जुम्लामा दुई वर्षमा २१ जनाले गरे आत्महत्या


२०७९ सालको मंसीर १८ गते जुम्लाको सिंजा गाउँपालिका–४ की २१ बर्षीया राममाया बुढाले आत्महत्या गरिन् । उनी घरमा झुण्डिएको अवस्थामा फेला परिन् । राममाया जस्तैः उक्त गाउँपालिका–१ का ६२ वर्षीय पृथ्वी बहादुर शाहीले ०७९ असोज ३ गते झुण्डिएर आत्महत्याको बाटो रोजे ।
यस्तै जुम्लाको गुठिचौर गाउँपालिका –४ उखाडी गाउँकी २० वर्षीया देवकी भण्डारीले पनि झुण्डिएर आत्महत्या गरिन् । यी तीन घटना एक महिनाकै अवधिभित्र भएका थिए । मनोचिकित्सकहरुले आत्महत्याका घटनाहरुको मुख्य कारण मध्ये एक गरिबीलाई मानेका छन् । जुम्ला त्यसबाट अछुतो छैन ।
जुम्लामा बर्सेनि चरम गरिबी, घरेलु हिंसा र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । गत वैशाख ६ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ की १६ बर्षीया अरुणा सञ्जालले पनि आत्महत्या गरिन् । उनी आफ्नै कोठा भित्र पासो लगाई झुण्डिएकी थिइन् । यस्तै पुस ११ जुम्लाको चन्दननाथ नगरपालिका–२ का ४८ बर्षिया अन्जन रुपाखेतीले पनि आत्महत्या गरे ।
त्यस्तै, भदौ ३० गते नगरपालिका –९ का ३१ बर्षीया भिमराज गिरी आत्महत्या गरेर मरे । यी केही प्रतिनिधि घटना मात्र हुन् । उल्लेखित छ वटा घटनामध्ये तिन पुरुष छन् । तीन जना महिलाहरु विवाहित हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या देखिए पनि प्रहरीले ‘स्थलगत मुचुल्का उठाउँदा गरिबी, घरेलुहिंसा लगायत सामाजिक कारणले घटना भएको देखिन्छ ।’
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्याङ्क हेर्दा दुई आर्थिक वर्षमा आत्महत्याका घटना बढेको पाइन्छ । आर्थिक वर्ष २०७९/०८० मा ६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये तीन महिला तीन पुरुष देखिन्छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या बढेर १५ पुगेको छ । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार आत्महत्याको बाटो रोज्नेहरुमध्ये सबैभन्दा धेरै चन्दननाथ नगरपालिका भित्रकाले आत्महत्या गरेका छन् ।
सबैभन्दा कम हिमा र तातोपानी गाउँपालिका छन् । चन्दननाथमा ४, सिंजामा ३, गुठिचौरमा २, तातोपानीमा१, तिलामा २, कनकासुन्दरीमा २ र हिमा गाउँपालिका १ जनाले झुन्डिएर आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । ४ जना पुरुष, ५ जना महिला र ६ जना बालबालिका छन् । आत्महत्या न्युनिकरण तथा व्यवस्थापन समिति गठन कार्यक्रममा प्रहरीले यो तथ्याङ्क सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार आत्महत्या गर्ने ९५ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित हुने गरेका छन् ।
कामती भन्छन्, ‘जुम्लामा प्रायः आत्महत्याका घटना घरेलु तनावका कारण भएको देखिन्छ ।’ अहिले सामाजिक सञ्जालका कारण पनि आत्महत्याका घटना बढेको छ । यता देविदत्त गण जुम्लाका गणपति धिरज थापा आत्महत्याका घटना कम गर्न जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँछन् ।
शिक्षा, स्वास्थ्यको अभाव, आर्थिक समस्या र बेरोजगारी, प्रेम सम्बन्धका कारणले आत्महत्याका घटना बढी भएको उनको तर्क थियो । गणपति धिरजले भने,‘सहरतिर विशेष गरी बालबालिकाहरु अरुको देखासिकी, बाहिरी खुल्ला संसारलाई नियाल्न सक्छन्,’ उनी भन्छन्, ‘मनमा अनेक खालका नराम्रा धारणाहरू सिर्जना गर्छन्, जसले गर्दा उनीहरु मानसिक डिप्रेशनमा जान्छन् र आत्महत्याको बाटो रोज्न पुग्छन् ।’
यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बढ्दो आत्महत्याको अवस्थालाई कम गर्नको लागि त्यसको कारण पत्ता लगाई प्रयास थाल्न जरुरी रहेको बताए । आत्महत्याका घटनामा कमी ल्याउन विद्यालयस्तर देखि नै मनोशिक्षाको अध्यापन गराउनु पर्ने टिप्पणी गरे। यसैबिच प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आत्महत्या न्युनिकरण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
आत्म हत्या दुरुत्साहन दिएको कसुरमा प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था छ । २०७५ भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहितामा यो कानुनी व्यवस्था छ ।






