एसईई परीक्षा सकियो, ३७ हजार विद्यार्थी अनुपस्थित


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मंगलवार सकिएको छ । चैत १५ बाट सुरु भएको एसईई सकिएको हो । यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए । उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए । पौडेलका अनुसार परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन् ।
एसईईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहो¥याउन चाहन्छन् । जसले गर्दा एसईईमा सहभागी हुने तथ्याङ्क घट्छ । त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहो¥याउन पनि लगाउने गरेको पौडेलको भनाइ छ ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसईईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ ।
त्यस्तै महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसईई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताए । अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ ।






