सुर्खेत विमानस्थल विस्तार गर्न सबैको एकमत


वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय तथा सर्वदलीय बैठक मंगलवार बस्यो । बैठकमा उठाइने छलफलका बारेमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले एजेण्डा प्रस्तुत गरिन् । दुई विषयमा छलफल भएको थियो ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकको छलफलको विषय वस्तु सुर्खेत विमानस्थल सम्वन्धमा र नगरपालिकाको तर्फबाट छलफलका लागि प्रस्तावित धारणासहित महत्वपूर्ण निर्णय गरिएको छ । सुर्खेत विमानस्थल विस्तार गर्न आवश्यक रहेकाले आवश्यक प्रक्रिया सुरु गर्न सबै राजनीतिक दल, अगुवा, नगरपालिका तथा स्थानीयको एकमत रहेको सन्देश दिइएको छ ।

सुर्खेत विमानस्थल विस्तारका लागि सर्वदलिय तथा सर्वपक्षीय बैठकले ६ बुँदे निर्णय समेत गरेको छ । सुर्खेत विमानस्थलमा सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अति आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसंग माग गर्ने निर्णय गरिएको छ ।

निर्णयको दोस्रो बुँदामा विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने उल्लेख छ ।

विमानस्थलसंग सिमाना जोडिएको अमरज्योती नमूना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने तेस्रो निर्णय गरिएको छ । त्यसैगरी, कर्णाली प्रदेश अन्र्तगत नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र प्रदेश सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।

बैठकको पाँचौं निर्णयमा विमानस्थलमा यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएको हुँदा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालय लगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने उल्लेख छ ।

साथै, सर्वदलिय तथा सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडी बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, प्रदेश सभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पूर्व प्रमुख, उपप्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

पहिले यो विमानस्थल बनाउनुपर्छ प्रतिनिधी सभा सदस्य थानी
प्रतिनिधि सभा सदस्य हृदयराम थानीले कर्णाली प्रदेशलाई आकर्षक, सम्पन्न बनाउने हो भने त्यसका लागि सुरुमा सुर्खेत विमानस्थललाई विस्तार गर्नुपर्ने बताएका छन् । उनले जनताको सेवाप्रति जवाफदेही भएको बताए । सबै कुरा बिर्सिएर काम नगरी बस्न नसकिने उनको भनाई थियो ।

पाएका कागजहरु सार्वजनिक गरिएको बाहेक अरु भ्रमित गर्ने काम नगरेको बताए । नगरपालिकाले रोकेको भन्ने कुरालाई टार्गेट गरिएको बताए । कसैले हात हल्लाएर क्लोज र ओपनको कुरा गर्न नपाइने उनको भनाई थियो । विमानस्थलको धावनमार्ग तीन सय मिटर विस्तारका लागि एक सय २० कठ्ठा जग्गा अधिग्रहण गर्न आवश्यक रहेको बताए । अरु विमानस्थल बनाउने कुरामा पनि सहमत हुन तयार रहेको तर, त्यस पूर्व यो विमानस्थल बनाउनुपर्ने प्रतिक्रिया दिए ।

फाइल क्लोज गर्नुहुदैन थियो प्रदेश सांसद कँडेल
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले सुर्खेत विमानस्थल विस्तारका विषयमा मन्द विविधता भएपनि सबैमा एकरूपता देखिएको बताएका छन् । उनले भने, ‘जनतालाई अन्यायमा राखेर विकास गर्न सकिन्न । तर, कहीं न कहीं प्रभावित हुन्छ नै ।’

पीडितहरु संगठित भएर आउन सक्छन् । विमानस्थल विस्तारका लागि एक स्वरले माग राख्नु पर्ने बताए । यो छलफलले विमानस्थल बनाउने भन्दा पनि अहिले सरोकारवाला निकायलाई माग राख्ने प्रक्रियाको सुरुवात गरिएको बताए । जनमत एक ठाउँमा बनाउन मात्रै खोजिएको जनाए ।

नयाँ विमानस्थल बनाउने नाममा भएको इआइए प्रतिवेदनमा लेखिएको कुराले आशंका उब्जाएको बताए । त्यसका लागि पनि यी बैठकहरु आवश्यक भएको जनाए । जनतालाई अन्याय हुन नदिईने बताए । त्यहाँका जनताको समस्या बारे जनप्रतिनिधिहरु विमुख नभएको प्रतिक्रिया दिए ।

भइरहेकै संरचनाबाट जनतालाई थप व्यवस्थित गरी सेवा दिनुपर्ने बताए । उनले भने, ‘यो सुर्खेत विमानस्थल सुर्खेती जनताले रोजेको विषय हो । अरु कसैले सोचेर आएको योजना होइन ।’

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् तत्कालिन मुख्यमन्त्री जीवन बहादुर शाहीले ‘फाइल क्लोज’ गरेको आरोपमा लगाए । त्यस कारण अहिले संघीय सरकारमा विमानस्थल विस्तारको औचित्य पुष्टि गर्न कठिन हुने बताए । त्यसका लागि जनमत एक ठाउँमा हुन आवश्यक रहेको धारणा व्यक्त गरे । सामाजिक विकास मन्त्रालयले दुरुपयोग गर्दै सरुवा रोग अस्पताल भेरीगंगा बनाइएको आरोप लगाए ।

विस्तार नहुने निर्णय गर्नु गल्ती पूर्व मेयर सुवेदी
वीरेन्द्रनगर नगरपालिकाका पूर्व प्रमुख देवकुमार सुवेदीले विमानस्थल विस्तारका बारेमा पानी माथीको ओभानो बन्न खोजेर केही प्रतिक्रियाहरू आएको बताए । अब ती प्रतिक्रियाको कटाक्ष हुने समय भएको बताउँदै त्यसको सुभारम्भ यो बैठक भएको बुझाई व्यक्त गरे ।

उनले भने, ‘रोटी डढ्यो भने कालो हुन्छ, त्यो रोटी खानु छ । त्यसैले विमानस्थल विस्तार गरी प्रयोग हामीले गर्नुछ । विमानस्थल विस्तारको विषयमा सुर्खेतवासीको एकरूपता उतिबेलादेखि अहिलेसम्म पनि रहेको छ ।’
उनले आफू विमानस्थल विस्तार कार्यमा श्रमदान गर्न समेत तयार रहेको बताए । आफ्नो अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तार गर्न नहुने निर्णय भएको बताउँदै उतिबेला गल्ती भएको स्वीकार गरे । त्यस बेला स्थानीयको पक्षमा निर्णय गरिएको जनाए ।

विमानस्थल विस्तार की आफूहरुको जग्गा फुकुवाको बाटो खुलाउन गरिएको अनुरोध अनुसार नगरका तर्फबाट विमानस्थल विस्तार हुन नसक्ने देखिएपछि अरु बाधाहरू फुकुवा गरिएको बताए । सुवेदीले सुर्खेतका विकासका क्रममा भएका गल्तीहरुको जिम्मेवार हुँदै अरु नेताहरुले बर्षौंदेखि गरेका गल्तीहरूको जिम्मेवारी लिन चेतावनी दिए ।

विमानस्थल सार्नुहुँदैन ः उवासंघ अध्यक्ष कंडेल
विमास्थलको लागि नीजि क्षेत्रबाट जस्तो कदम पनि चाल्न तयार हुने उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले बताए । उनले भने, ‘चाहेको यहि हो, गर्न हँुदैन् । आज नि हँुदैन्, भोली नि हँुदैन् । विमानस्थल सार्नु हुँदैन । यहि बिमानस्थललाई विस्तार गर्नुपर्छ ।’

विमानस्थल विस्तारका लागि वीरेन्द्रनगरका वडा नम्बर ११ र १२ का जनता पनि साथ दिन तयार भएको उनले बताए । तीन सय÷पाँच सय मिटर कति हुन्छ जति भएपनि प्राविधिक तरिकाले बन्ने र भोलीको दिनदेखि एकबद्ध भएर अगाडी बढ्नका लागि उनले सुझाव दिए । सुरक्षित र भरपर्दो नभएकाले पनि भौतिक गतिविधिमा पछाडी परेको उनको भनाई छ ।

विद्यालय बाधक छैन ः प्रधानाध्यापक थापा
विमानस्थल विस्तारका लागि विद्यालयलाई बाधक नबनाउन अमरज्योति माविका प्राध्यानाध्यापक खगेन्द्र थापाले बताएका छन् । विद्यालयका लागि उपयुक्त ठाउँमा भवन बनाउनका लागि उनले अनुरोध गरे । विगत ९ बर्षदेखिको समस्या जस्ताको त्यस्तै र हालसम्म पनि समस्या नहटेको उनले बताए ।

प्राध्यानाध्यापक थापाले भने, ‘बिमानस्थलको कुराले गर्दा हामीले विद्यालयको भवन निर्माण, भवनमा रङ्रोगन र संरचना बढाउन समेत ढिलाई भएको छ । यो विद्यालय ७० बर्षदेखि संचालनमा आएको छ । यसको उचित व्यवस्थापन त गर्न नै पर्यो । मेहनत गरी बनाएको हो जोगाएर त राख्नपर्यो ।’

यदि विमानस्थल विस्तार नभए विद्यालयलाई आफुहरुले विस्तार गर्ने बताए । विमानस्थल विस्तार गर्ने भए विद्यालयको स्तान्तरणको लागि प्रदेश नभई संघीय सरकारको योजनामा पहल गरिदिन आग्रह समेत गरे ।

सुर्खेत विमानस्थल विस्तार गर्न सबैको एकमत

भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले

सुर्खेत विमानस्थल विस्तार गर्न सबैको एकमत

बलात्कार आरोपमा ६ जना पक्राउ