कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी कार्यरत

कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन् । सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ । सुर्खेत बाहेक अन्य जिल्लामा ट्राफिक प्रहरी कम संख्यामा खटाइए पनि पुग्नेमा दोब्बर पठाइएको पाइएको हो ।
कर्णालीमा ट्राफिक प्रहरीको दरबन्दी १ सय ६९ जना रहेकोमा हाल २ सय ५९ जना कार्यरत रहेका छन् । बबई लगायत सामान्य पोष्टमा समेत ट्राफिक प्रहरीले असई खटाए पनि केही जिल्लामा हवलदारलाई जिल्ला प्रमुख तोकेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा एसपीसहित ३७ जना कार्यरत रहेका छन् त्यहाँ ६० जनाको दरबन्दी रहेको छ ।
कर्णालीमा ट्राफिक चाप सुर्खेत, दैलेख र सल्यानमा बढी हुने गर्दछ । एक वा दुई जनासम्म राखिने ट्राफिक पोष्टमा अहिले ४ देखि ६ जनासम्म राखिएको छ । जसका कारण चाहिनभन्दा बढी ट्राफिक प्रहरी कर्णालीमा खटाइएको पाइएको छ । कम सवारीसाधन चल्ने कर्णालीमा ट्राफिक प्रहरी बढी खटाइनुले अर्थपूर्ण रुपमा हेरिएको छ ।
कर्णालीका हरेक जिल्ला मुकामबाट पालिका स्तरमा चल्ने रातो नम्बर प्लेटका गाडीले मनलाग्दी रुपमा भाँडा असुलेर चलाउने गर्दछन् । सामान्यतया त्यस्ता गाडीले यात्रु ओसार्न पाउँदैनन् तर, ट्राफिक प्रहरीकै मिलोमत्तोमा ५ सयभन्दा बढी त्यस्ता जिपहरू कर्णालीमा चल्दै आएका छन् । जिल्लाका ट्राफिक प्रमुख, नेपाल प्रहरीका प्रमुख र सिडिओसमेतलाई थाहा छ तर, कालो नम्बर प्लेट बनाएर नियममा चल्नका लागि भन्दैनन् । त्यस्ता गाडीहरूबाट वर्षेनी दुर्घटना जोखिम बढीरहेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार सुर्खेत जिल्ला ट्राफिक कार्यालयमा २३ जना ट्राफिक प्रहरीको दरबन्दीमा ९५ जना कार्यरत छन् । त्यस्तै सल्यानमा ९ जनामा २३ जना कार्यरत, दैलेखमा ९ जनामा २१ कार्यरत, रुकुम(पश्चिम) मा ९ जनामा १६ जना कार्यरत, कालिकोट ९ जनामा १४ जना कार्यरत, जुम्लामा ९ जनामा १२ जना कार्यरत, जाजरकोटमा १० मा १७ जना कार्यरत, १० जनामा ८ जना कार्यरत, डोल्पामा १० जनामा ७ जना कार्यरत, हुम्लामा १० जनामा ६ जना कार्यरत रहेका छन् ।
हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा सवारी चाप कम हुने भएकाले ट्राफिक प्रहरी जान मान्दैनन् । कर्णालीमा सरुवा वा काजमा आएका ट्राफिक प्रहरीहरू बढी गाडी चल्ने ठाउँमा जान रुचाउने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् । कर्णालीमा १ सय ६९ जना ट्राफिक दरबन्दी रहे पनि यहाँको हाल २ सय ५९ जना कार्यरत रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले मुख्यमन्त्री कार्यालयमा प्रस्तुत गरेको प्रस्तुतिमा उल्लेख छ ।






