बालकुमारी घटनाका मृतक शाह र रावतका परिवारलाई राहत

भक्तबहादुर शाही/दैलेख
गएको पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दैलेख महाबु गाउँपालिका–६ का सुजन रावत र अछामका विरेन्द्र शाहका आफन्तलाई राहत हस्तान्तरण गरिएको छ । कोरियामा रहेका नेपालीले शाह र रावतका परिवारलाई सात लाख ५६ हजार सात सय ८१ रकम हस्तान्तरण गरेका हुन् । विहिवार अछामका शाहलाई सोही रकम हस्तान्तरण गरिएको थियो । शुक्रवार विहाना ९ बजे दैलेख काँडाचौर स्थित रावतको आफन्तलाई सो रकम हस्तान्तरण गरिएको हो ।
कोरियामा रहेका हरि प्रसाद खनाल, किसन गौतम, माधव आचार्य, गणेश कोईराला, वि.वि. सिंह दैलेखी समाज कोरिया, कर्णाली समाज कोरियाले आर्थिक सहयोग संकलन गरी पिडित परिवारलाई पठाएको दैलेखका प्रमोद कोईरालाले जानकारी दिए ।

उनले भने ‘हामीले विहिवार अछामका शाहका आफन्तलाई सहयोग हस्तान्तरण गरयौं आज रावतको परिवारलाई आफु विदेशमा भएर पनि नेपालीको पिडामा मलम लगाउने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’ राहत हस्तान्तरण कार्यक्रममा सुजन रावतका मामा यामराज कटुवालले सरकारले तत्काल ४ बुँदे सहमतिपत्र कार्यान्वयन गरोस ।
चार बुँदे सहमति कार्यान्वयन भएन भने आन्दोलन गरिने चेतावनी दिए । नेपालमा रोजगारी पाईदैन भनेर गाउँको युवा विदेश गएर आमाका सपना पुरा गर्न देश छोडन अठोट गरेका दुई युवालाई सरकारले गोली हानेर मार्नु गणतन्त्रको यो भन्दा ठुलो उपहास केही हुँदैन ।
‘बालकुमारी घटनामा संलग्न जो सुकै उच्च पदाधिकारीका भएपनि दोषी देखिएका सबै कानुनी दायरासम्म आउनुपर्ने कटुवालको भनाई छ । चार बुँदे सहमति पत्र अनुसार दोषीलाई कार्वाही भएन भने आन्दोलन गरिनेछ’ उनले भने ।
त्यसैगरी महाबु गाउँपालिकाले मृतक सुजन रावतको आफन्तलाई ५० हजार मानवीय नाताले सहयोग गरिएको गाउँपालिकाका कार्यवाह अध्यक्ष मञ्जु पाण्डेले बताईन । उनले भनिन्, ‘यो पालिकाको सानो सहयोग हो । पिडित परिवारलाई तत्कालका लागि राहत होस भनेर पालिकाले सहयोग गरेका हौं ।’

सुजनको परिवारलाई यसअघि संघ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैंयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । संघ र प्रदेश सरकारले निर्णय गरेको भए पनि पीडित परिवारको निवेदन लिई पठाउने जनाइएको छ । रावत र शाहको परिवारलाई व्यक्ति विभिन्न सरकारी संस्था वा गैरसरकारी संस्थाबाट सहयोग आउने क्रम जारी छ ।
पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको इपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका बीरेन्द्र शाहको ज्यान गएको थियो ।
मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति मृतक युवाहरुलाई शहिद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक÷एक जना सदस्यलाई रोजगारी दिने र उचित राहत सहयोग दिने सहमति भएको थियो ।






