दशैंअघि दुग्ध किसानको सबै बक्यौता भुक्तानीमा सरकार असफल


दुग्ध किसानको सम्पूर्ण बक्यौता रकम दशैंअघि भुक्तानी गर्न सरकार असफल भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ९ मा सार्वजनिक गरेको सय दिने कार्ययोजनामा दुग्ध किसानको सबै बक्यौता भुक्तानी गर्ने उल्लेख छ । उनले पटक–पटक सार्वजनिक रुपमा उखु र दुग्ध किसानको रकम दशैंअघि भुक्तानी गर्ने बताउँदै पनि आएका थिए । तर, किसानले अहिलेसम्म बक्यौताको आधा रकम पनि पाउन सकेका छैनन् ।

केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अम्बर कुँवरका अनुसार दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसमध्ये अहिलेसम्म ९० करोड रुपैयाँमात्र किसानले भुक्तानी पाएका छन् । डीडीसीले किसानलाई दूधको बक्यौता दिन अब एक अर्बभन्दा बढी बाँकी रहेको उनको दाबी छ ।

यसबीचमा मन्त्री अधिकारीको पहलमा दूधको बक्यौता भुक्तानी गर्न डीडीसीलाई ६० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराइएको थियो । तर, उनले सार्वजनिक कार्यक्रममा बोलेअनुसार दशैंअघि किसानको सबै बक्यौता भुक्तानी दिलाउन भने सकेनन् ।

अध्यक्ष कुँवरका अनुसार निजी क्षेत्र र सरकारी गरी किसानको दूधको बक्यौता ४ अर्ब ८० करोड रुपैयाँ थियो । पूर्व कृषिमन्त्री बेदुराम भुसालका पालामा ३० करोड रुपैयाँ भुक्तानी दिइएको थियो । अहिलेका मन्त्री अधिकारीले ऋण खोजेर ६० करोड रुपैयाँ दिएका छन् । सरकारले दिएको ९० करोड रुपैयाँमध्ये केही किसानले पाए भने केहीले अझै वैशाखदेखिकै पाउन बाँकी छ ।

अध्यक्ष कुँवरका अनुसार पछिल्लो समय निजी डेरी र डीडीसी दुवैले दूधको भुक्तानी गरिरहेका छन् । तर, सबै किसानले अझै पाउन सकेका छैनन् । दशैंपछि कति किसानले बक्यौता पाए, कतिले पाएनन् भन्ने यकिन तथ्यांक संकलन गरी फेरि मन्त्रालयसँग छलफल गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।

मन्त्री अधिकारीले किसानको दूधको बक्यौता १ अर्ब ६० करोड रुपैयाँमध्ये १ अर्ब ३० करोड भुक्तानी भइसकेको बताएका छन् । पछिल्लो समय डीडीसीले दैनिक किसानको खातामा पैसा पठाइरहेको भन्दै उनले अब ३० करोडमात्र बाँकी रहेको बताए ।

सरकारले उखु किसानको भने अनुदान रकम भुक्तानी दिएको छ । भदौमा विभिन्न जिल्लाका करिब ६५ हजार उखु कृषकलाई उखु बिक्री गरेबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । सरकारले यो वर्ष उखु किसानलाई १ अर्ब ४५ करोड रुपैयाँ अनुदान दिएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार उखु किसानलाई दिनुपर्ने बाँकी अनुदान रकम सम्बन्धित निकायमा पठाइएको छ । उनले अब उखु किसानको बक्यौता नभएको जानकारी दिए । दूध किसानको बक्यौता भुक्तानी गर्न डीडीसीलाई उपलब्ध गराएको ऋण किसानको खातामा गइरहेको उनले बताए ।

डीडीसीका एक अधिकारीका अनुसार अहिले असार–साउनसम्मको सबै भुक्तानी भइसकेको छ । कुनै जिल्ला र स्थानहरुमा भदौसम्मको पनि भुक्तानी दिइएको छ । डीडीसीले अबको २०–२५ दिनमा सबै रकम तिर्ने योजना बनाएको छ ।

पटक–पटकको आन्दोलनपछि पछिल्लो समय सरकारले दूध किसानको बक्यौता भुक्तानी दिन थालेको अध्यक्ष कुवँरको भनाइ छ । लामो समयदेखि डीडीसी र निजी दूध डेरीले किसानको दूधको बक्यौता भुक्तानी नगरेपछि किसानले पटक–पटक आन्दोलन गरेका थिए ।

कृषि मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि भुक्तानी पाउनुपर्ने माग राखेर किसानले लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा तालाबन्दी र घेराउसमेत गरेका थिए ।
डीडीसीलगायत निजी क्षेत्रका डेरी उद्योगहरु सबैले उपभोक्तालाई नगदमा दूध र दुग्धजन्य पदार्थ बच्दै आएका छन् । तर, किसानको दूधको भुक्तानी भने सधैं समस्यामा पर्ने गरेको छ । किसानले भुक्तानी नपाएको यो वर्ष मात्र होइन, सधैंजसो डीडीसी, निजी डेरी र किसानका बीचमा विवाद आइरहन्छ ।

अर्कोतिर बेला–बेलामा डीडीसी र निजी डेरीले किसानको दूध संकलन नगर्दा पनि विवाद आउने गरेको छ । दूध बेच्न नसकेपछि किसानले सडकमा फ्याँकेर विरोध प्रदर्शन गरेका घटना पनि बेला–बेलामा आइरहन्छन् । अहिले पनि डीडीसीले कतिपय जिल्लामा दूध संकलन घटाइरहेको छ ।

दशैंअघि दुग्ध किसानको सबै बक्यौता भुक्तानीमा सरकार असफल

जुम्लाबाट ३८ करोडको स्याउ बाहिरियो

दशैंअघि दुग्ध किसानको सबै बक्यौता भुक्तानीमा सरकार असफल

सिंजा साम्राज्यको मध्ययुगबाट सुरु भएको थियो कर्णालीमा

This will close in 0 seconds