लिमीमा पत्ता लाग्यो नयाँ झरना


नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ । सो क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन् ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना ( स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको बताए । उक्त झरना करिब डेढ सय मिटर अग्लो रहेको बताउँदै उनले यो पर्यटकीय क्षेत्र समेत रहेको बताए ।
उनले आफुसहित हल्जी गाउँका स्थानीय युवाहरु काँच्यो क्षेत्रमा रहेको तालको अवलोकन गर्न जाने क्रममा आकाशमा मौसम सफा भएका कारण उक्त झरना पनि पत्ता लागेको बताए ।
निक्कै अग्लो स्थानमा रमणीय देखिने झरनाका लागि आवश्यक पूर्वाधारको विकास गर्न पर्नेे उनले बताए । उक्त क्षेत्र पाँच हजार दुई मिटर उचाइमा रहेको तर बाटोको व्यवस्था समेत नभएका कारण ताल जस्तै झरना पनि ओझेलमा पर्ने उनले बताए । स्थानीयहरु भने बाटो बिनै सो क्षेत्रका पुग्दै आउने गर्छन् । उक्त स्थानमा पुग्न निक्कै जोखिम समेत रहेको कारण जो कोही जानै नसक्ने अवस्था रहेको छ ।






