका सूचना अधिकारी सुर्य लम्सालले जानकारी दिए । उनले भने,‘भेरी नगरपालिकाको वडानं.–१ ९४२ वटा र वडानं.२१५वटा गरि एक हजार १५७अस्थायी टहरा निर्माणको विभिन्न संघ संस्थाले जिम्मा लिएका छन् भने चार हजार ६ सय ५२ जनाले नगरपालिकाबाट पहिलो टहरा निर्माणको लागि पहिलो किस्ता लगि सकेका छन् ।
डिसिए नेपालको आर्थिक सहयोगमा सोसेकले वडानं.–१ को चौर,रावतगाउँमा एक सय जनालाई अस्थायी टहरा र शौचालय निर्माण जिम्मा लिएको थियो । अहिले सम्म ४४ वटा निर्माण भईसकेका छन्भने बाँकी अस्थायी टहरा र शौचालय निर्माणधिन भईरहेको जानकारीमा आएको छ । आधिकारिक पत्र प्राप्त भएको छैन ।
गर्भवती सुत्केरी दिर्घरोगीलाई डिसिएको ६९ लाख सहयोग
त्यसैगरी डिसिए नेपालको आर्थिक सहयोगमा सोसेस नेपालद्धारा सञ्चालित जाजरकोट भूकम्प प्रतिकार्य परियोजनामार्फत जाजरकोटको भेरी नगरपालिका–१ र ३ मा २६० जना र रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका १३ र १४ वडामा २०० जना सुत्केरी गर्भवती र दिर्घरोगी नगद १५ हजार बहुउपयोग प्रयोजनका लागि सहयोग हस्तान्तरण गरिएको छ । दुई पालिकाका लागि नगद ६९ लाख हस्तान्तरण गरिएको छ भने सोसेक नेपालले दुई जना काउन्सेलर खटाएर पिडितहरुलाई मनोविर्मश दिईरहेको सोसेक नेपालले जनाएको छ ।
अस्थायी टहरा निर्माणपछि आफुहरुलाई सुविस्ता भएको भेरी नगरपालिका १ चौरकी बालमति कामीले बताईन । उनले भने, ‘भूकम्पले मेरो सासुको पनि ज्यान लियो । सबै घर भत्कियो । म गाउँको आफन्त कहाँ बस्न गएको थिए । आउँदा घर भत्किएर सबै पुरिएका थिए । अरुलाई परिवारलाई घाईते अवस्थामा गाउँले उद्धार गरे । तर सासुको भने मृत्यु भईसकेको रहेछ’ गहँभरी आँशु निकाल्दै उनले भनिन् । अस्थायी घर टहरा पाएपनि त्यो दिनको भूकम्पले दिएको पिडा अझै कम भएको छैन उनले थपिन ।
बेलमति मात्र होइनन् सोही नगरपालिका वडानं. ३ की सुत्केरी बविता केसीले नगद सहयोगले धेरै सहयोग पुग्ने बताईन । सुत्केरीलाई पोषण आवश्यकता हुन्छ, पैसा नहुँदा कहाँबाट ल्याउने भन्ने चिन्ता थियो । यो पैसाले बच्चाका लागि न्यानो कपडा र पोषणयुक्त खाने कुरा किनेर खाने बताईन । जाजरकोटको भेरी नगरपालिका वडानं.–१ को चौर र रावतगाउँ । भुकम्पले गर्दा यहाँका अधिकाँश घर भत्किएर त्रिपालमुनि भुकम्प पिडितले रात बिताईरहेका छन् ।






