बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा वन्यजन्तुको बढ्दो आतंकले विस्थापनको संघारमा वस्तीहरु


भेरीगंगा नगरपालिका–१, माथिल्लो भ¥याङ्ग कि तिलसरा भाटलाई साँझ पर्ने बित्तिकै एउटा पिर थपिन्छ । उमेरले ६० को दशकमा लागेकी भाट पछिल्ला केही बर्ष यता रातमा ढुक्कले सुत्न पाउने अबस्था छैन । १७ किलोमिटर उत्तर दुरीमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा दक्षिणतर्फ बर्दिया र बाँके जिल्ला रात परेपछि झमल्ल हुन्छन् । तर प्रदेश मुकामको छेउमै रहेको तिलसराको बस्ती अध्यारो छ ।
त्यसैमा ढुक्कले सुत्ने अवस्था पनि छैन् । कारण हो, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका जंगली जनावर । प्रदेश राजधानीसँगै जोडिएको पालिका भएपनि यहाँ अझैसम्म विकासका प्रमुख पूर्वाधारहरु सडक, विजुली तथा खानेपानीको सहज पहुँच छैन । शिक्षा र स्वास्थ्यमा पनि पिछडिएको छ, उनको गाँउ ।
‘बदेल, बाँदर, मृग, खरायो, दुम्सीले धान, मकै, गहुँ, केरा, नास्तपती खाइदिन्छन् । चितुवा आएर दैनिक घरबाटै बाख्रा तथा पशुचौपाय तानेर लान्छ,’ तिलसरा भन्छिन्, ‘पहिले पशुचौपाय जंगलमा छोडुवा छाडिन्थ्यो । अहिले बाघ, चितुवाहरु घर आँगनमा आउन थाले ।’ पछिल्ला पाँच वर्ष यता बस्तीमा वन्यजन्तुको त्रास बढेको उनी बताउँछिन् ।
मेहनत गरेर जसोतसो परिवारको छाक टर्ने तिलसराको परिवारमा जंगली जनावरले बालि खाईदिन थालेपछि खाद्य असुरक्षा बढेको छ । तिलसरा त एउटा प्रतिनिधी पात्र मात्र हुन । यस भेगमा वन्यजन्तुको हैरानीमा परेको जनसंख्या ठूलो छ । कतिपय गाँउ त वन्यजन्तुका कारण विस्थापितको संघारमा उभिएका छन् ।
बराहताल गाउँपालिका–४, खण्टेका स्थानीय प्रेमबहादुर शाहीको मुख्य पेशा कृषि र पशुपालन हो । पशुपालन त्यसमा पनि बाख्रापालनका लागि उपयूक्त क्षेत्र हो, खण्टे । तर, शाहीलाई बाख्रा मात्रै होइन गोठमा बाँधिएका गाई गोरु चितुवा र बाघबाट जोगाउन हम्मे परिरहेको छ । दिनहुँ जसो उक्त क्षेत्रमा बाघ, चितुवा, बदेल, बाँदर लगायतका जंगली जनावरले कुनै न कुनै रुपमा क्षति पु¥याएकै हुने शाही बताउँछन् ।
शाही घटना भएपछि दिईने क्षतिपूर्ति मात्रै होइन त्यसपूर्व बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणमा अपनाई रहेको अभ्यासले मात्र आफू र आफ्ना घरपालुवा जनावर तथा अन्नबाली सुरक्षित होला जस्तो नलाग्ने बताउँछन् । शाहीको भनाईमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै त्यहाँ रहेका चितुवालगायतका वन्यजन्तुहरु वरिपरिका सामुदायिक वनहरूमा बसाइँ सरेर दुख दिन थालेका हुन् ।
‘वन्यजन्तुले बालीनाली तथा पशुधनमा क्षति पु¥याएमा निकुञ्जले दिने राहत प्राप्त गर्न लामो समय लाग्छ,’ शाही भन्छन्, ‘भौगोलिक दुरीका हिसावले राहत रकमभन्दा राहत लिन बर्दिया आवतजावत गर्दा बढी खर्च हुन्छ । प्रक्रिया पनि उस्तै झञ्झटिलो छ । बस्ती नजिक बाघ, चितुवा लगायतका जनावरको बिगबिगी बढ्न थालेपछि त्रसित हुनुपर्ने स्थिती छ ।’ एक हप्ताको अवधिमा दुई कुकुरसहित एक दर्जन बढी बाख्रा बाघ तथा चितुवाले मारेको शाहीले बताए । निकुञ्जले संरक्षण आसपासका क्षेत्रमा रहेका बस्तीहरुलाई विकल्प दिन सक्नुपर्ने उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको २०७५/०७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार आठ सय ३३ घर धुरीमा नौ हजार नौ सय २५ जनसंख्या छ । यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतङ्क व्यहोर्न बाध्य रहेको शाही बताउँछन् ।
सुर्खेतका दुई पालिकाका सात वटा वडामा चार वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । जसमा बराहतालका १ र ३ तथा भेरीगंगाका १, २, ३, ४ र ५ वडाहरु मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । यी क्षेत्रमा २०२३/२०२४ सालतिरबाट बस्ती थालिएको थियो । यो क्षेत्रमा अधिकांश वनपैदावारमा आश्रित सिमान्तकृत गरिव समुदायको बसोबास छ । भेरीगंगा नगरपालिका–३, का रमेश घर्ती जनावरका कारण उत्तरी क्षेत्रका नागरिकको उठिवास लाग्ने अवस्था आउदा पनि बर्दिया राष्ट्रिय निकुञ्जले व्यवस्थापनमा ध्यान नदिएको गुनासो गर्छन् । बालिनालीमा क्षति पु¥याउने वन्यजन्तुसँगै पछिल्लो समय बाघ तथा हात्ती समेत बस्तीमा पस्ने अवस्था आइरहेको उनले पनि बताए । घर्तीका अनुसार सबैभन्दा बढी बँदेल, बाँदर, दुम्सीले क्षति गरिरहेका छन् ।
बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनिकरण गर्न समुदायमा धेरै कार्यक्रमहरु लागु गरेको भएपनि उत्तरी क्षेत्रमा नतिजा दिने खालका कार्यक्रम लागु नभएको उनी बताउँछन् । ती कार्यक्रमहरु मानव–वन्यजन्तुको सहअस्तित्व जोगाउने खालका नभएकाले अध्ययन गरेर बदल्नतर्फ निकुञ्जले ध्यान दिनुपर्ने घर्तीको सुझाव छ । निकुञ्जले बाली र पशुमा वन्यजन्तुले क्षति पु¥याए राहत दिने गरेको छ । तर, राहत पाउन स्थानीयलाई उत्तिकै मुस्किल छ । राहत वितरण प्रणाली झन्झटिलो हुँदा अधिकांश पीडित राहत रकमबाट बञ्चित छन् । जग्गाको लालपुर्जा भएकालाई मात्र राहत दिने गरिएको छ ।
‘हामीसँग लालपुर्जा छैन । निकुञ्ज लालपुर्जा भएकालाई मात्र राहत दिन्छ,’ तिलसरा भन्छिन्, सरकार लालपुर्जा दिँदैन । दिनदिनै जनावरले पशु तथा बालिनालीमा क्षति पु¥याने क्रम बढ्दो छ । लालपुर्जा नभएपनि के हामी यहाँका बासिन्दा होइनौं र ?, संरक्षणका नाममा हामी जस्ता गरिब जनताहरु जनावरहरुबाट लुटिनुपर्ने बाध्यता कहिलेसम्म ?’ । प्रकृति संरक्षणमा राज्यलाई आफूहरु रित्तिदा पनि सहयोग गरिरहेको उल्लेख गर्दै तिलसरा भन्छिन्, ‘हामीलाई केही चाहिएको होइन । बस् हामीले खोजेको जनावरबाट सुरक्षित जीवनयापन हो ।’
मानव–वन्यजन्त बिचको सहअस्तित्व जोगाउन गरिएका प्रयासमा निकुञ्ज र स्थानीयबीच तालमेल नमिलेको बताउँछन् मध्यवती क्षेत्र अन्तर्गतको लेखपराजुल उपभोक्ता समितिका अध्यक्ष किरणकुमार भाट क्षेत्री । वन्यजन्तुको बासस्थान मास्दा दिनानुदिन समस्या थपिँदै गएको उनले बताए । यो क्षेत्रका मानिसहरुको मुुख्य पेशा वनपैदवारमा आश्रित पशुपालनमा बाख्रा र वन्यजन्तुको सिकार नै मुख्य थियो ।
मध्यवर्ति क्षेत्र घोषणा हुनुपूर्व स्थानीयहरु निकुञ्जभित्र लुकिछिपि वन पैदावार तथा सिकार खेल्न जान्थे । बस्तीमा पस्ने जनावर पनि सिकारको रुपमा मारिन्थे । जसका कारण बालिनालिमा त्यति क्षेति हुँदैन थियो । उती बेला यी क्षेत्रमा बाघ तथा चितुवा खासै देखिदैन थिए । तर, मध्यवती क्षेत्र घोषणा भएसँगै चोरी सिकारी नियन्त्रण अभियान चल्यो । त्यसयता भने जनावारहरु निर्वाध बस्ती छिर्न थालेका हुन् । निकुञ्जमा बाघको संख्या बढ्नुले पनि हिंस्रक बाघ तथा चितुवाहरु माथिल्ला क्षेत्रमा उक्लन थालेको अध्यक्ष भाट क्षेत्रीले बताए । बफरजोन घोषणा भएपछि स्थानीयलाई जंगली जनावरले मन नपराउने खालको बैकल्पिक खेती ओखर, कागती, अम्रिसो, अदुवा, बेसार, केरा लगायतका खेतीतर्फ अग्रसर गराइएको थियो । सोही बमोजिम लेखपराजुलका स्थानीयले खेति पनि गरे । उत्पादन पनि प्रसस्त भयो । तर, उत्पादनले बजार नपाएको अध्यक्ष भाट क्षेत्री बताउँछन् । ढुवानीमा समस्या भएपछि स्थानीयले बैकल्पिक खेती प्रणालीतर्फ मन लगाउन छाडेको उनले बताए ।
पहँुचमार्ग नहँुदा बोकेर लैजान सम्भव नदेखेपछि स्थानीय खेती बन्द गर्न बाध्य भएका हुन् । भौगोलिक विकटतका कारण मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनिकरणमा चुनौती रहेको उनले बताए । अहिले सुधारिएको बाख्राको खोर बनाउन थालिएको छ । मानव–वन्यजन्तु बिचको सहअस्तित्व जोगाउन बस्ती क्षेत्रमा पहुँच मार्ग विस्तार गरेर मानविय चहलपहल बढाउन आवश्यक रहेको उनले बताए । वन्यजन्तुले बालिनालिमा क्षति पु¥याउन थालेपछि यस क्षेत्रमा खाद्य असुरक्षा बढ्दै गएको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेत मध्यवर्ती क्षेत्रमा मध्यवर्ती व्यवस्थापन समितिमार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँछन् बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार राम । ‘माथिल्लो क्षेत्रमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिहरु छन् । हामीले ति समितिद्वारा वन्यजन्तुबाट क्षति भयो भने तत्काल क्षतिको विवरण संकलन गर्छौं । मुचुल्का उठाउँछौं,’ उनी भन्छन्,’ ‘वन्यजन्तुले कस्तो खालको क्षति पु¥याएको छ त्यो हेर्छौ र सरकारले गरेको व्यवस्था अनुसार राहत दिन्छौं ।’
यो क्षेत्रमा कहिले काँही वन्यजन्तुबाट मानव घाईते हुने गरेको भएपनि विशेष गरेर पशुधन र बालीनालीमा बढि क्षति हुने गरेको संरक्षण अधिकृत रामले बताए । राहत लिने प्रक्रिया निकै झन्झिटिलो छ भन्ने स्थानीयको गुनासो छ नि ? भन्ने प्रश्नमा संरक्षण अधिकृत रामले भने, ‘यस्तो छ झन्झिटिलो भन्दा निवेदन दिने सयम ३५ दिनको हुन्छ । निवेदन प्राप्त गर्ने वित्तिकै हामीले हप्ता दिनदेखि १० भित्र राहत दिहाल्छौं, त्यस्तो छैन । उनीहरुले कति समय लगाउँछन् भन्नेमा हो । झन्झटिलो त मान्छे अलिअलि फिल गरिहाल्छन् अब घरमै पुगेर दिन सकिँदैन । कानुनि प्रक्रिया पनि पुरा गर्नै प¥यो । त्यस्तो समस्या छैन र हामीले रोक्ने कुरा पनि हुँदैन ।’
यो क्षेत्रमा मानव–वन्यजन्तु बिचको सहअस्तित्व जोगाउनका लागि पर्यापर्यटन नै मुख्य रहेको उनले बताए । यसका लागि स्थानीयहरु तयार भएको खण्डमा निकुञ्ज सहयोग गर्न तयार रहेको संरक्षण अधिकृत रामले बताए । मानविय चहलपहल बढाउनका लागि निकुञ्जले विभिन्न क्षेत्रमा गोरेटो बाटो निर्माण तथा मर्मत कार्य पनि जारी राखेको उनले बताए ।
स्थानीय तह सिफारिस पत्रमै सिमित !
मध्यवर्ती क्षेत्रमा प्रदेश र स्थानीय सरकारहरुको मनस्थितीमा निकुञ्जले अनुमती दिदैन भन्ने परेकाले संरक्षणमा थप चुनौती रहेको बताउँछिन् मध्यवर्ती क्षेत्र अन्तर्गतको बराहताल गाउँपालिका–३, को तरंगा सिद्धचुली उपभोक्ता समितिका अध्यक्ष चन्द्रा बुढा । गाउँपालिका र प्रदेश सरकारलाई पटक–पटक यो क्षेत्रमा ग्रामिण कृषि तथा पर्यटकिय मार्ग निर्माण गर्न अनुरोध गरेको भएपनि निकुञ्जलाई देखाएर पन्छिने गरेको उनले बताइन । पूर्वि हर्रेबाट पश्चिमको चिसापानीसम्म पहँुचमार्ग विस्तार गरेर पर्यटकिय गतिविधि बढाउन सकेको खण्डमा मानव–वन्यजन्तु सहअस्तित्व जोगान सकिने उनले बताइन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले संविधानले तोकेको एकल अधिकारको अनुसूची तथा सर्वसामान्यतामा प्रतिकुल असर नपर्ने गरी जलाधार, वन्यजन्तुको संरक्षण, विपद व्यवस्थापन, वैकल्पिक उर्जा, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, स्थानीय अभिलेख व्यवस्थापन आदि क्षेत्रका काम, कर्तव्य र अधिकार गाँउपालिका वा नगरपालिकाको हुने व्यवस्था गरेको छ ।
तर, सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकाले वन्यजन्तुले क्षति पु¥याए पश्चात निकुञ्जलाई राहत दिने सिफारिस गर्नमै अल्झिरहेका छन् । हरेक वर्ष जनावरका कारण बस्ती नै छोड्नुपर्ने स्थिती आउँदा स्थानीय सरकार बेखबर बनिरहेका छन् । भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक शेरबहादुर कामी नगरपालिकासँग बफरजोन क्षेत्रमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याउने क्षतिको राहतका लागि सिफारिस दिने बाहेक अन्य कुनै योजना नरहेको बताउँछन् ।
निकुञ्जले राहत दिने भएपछि दोहोर नहोस् भनेर योजना नल्याईएको उनी बताउँछन् । वजेटको सिमितताका कारण वन्यजन्तुले पु¥याउने क्षतिको राहत उपलब्ध गराउन सक्ने स्थिती स्थानीय तहसँग नभएको उनले बताए । केन्द्र र प्रदेश सरकारको बजेट कम हुने तथा नगरपालिकामा राजश्व कम उठ्नु यसको प्रमुख कारण रहेको उनले बताए । मानव–वन्यजन्तुको सहअस्तित्व जोगाउन संघ, प्रदेश सरकार र राष्ट्रिय निकुञ्जले दीर्घकालिन प्रतिफल दिने खालका योजनाहरु प्याकेज बनाएर ल्याउनुपर्ने उल्लेख गर्दै कामीले लालपुर्जा नभएर राहतबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न जग्गाधनी लालपुर्जा वितरण गरिने प्रतिवद्धता उनको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने मध्यवर्ती क्षेत्रमा निकुञ्जले मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनिकरण गर्न गरिरहेको अभ्यास झारा टार्ने प्रवित्तिका रहेको बताउँछन् बराहताल गाउँपालिका–३, का कृषक मोहन आचार्य । शिक्षकसमेत रहेका आचार्यले तल्लो तटिय क्षेत्रको तुलनामा माथिल्लो क्षेत्र भुगोलको हिसावले सुगम नहुनुले पनि समस्या रहेको बताए । ‘निकुञ्जसँगको खुला सिमाका कारण जनावरहरु निर्वाध बस्तीमा पस्छन्,’ उनी भन्छन्, ‘छेकबार केही छैन । जनावरको संख्या बढेसँगै क्षति पनि बढ्दै गएको छ । बदेल, दुम्सी लगायतका जनावरले बढी क्षती पु¥याउन थालेका छन्, भने बाघको बिगबिगी अलि बढ्न थालेको छ ।’
अहिलेसम्म बस्ती सुरक्षित बनाउने खालका कुनै पनि कार्यक्रमहरु अगाडि बढाउन पहल नभएको उल्लेख गर्दै आचार्य भन्छन, ‘हामीले पठाएका मध्यवर्ती सामुदायिक वन समितिका साथीहरुले बस्तीलाई सुरक्षित बनाउन आवश्यक पर्ने योजनाहरु बनाएर लागु गर्नेतर्फ छलफल गरेको पनि खासै देखिदैन । आयआर्जनका कार्यक्रममा जनावरमैत्री खेति प्रणाली अपनाउने खालका कार्यक्रमहरु अगाडि सार्न सकेको खण्डमा निकुञ्जले सहयोग गर्ने जस्तो त देखिन्छ । तर, यसप्रति यहाँका नागरिकले अझै सचेत हुन सकेका छैनन् ।’
स्थानीलाई पुरानो बाली छोड्न पनि गारो तथा नयाँ खेति प्रणाली अपनाउन चासो नदिनु मात्रै होइन लगानी अभावसँगै जोडिने आचार्यले बताए । राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा अवसर र चुनौति दुवै रहेको बताउँछन् उनी । ‘खाद्य बालीहरु विस्थापित गरी नगदेबाली विस्तार गरेर आम्दानी लिनेतर्फ सोच्नु पर्नेहुन्छ,’ उनले भने, ‘अर्को कुरा यो क्षेत्र पर्यटकिय हिसावले एकदमै राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँ स्थानीय तथा प्रदेश सरकारले बाटो घाटो पु¥याएर होमस्टे निर्माण गरेर पर्यटकिय केन्द बनाउन सकिएको खण्डमा निकुञ्जको वरीपरी अवसर पनि छ । अब यसो गर्न सकिएन पुरानै बालीनालीमा मान्छे टिक्न नसक्ने र नयाँ प्रविधिमा जान नसक्ने भए त यो क्षेत्र विस्तारै खालि त हुने नै छ ।’
आचार्यको भनाईलाई आधार मान्ने हो भने दक्षिणी क्षेत्र बाँके र बर्दिया जिल्लामा निकुञ्जले सञ्चालन गरेका कार्यक्रम उत्तरी क्षेत्र बराहताल र भेरीगंगा नगरपालिकामा भुगोलको हिसाबले कुनै पनि प्रतिफल दिने खालका छैनन् भन्दा अन्यथा नहोला । यस क्षेत्रमा खास मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनिकरण शिर्षकमा काम हुनुको साटो नतिजा नआउने खालका कार्यक्रममा निकुञ्ज केन्द्रि भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले उपब्ध गराएको विवरणले पुष्टि गर्दछ ।
निकुञ्जले उत्तरी क्षेत्रमा पर्ने मध्यवर्ती क्षेत्रमा संरक्षण कार्यक्रम अन्तर्गत सामुदायिक विकास सीप तथा आयआर्जन, संरक्षण शिक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत खानेपानीका मुहान तथा जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन, गोरोटो बाटो निर्माण तथा मर्मत, सिंचाई कुलो मर्मत तथा निर्माण, स्थानीयस्तरमा उत्पादित कृषि जन्य वस्तुको बजारीकरण सहयोग, चोरी शिकार नियन्त्रणमा युवा परिचालन, संरक्षण सचेतना तथा सुरक्षित बाख्रा खोर निर्माण, फलफुलका विरुवा वितरण लगायतका कार्यक्रम पर्दछन् । तर, यी अधिकांश कार्यक्रमहरुबाट मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनिकरण हुने आधार कतैबाट पनि देखिदैन । यी कार्यक्रममा घरधुरी र जनसंख्या हेर्ने हो भने बजेट पनि एकदमै न्यून हुनेगरेको छ ।
निकुञ्जको तल्लो तटिय क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि काँढेतार, मचान र तर्साउने उपकरण, तोष, जैबिक बार, विद्युतिय तारबार, जडिबुटी खेति, ग्याबिन जाली, मेस जालीसहितको तारबार, सुरक्षित खोर गोठ व्यवस्थापन लगायतका कार्यक्रमहरु अगाडि सारिएको छ । तर, उत्तरी क्षेत्रका बस्ती सुरक्षाका लागि यस्ता कुनै पनि व्यवस्थापनका कामहरु हालसम्म पनि अगाडि बढ्न सकेका छैनन् । यति मात्रै होइन बर्दिया राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धमा गरिएका प्रयासहरूको यथेष्ठ वैज्ञानिक अध्ययन तथा अनुसन्धानसमेत गरेको देखिदैन । समयमै संरक्षणका प्रभावकारी योजना लागु गर्न नसकिएको खण्डमा वन्यजन्तुु कै कारण ठुलो जनसंख्या यो क्षेत्रबाट विस्थापित हुने जोखिम बढ्दै गएको छ ।
यस्तो छ तीन वर्षमा वन्यजन्तुले पु¥याएको क्षति
सुर्खेतका दुई पालिका बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिका पाँच वटा वडामा करोडौं मूल्य बराबरका पशुचौपाय र बालीनालीमा क्षति पु¥याएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्रको छिन्चु उपभोक्ता समिति अन्तर्गत पर्ने स्थानहरुमा वन्यजन्तुले ५९ वटा घटना घटाएका छन् । जसमा ८१ वटा पशु र अन्नबालीमा क्षति पुगेको छ । यस अवधिमा चितुवाले १८ पशुधनमा क्षति पु¥याउदा बाघले पाँच वटा पुशधनमा क्षति पु¥याएको छ ।
त्यस्तै बदेलले ३६ पटक अन्नबालीमा क्षति पुगेको छ । आर्थिक वर्ष २०७९/०८० मा वन्यजन्तुबाट ७५ वटा पशुधन र अन्नबालीमा क्षति पुगेको छ । जसमा चितुवाबाट ४४ र बाघबाट चार वटा पशुधनमा क्षति पुगेको छ, भने बदेलले २७ पटक अन्नबालीमा क्षति पु¥याएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा यस क्षेत्रमा चितुवा र बाघले क्षति पु¥याएका छैनन् भने बदेलले ६ वटा अन्नबालीमा क्षति पु¥याएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, लेखपराजुल उपभोक्ता समिति अन्तर्गतको क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ मा एक सय ४१ पटक वन्यजन्तुले क्षति पु¥याउदा एक सय ६८ वटा पशुधन तथा अन्नबालीमा क्षति भएको छ । जसमा चितुवाबाट ६१ र बाघबाट एक पशुधनमा क्षति पुगेको छ । यहि अवधिमा एक सय ६ पटक बदेलले अन्नबालीमा क्षति पु¥याएको छ । आर्थिक वर्ष २०७९/०८० मा यहि क्षेत्रमा वन्यजन्तुले एक सय ९७ वटा घटना घटाएका छन् । जसमा चितुबाट ४० वटा पशु र बदेलबाट एक सय ५७ पटक अन्नबालीमा क्षति पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा यहि क्षेत्रमा वन्यजन्तुले ६२ वटा घटना घटाएका छन् । चितुवाले दुई र बाघले एक पशुधनमा क्षति पु¥याउदा बदेलले ५९ पटक अन्नबालीमा क्षति पु¥याएको छ ।
त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज सिमाना जोडिएको बराहताल गाउँपालिका–१, स्थित हरिहरपुर उपभोक्ता समितिको क्षेत्रभित्र आर्थिक वर्ष २०८०/०८१ मा वन्यजन्तुले एक सय १५ पटक मानव बस्तीमा क्षती पु¥याउँदा एक सय ९२ पशुधन तथा अन्नबालीमा क्षति पुगेको छ । जसमा चितुवाबाट एक सय २१ र बाघबाट १४ वटा पशुधनमा क्षति पुगेको छ । यस वर्ष बदेलले ५७ पटक अन्नबालीमा क्षति पु¥याएको छ । आर्थिक वर्ष २०७९/०८० मा हरिहरपुर क्षेत्रमा दुई सय २९ वटा वन्यजन्तु जन्य आक्रमण भएका छन् ।
यस वर्ष बदेल र बाघको आक्रमणबाट दुई जना सख्त घाइते भएका छन् । यस्तै चितुवाबाट ९८ र बाघबाट १७ पशुधनमा क्षति पुगेको छ । बदेलबाट एक सय १२ पटक अन्नबालीमा क्षति भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा यसै क्षेत्रमा वन्यजन्तुबाट ६१ पटक मानव बस्तीमा क्षति पुगेको छ । जसमा चितुवाबाट २४ र बाघबाट १७ पशुधन र बदेलबाट २० अन्नबालीमा क्षति पुगेको छ ।
त्यस्तै, बराहतालाल गाउँपालिका अन्तर्गत पर्ने सिद्धचुली उपभोक्ता समितिको क्षेत्राधिकार भित्र आर्थिक वर्ष २०८०/०८१ मा एक सय ३० पटक वन्यजन्तुजन्य घटना घट्दा एक सयय ९१ पशुधन र अन्नबालीमा क्षति पुगेको छ । यस वर्ष चितुवाले एक सय ३२ र बाघबाट २८ वटा पशुधनमा क्षति पुगेको छ । बदेलबाट १७ पटक अन्नबालीमा क्षति भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७९/०८० मा यसै क्षेत्रमा वन्यजन्तुबाट दुई सय १३ पटक पशु तथा अन्नबालीमा क्षति पुगेको छ । जसमा चितुवाबाट एक सय ४९ र बाघबाट ४६ वटा पशुधनमा क्षति पुग्दा बदेलबाट १८ पटक अन्नबालीमा क्षति पुगेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा यस क्षेत्रमा एक सय ९४ पटक मानव बस्तीमा वन्यजन्तुले क्षति पु¥याएका छन् ।
यस वर्ष चितुवाले एक सय ५४ वटा पशुचौपायमा क्षति पु¥याएको छ, भने बाघले १८ वटा पशुधनमा क्षति पु¥याएको छ । बदेलबाट २२ पटक अन्न बालीमा क्षति पुगेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकलाई केलाउने हो भने यी क्षेत्रहरुमा जंगली जनावर बदेलसँगै हिंस्रक चितुवा र बाघको आतङ्क बर्षेनी बढ्दै गएको देखिन्छ ।






