कर्णालीमा लोपोन्मुख राउटे समुदायको इतिहाँस


करिब ७ सय बर्षभन्दा अगाडी कर्णाली प्रदेशको दुर्गम जिल्ला कालीकोटको फुकोट भन्ने ठाउँबाट आफ्नै समुदायको राजकाजबाट अलग भएर राउटेहरु जंगल पसेको अनुमान गरिएको छ । राउटे जाति खस आर्य समुदाय अन्तर्गतका नेपालको पिछडिएका लोपोन्मुख आदिवासीहरु हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेशका सल्यान, जाजरकोट, दैलेख, अछाम र सुर्खेत जिल्लाका आसपासका जंगलहरुमा फिरन्ते जीवन बिताउने राउटे जातीले खस भाषा बोल्ने गर्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । राउटेहरु आफुलाई खस ठकुरी मान्दछन् । यिनिहरू प्रायजसो बाँदर तथा अन्य जंगली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर जीवन निर्वाह गर्दछन् ।
प्राचिनकालमा आफ्नो राज्यको सुरक्षाको लागि बारम्बार युद्ध लड्नु पर्ने र आफुभन्दा शक्तिशाली राज्यहरुसँग आत्मसमर्पण गर्नुपर्ने अवस्था आउने भएपछि राउटे राजाले कोही कसैसँग नझुक्ने र नलड्ने निर्णय लिन पुगे । यसकारण केहि मात्रामा आफ्नो फौजका साथ उनीहरु जंगल पलायन र विस्थापन हुनुपरेको र समाजबाट लखेटिएकोले कसैले नभेट्ने गरी जंगल पसेकोे हुन सक्ने अनुमान गरिएको छ । त्यस समयमा राउटेहरु राज परिवारका भएकाले उनीहरुका लागि झुक्नु र आत्मसमर्पण गर्नु स्वीकार्य थिएन यस कारण उनीहरुले भागेर जंगलमा गएर बस्ने निर्णय गरे । जब उनीहरु जंगलमा बस्न थाले तब तत्कालिन राज्यका शासकहरुबाट जहाँ भेट्यो त्यहिँ मार्न सक्ने खतरा थियो । सोही कारण राउटेहरु स्थायी समाजको सम्पर्कमा कम आउन थाले र शत्रुहरुलाई आफ्नो शक्तिको आँकलन नहोस् भन्ने हेतुले राउटेहरुले जनसङ्ख्या कति छ भनेर गन्नु हँुदैन र भन्नु पनि हुँदैन भन्ने मान्यताको विकास गरे । साथै अत्यावश्यक परिस्थितिमा स्थायी समाजसँग सम्पर्क गर्नु परेमा व्यक्ति गएर होइन मुखियामार्पmत मात्रै जाने प्रचलन चलाए ।
जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ सर्दै बस्दै गर्छन । उनीहरु आफुलाई वनको राजा भनेर पनि दावी गर्दै आएका छन् । जंगलमा पुगी काठका खाट, मदुस, कोसी बनाई त्यसलाई गाउँमा गएर अन्नपातसँग साटेर जिविका धान्ने गर्छन् । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, वस्तु साट्फेरका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समयको अन्दाज गरेर मात्रै बसोबासको प्रबन्ध गरिएको हुन्छ । वनको हरियो स्याउला र काठहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएरबीचमा केटाकेटी खेल्ने र महिलाहरुले धान कुट्ने, निफल्ने इत्यादि कार्यको लागिसम्म परेको ठाउँ तयार गरिएको हुन्छ ।
जग्गाको तिरो तिरेर, खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई राउटेहरु पाप सम्झन्छन् । बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् । सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् । विशेष गरेर राउटे जातिले लठ्ठी–लौरो बाजा, मदिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गर्ने गरेको देखिन्छ । सर्ट, पेन्ट लगाएको मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको विश्वास छ । शिकार नपर्नुलाई ईश्वर रिसाएको ठान्छन् ।
राउटेहरु एकै ठाउँमा घर बनाएर बस्दैनन् । यसको मुलतः दुई कारण छन् । बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको प्रचलन रहेको पाइन्छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबैजना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँमा बस्दैनन् । मान्छे मर्ने बित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन् । नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो अब केही हुँदैन भनेर विस्तारै मृत्युको पिडा बिर्सदै जान्छन् । राउटे बसोबास सरेपछि हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् । रात प¥यो भने भगवानले यहीँ ठाउँमा बस भनेको छ जस्तो लाग्छ उनीहरुलाई । त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाई अर्को सदस्य नमर्दासम्म अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छन् । बसाई सर्दा प्रायःजसो एक पटक मानिस मरेको ठाउँमा फेरि जाँदैनन् ।
लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस भयो भने पनि उनीहरू बसोबास सर्छन् । कतिपय ठाउँमा गाउँका मान्छे आएर वन मासिदिए भने मानिस नमर्दै पनि बास सर्नुपर्ने हुन्छ । पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, खाडी, गादो र महिलाहरूले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना पनि लगाउँछन । मष्टो र भुयार कुलदेवताको पूजा गर्दछन् । हिन्दु धर्म मान्दछन् । आफूलाई खानेकुराको जस्तै कठिनाई भए पनि ‘भूयार’ र ‘दारे मष्टा’ को पूजा अनिवार्य रूपमा गर्छन् । सूर्यलाई मुख्य देवता मानेपनि पूजा गर्दैनन । मुख्यगरी चाडपर्व माघी र दशैँ मान्दछन् । विवाह गर्दा आफ्ना समूहका सबैलाई सुँगुरको पाठो र पाएसम्म खसीसमेत ख्वाउँछन । खसी, बोका जिउँदो पोलेर खान्छन् । बालक जन्मदा १२ दिनमा न्वारन गर्छन । मानिस मरेमा खाल्डो खनेर मरेकै दिनमा गाड्छन् । गाड्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्छन् । श्राद्ध, बरखी केही बार्दैनन । मानिस मरेमा तुरून्त ठाउँ सर्छन । मरेको मान्छेको लाशलाई नजलाएर गाड्ने गर्दछन् । यसको पनि आफ्नै कारण रहेको छ । यस जुनिमा जीवनभर राम्रो घरमा बस्न नपाएपनि अर्को जुनिमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको हो भन्ने उनीहरूको भनाई रहेको पाइन्छ ।
राउटेहरूको छुटै भाषाको लिपीसमेत भएको अनुमान गरिएको छ । यिनीहरू काठको पेटीमा आफ्नै लिपीमा आफ्ना पूर्वजले लेखेको वंशावली र पुस्तकहरू पढ्ने गर्दछन । राउटेहरूलाई आधुनिक युग तिर पनि समायोजन हँुदै आएका छन् । पैसा छुनु हुँदैन, पैसा छुँदा पाप लाग्छ भन्ने धार्मिक विश्वास राख्ने यो समुदाय आजभोली सरकारबाट मासिक भत्ता बुझ्न र बजारमा रुपैयाँ पैसाले किनमेल समेत गर्न थालेका छन् । उनीहरू आम नागरिकहरूका भेला र औपचारिक कार्यक्रममा पनि सहभागी हुने गर्दछन् । तर हालसम्म पनि विद्यालय शिक्षा, उद्योग, व्यापार व्यवसाय, राजनीतिक प्रक्रियामा उनीहरु संलग्न छैनन् । राउटे समुदायमा मुख्य मान्छेलाई मुखिया भनिन्छ । उनीहरु मुखियाको निर्णय र निर्देशनमा चल्ने गरेका छन् । पहिले एक जना मात्र मुखिया हुने गरेकोमा हाल राउटेहरुको प्रचलित थरहरू ‘कल्याल’, ‘रास्कोटी’, ‘सोवंशी’ का फरक फरक ३ जना मुखिया र एक मुख्य मुखिया रहने गरेको पाइन्छ ।
यिनीहरूका हाल प्रचलित थरहरू चाहिँ ‘कल्याल’, ‘रास्कोटी’, ‘सत्याल’ आदि हुन् । ‘राउत’ र ‘साउद’ जस्ता थर पनि यसै जनजाति अन्तर्गतका हुनसक्छन् भनेर अनुमान गरिन्छ । जिल्ला प्रशासन कार्यालय सल्यानको तथ्यांक अनुसार राउटेहरू राजकोटी शाही, हमाल शाही, कल्याल शाही तीनओटा जात र वंशमा विभाजित छन् । हाल राउटेको जनसंख्या निकै कम हुन थालेको छ । वि. सं. २०६८ को नेपालको जनगणना अनुसार राउटे जातिको कुल जनसङ्ख्या ६१८ जना रहेको थियो । ६१८ जनसंख्या रहेकोे राउटे जातीको जनसङ्ख्या वि सं. २०७८ सम्म आइपुग्दा ४२ घरधुरी र १ सय ६४ जनामात्र रहेका छन् । पहिले जनसंख्या गणना गर्न नदिने राउटेहरु अहिले भने सरकारले भरणपोषण भत्ता दिन थालेपछि भत्ता दिन थालेपछि यो जनसंख्या पत्ता लागेको हो ।
राउटेका तीन जातीमा कल्याल वंशका राउटेको जनसंख्या धेरै रहेको छ भने त्यसको तुलनामा रास्कोटी र सोवंशी थोरै छन् । राउटेहरुको जनसंख्या निकै लापोन्मुख अवस्थामा रहेको देखिन्छ । जलबायु परिवर्तन, समाजमा भएको तिब्र परिवर्तनले राउटे समुदायले समयानुकुुल परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा जनसंख्यामा भारी गिरावट आएको छ । संम्भवत यस्तै अवस्थामा राउटे रहने हो भने केही बर्षमा इतिहाँस मात्र रहने निश्चित छ ।
– खाट ः राउटे समुदायको परम्परागत सीप र प्रविधि छिनो, बसुलो र बन्चरोको प्रयोग गरेर काठबाट बनाइएको सामाग्रीलाई खाट भनिन्छ । विशेषगरी खाटमाथी सुत्न र भित्र सामानहरु समेत राख्न प्रयोग गर्न सकिन्छ । प्राचीन समयमा राउटे समुदायका मानिसहरुले खाद्यान्नसग खाट, मुदस र कोशी साट्फेर गरेर आफ्नो अनि परिवारको जिविका चलाउने गर्दथे । राउटेहरुले यस्ता सामाग्रीहरु निर्माण गरेर गाउँमा बिक्रीको लागि डुलाउन ल्याउने र प्रशस्त खाद्यान्न उत्पादन गर्ने गाउँका धनी र ठुलो परिवारका मानिसहरुले घरमा कम्तिमा एक एक वटा खाट, मुदस र कोसी प्रायः राख्ने गरिन्थ्यो । खाटभित्र भाँडाकुडा, लत्ता कपडा राख्न र खाटको ढकनमाथी सुत्नको लागि प्रयोग गर्ने गरिन्छ ।
– मुदस ः खाटभन्दा केहि सानो आकारको काठको बाकसलाई मुदस भनिन्छ । मुदस पनि राउटे समुदायको परम्परागत सीप र प्रविधिबाट निर्माण गरिने काठको सामग्री हो । प्राचिन समयमा लत्ताकपडा, गरगहना र बहुमुल्य वस्तुहरु राख्न मुदसको प्रयोग गर्ने गरिन्थ्यो ।
– कोसी ः रोटी पकाउदा पिठो मुछ्न, मोही बनाउदा दही, मोही वा नौनी राख्न र अन्य खाद्यवस्तु र दाल, तरकारीहरु राख्न प्रयोग गरिने काठको भाँडोलाई कोसी भनिन्छ । कोसी पनि राउटे समुदायको परम्परागत सीप र प्रविधिबाट तयार गरिन्छ । कोसीको आकार अनुसार यसको प्रयोग पनि फरक फरक काममा हुने गर्दछ ।






