त्रिपालले चिसो नछेकेपछि चर्किएको घरमा सर्दै भूकम्पपीडित


भूकम्पले घरमा क्षति पुगेपछि जाजरकोटको छेडागाड नगरपालिका १३ का पदमबहादुर बस्नेतको परिवार त्रिपालमा सरेको दुई महिना बितिसकेको छ । तर, अहिलेसम्म पनि उनको परिवार त्रिपालबाट अस्थायी आवासमा सर्न सकेको छैन ।
सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम देला र टहरा बनाउला भनेर कुर्न थालेकै दुई महिना भइसक्यो । अहिलेसम्म अस्थायी आवासका लागि पहिलो किस्ताकै रकम उनको परिवारले पाउन सकेको छैन । हिउँद जान लागि सक्दा पनि रकम नपाउँदा उनले अस्थायी आवास बनाउन सकेका छैनन् । चिसोले निकै सताइरहेको उनको भनाइ छ । चिसोका कारण उनको परिवार बिरामी परेको छ ।

त्यस्तै जुनीचाँदे गाँउपालिका–५ कि एक महिने सुत्केरी हीरादेवी शाहीको परिवारले पनि अहिलेसम्म पहिलो किस्ताकै रकम पाउन सकेको छैन । रकम नपाउँदा उनीहरूले अस्थायी आवास बनाउन सकेका छैनन् । घरबाहिर पालको चिसोमा बस्न नसकेपछि उनको परिवार जोखिम मोलेरै चर्किएको घरमा बस्न थालेको छ ।
भूकम्प गएको केही समय त्रिपालमा बस्यौं। बाबु र म चिसोले बिरामी भएपछि मरे मरौला भनेर अहिले जोखिम मोलेरै भए पनि घरभित्रै बस्न थालेका छौ उनले भनिन्, ‘चिसोले मर्नुभन्दा फेर िभूकम्प आए बरु घरले थिचेरै मरौला भनेर भित्रै बस्न थालेका हौं ।’

यी दुई भूकम्पपीडित प्रतिनिधि उदाहरण हुन्। उनीहरू जस्तै करिब १५ हजार परिवारले अहिलेसम्म अस्थायी आवासको पहिलो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता पाएकाले पनि टहरा बनाउन सकेका छैनन् । अहिलेसम्म करिब १० हजारले मात्र अस्थायी आवास बनाएको सरकारी तथ्यांक छ । बनिसकेका ती टहरामा पनि अझै पीडित बस्न सकेका छैनन् । धेरैले त्रिपालको चिसोमै रात काट्न बाध्य छन् ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुमपश्चिममा ५ गरी मृतकको संख्या ३७ पुगेको छ। हिउँदको कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्पपीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन । चिसोका कारण मृत्यु हुनेहरूमा तीन बालबालिका, एक सुत्केरीसहित अधिकांश दमका रोगीहरू छन् । सरकारले एक महिना भित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको भए पनि दुई महिना बित्दा पनि ९ हजार ६ सय ३८ परिवारले मात्र अस्थायी आवास बनाएका छन् ।

जाजरकोटमा ३५ हजार एक सय ४० लाभग्राही कायम भएका छन् । त्यसमध्य अझै २५ हजार अस्थायी आवास बन्न बाँकी रहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।
हिउँद जान लाग्दा पनि सरकारी ढिलासुस्तीले भूकम्पपीडितहरू त्रिपालको चिसोमै रात काट्न बाध्य छन् । भूकम्पले बाँचे पनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पीडितहरूलाई सताइरहेको छ । धेरै भूकम्पपीडित बिरामी परिरहेका छन् । कतिपय दीर्घरोगी, सुत्केरी र बालबालिकाको ज्यानैसमेत गएको छ तर सरकार हिउँद जान लाग्दा पनि पहिलो किस्ताकै रकम दिन सकिरहेको छैन ।

चिसो अत्याधिक बढेपछि कतिपय भूकम्पपीडित जोखिम मोलेर चर्किएका र मक्किएका घरमै बस्न थालेका छन् । चिसोले मर्नुभन्दा बरु घर भत्किए भत्किएला भनेर मानिसहरू जोखिमयुक्त घरमै बस्न थालेको जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकी पद्मी शाहीले बताइन् । त्रिपालमा निकै चिसो हुन थालेपछि धेरै जसो भूकम्पपीडितहरू जोखिमपूर्ण घरमा बस्न थालेका हुन् । ‘अस्थायी आवास बनाउन सरकारी प्रयास निकै ढिलासुस्ती हुँदा पीडितलाई थप पीडा भएको छ’, उनले भनिन् ।

बैंक खाता खोल्नुपर्ने, देशका अन्य ठाउँमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनुपर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भूकम्पपीडितले अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अनुदान रकम पाउन सकेका छैनन्। स्थानीय सरकारको ढिलासुस्ती र उदासीनताले गर्दा भूकम्पपीडितको व्यवस्थापनमा ढिलाइ भएको उनको आरोप छ । पहिलो किस्ताको रकम सबै पालिकाको खातामा गएर थन्किएको छ तर पीडित परिवारलाई निकासा गर्न विलम्ब भइरहेको छ ।

त्रिपालले चिसो नछेकेपछि चर्किएको घरमा सर्दै भूकम्पपीडित

दुई वटा पक्की पुल निर्माणको काम अन्तिम

त्रिपालले चिसो नछेकेपछि चर्किएको घरमा सर्दै भूकम्पपीडित

एपिएफलाई हराउँदै बन्यो नेपाल पुलिस क्लब च्याम्पियन