प्रशासन र पत्रकार बिचको समन्वय प्रभावकारी हुनुपर्ने


सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
भर्खर मात्र नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा आएका रेग्मीले सोमबार जिल्ला प्रशासन कार्यालयमा जिल्लाका पत्रकार तथा संचारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षा र सार्वजनिक महत्वका बिषयलाई ध्यानमा राख्दै प्रभावकारी र सरल, सहज सेवा प्रवाहलाई प्राथामिकता दिने बताएका हुन् ।
जिल्लाको समग्र बिकासका लागि मिडिया र पत्रकारको महत्वपुर्ण भूमिका रहने भन्दै प्रशासन र पत्रकार बिचको समन्वय र सहकार्य आवश्यक रहने बताए । पत्रकारले उठान गर्ने बिषय र सुचना समप्रेशनले समग्र रुपमा सकारात्मक सन्देश जाने भएकाले पत्रकारको भूमिका महत्वपुर्ण हुने भन्दै प्रजिअ रेग्मीले पत्रकारिता क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरे ।
प्रशासन सँग जोडिएका बिषय बस्तुलाई केलाउदै सेवा प्रवाहमा चुस्त दुरुस्त बनाउनमा पहल गरिरहेको उनको भनाई थियो ।
परिचयात्मक कार्यक्रममा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्ति, सुरक्षा, आम नागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन लगायत बिभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।






