भूकम्प पीडितलाई नेशनल लघुवित्तको ५० लाख सहयोग


नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।
मानविय सहायताअन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो । संस्थाले सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा चार लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बागचौर शाखाअन्तर्गत वित्तीय संस्थामा आवद्ध ६ सय ८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई चार लाख सहयोग गरेको छ । आठविसकोट शाखाअन्तर्गत वित्तीय संस्थामा आवद्ध तीन सय ७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको लघुवित्तले जनाएको छ ।
संस्थाले मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका दुई सय ५० सेवाग्राही सदस्यलाई सात लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुुई अलग अलग कार्यक्रमकावीच संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, स्थानीय जनप्रतिनिधि, वित्तीय संस्थाका कर्मचारी एवं सेवाग्राहीको उपस्थिति रहेको थियो ।






