जुम्लाका पदम रोकायालाई ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड


दोस्रो संस्करणको जीवन्त नेपाल म्युजिक अवार्ड २०८० मा जुम्लाका पदम रोकायाले ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड जितेका छन् ।

अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सोमवार काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।

०४६ माघ ८ गते कनकासुन्दरी गाउँपालिकामा जन्मेका रोकायाले १६ वर्षको उमेरमै आफ्नै शब्द, संगीत र स्वरमा ‘मेरी मायालु’, ‘जुम्ला कालीकोट’जस्ता गीतहरू बजारमा ल्याइसकेका थिए ।

करिब आठ सयभन्दा बढी गीतमा संगीत, शब्द र स्वर भरेका रोकायाका ‘माया गर्ने जीवनसाथी’, ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘मेरो दिलको राजा’, ‘तिम्ले घृणा गरे पनि’, ‘मुटुभित्र’, ‘धोका दिने धोके बाज’जस्ता दर्जनौँ गीत दर्शन–स्रोताले मनपराएका छन् ।

कर्णाली कलाकार समाजको अध्यक्षसमेत रहेका रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मान २०७६ लगायत पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।

जुम्लाका पदम रोकायालाई ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड

प्रशासन र पत्रकार बिचको समन्वय प्रभावकारी हुनुपर्ने