जुम्लाकी एक्ली अटोचालक कल्पना


जुम्लाको सदरमुकाम खलंगाबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्मतिर हुइँकिरहने रातो अटोरिक्सा देख्नेहरू एकैछिन रोकिन्छन् । जसको एक छेउमा लेखिएको छ । जन्म हुँदा सास हुन्छ तर नाम हुँदैन । मृत्यु हुँदा नाम हुन्छ तर सास हुँदैन । यही सास र नामबीचको यात्रालाई जीवन भनिन्छ । तर यो सायरीले भन्दा चालक सिटमा बसेकी ३० वर्षिया कल्पना बुढालाई देखेर यात्रु छक्क मान्दै छेउमा टक्क अडिन्छन् ।
नमानुन् पनि किन, जुम्लामा ६ सय बढी अटो छन् । यीमध्ये उनी एक्ली महिला अटोचालक हुन् कल्पना । जुम्लाको पातारासी गाउँपालिका–७ की ३० वर्षिया कल्पना बुढा जुम्लाकी एक्लो महिला अटोचालक हुन् । अटोचालकको सिटमा आउनुअघि अनेकन दुःखको बाटो पार गरेको अनुभव छ । एसएलसी दिएर बसेका बेला उनको एक केटासँग साटियो । मायाको लहरमा बग्दैबग्दै १३ वर्षकै उमेरमा उनले भागी विवाह गरिन् । १७ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् । तर, छोरा जन्मेसँगै श्रीमान् दोस्रो बिहे गरेर उनीबाट टाढा भए । त्यसपछि कल्पनाको अघि नसोचेको दुःख र संघर्षको यात्रा सुरु भयो । श्रीमा संग सम्बन्धविच्छेद गरिन् ।
अनि आफ्नै कमाइको बलमा उभिने यात्रा सुरु गरिन् । सम्बन्धविच्छेदपछि कल्पनालाई कसरी गरिखाउँला भन्ने चिन्ताले छोपेको थियो । अहिले उनी जुम्लाको सदरमुकाम खलंगामा बुवा आमासँग बस्छन् । उमेर नपुग्दै विवाह गरेका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगे पनि कल्पनाले हिम्मत हारिनन् ।
सदरमुकाममा रंगीचंगी अटो गुड्न थालेको धेरै समय भएको थिएन । एक दिन उनलाई लाग्यो, अरूले झैं अटो हुइँक्याउन सके त । यही सोचले उनी अटो चलाउन हुटहुटी लगायो । उनी घर नजिकैको सीमाचौरमा अटो सिक्न पुगिन् । हरेक दिन उनले पाँच सय रुपैयाँ तिरेर आधा घण्टा अटो सिक्थिन् । अलि अलि चलाउन जान्ने भएपछि उनी अटो सिक्नकै लागि सुर्खेत गइन् । उनकी दिदी सुर्खेतमै डेरा गरेर बस्थिन् ।
दिदीको डेरामा बसेर २० दिन लगातार सिकेपछि उनी अटो हुइँक्याउन सक्ने भइन् । उनी भन्छिन्,‘बाआमा र दिदीले अटो सिक्न सहयोग गरे ।’ अटो चलाउन जान्ने भएपछि उनले लाइसेन्स पनि हात पारिन् ।

नेपालगन्ज पुगेर झन्डै ६ लाख पर्ने अटो किस्ताबन्दीमा किनिन् । नगरपालिकाभित्र चलाउने रुट परमिट पनि लिइन् । सुरुका दिनमा उनलाई अटो चलाउन थोरै अप्ठ्यारो लागेको थियो । जिल्लाका सबै चालक पुरुष थिए । चालक सिटमा उनलाई देखेर यात्रु मात्रै होइन, स्थानीय बासिन्दा पनि मुखामुख गर्थे । धेरै अटोका चालक यो महिलाले कसरी हाँक्ली ।
भनेझैं गरेर खिसी गर्थे । सुरुसुरुमा त यात्रु पनि महिलाले चलाएका अटो सुरक्षित हुँदैन भन्ठानेर चढ्न डराउँथे । जसले जे भने पनि उनले हिम्मत हारिनन् । हिजोआज उनले अटोबाट दिनमा दुई हजारदेखि दुई हजार पाँच सय सम्म कमाउँछिन् । मासिक तिस हजार रुपैयाँ आम्दानी गर्छन् । भने बर्खायाम तथा पर्यटक आउने समयमा त मासिक ४० देखि ५० हजार आम्दानी हुने गरेको बताउँछिन् । त्यो आम्दानीले छोरालाई पढाउन, औषधी उपचार र घरखर्च चलाउन सजिलै भएको छ । यही कमाइले उनले छोरालाई निजी विद्यालयमा ५ कक्षामा पढाएकी छन् ।
अटोकै कमाइले कल्पनालाई खानबस्नको दुःख हटेको छ । उनी बेलाबेला आफूलाई मन लागेको कुरामा पैसा खर्चिन सक्ने भएकी छन् । अटो किन्दाको सबै किस्ता चुक्ता गरिसकेकी छन् । अटो छ र मलाई सहारा मिलेको छ । पहिले शंका गर्नेहरू अहिले महिलाले चलाएको अटो पो सुरक्षित हुँदो रहेछ । भन्न थालेका छन् ।
अधिकांश पुरुष चालकले मदिरा सेवन गरेर अटो चलाउने भएकाले दुर्घटनाको समस्या छ । उनले भनिन् । मप्रति सबैको निकै ठूलो विश्वास छ । कतिपयले त फोन गरेरै अटोरिक्सा मगाउँछन् । कल्पनाले अटोकै कमाइले सानो घडेरी किनेर घर बनाउने अर्को इच्छा पनि छ, उनले हिम्मतिलो स्वरमा भनिन् । एकदिन सबै सपना कसो पूरा हुनेछ ।






