भूकम्पले दरबारमा क्षति पु¥याएपछि प्रशासनद्वारा त्रिपालमा सेवा


जाजरकोटको सेतो दरबारमा गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षति भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा त्रिपालबाट सुरु भएको छ । प्रशासन कार्यालयमा रहेको खुला चौरमा त्रिपाल टाँगेर सेवा सुरु भइरहेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । हाल सेतो दरबारबाट परिचित दुई वटा ठूला दरबार भूकम्पले छियाछिया भएपछि खुला आकाशमा सेवा प्रवाह गर्नुपरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीको आवास पनि भत्किएका कारण जिल्ला कारगारमा बसाइँ सरेको छ । प्रशासनको कामलाई सहजता ल्याउनका लागि खुला चौरमा अस्थायी टहरा निर्माणको कामसमेत जारी छ । विभिन्न संघ संस्थाको सहयोगमा उक्त संरचना निर्माण हुन लागेको हो । अहिले त्रिपालमा सेवा दिँदा पानी, हावाका कारण भारी समस्य थपिएपछि अस्थायी संरचना निर्माण गर्न लागिएको हो । दैनिक सेवाग्राहीको भीड हुने प्रशासनमा सेवा लिनका लागि ठाउँको भारी अभाव हुँदै आएको छ ।

साँघुरो ठाउँमा त्रिपालमा बसेर काम गर्दा आफू समस्यमा रहेको कर्मचारी बताउँछन् । तत्कालीन राजाले ६० हजार रुपैयाँमा उक्त दरबार सरकारलाई बिक्री गरेका थिए । वि.सं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति बेहोरेको जाजरकोट दरबारले फेरि गत कात्तिक १७ गते शुक्रबार फेरि भूकम्पमा परी क्षति बेहोर्नु परेको हो । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं १८५२ मा निर्माण गरिएको थियो ।

‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यस अघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो । उक्त भुइँचालोबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्यांक छैन । ९० वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पु¥याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटबासीले लिन्छन् । सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो ।

तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए । जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुनःनिर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए ।

तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए ।

प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउँछन् ।(कारोबार)

भूकम्पले दरबारमा क्षति पु¥याएपछि प्रशासनद्वारा त्रिपालमा सेवा

हिउँमा अलपत्र परेकालाई उद्वार लागि पहल

भूकम्पले दरबारमा क्षति पु¥याएपछि प्रशासनद्वारा त्रिपालमा सेवा

कर्णालीमा वर्षेनी १९ हजार मेट्रिक टनभन्दा बढी