जुम्लाका दुर्गम गाउँमा बन्दै भूकम्प प्रतिरोधी विद्यालय


जुम्ला ।
जुम्लाका दुर्गम गाउँमा भूकम्प प्रतिरोधी विद्यालय भवनहरु बनाउन थालिएको छ । पछिल्लो समय बारम्बार भूकम्पले तर्साइरहने र कच्ची भवनहरु भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउन थालिएको हो ।
हालै हिमा गाउँपालिकामा दुई, सिंजा गाउँपालिकामा एक र कनकासुन्दरी गाउँपालिकामा दुई वटा विद्यालय भवन बनेका छन्, ती सबै भवनहरु भूकम्प प्रतिरोधी हुन् । पाँच विद्यालयमा चार कोठे पक्की भवन, चार वटा बालमैत्री, अपाङ्गमैत्री भवन, चार वटा शौचालय र तीन वटा हेण्ड वासिङ स्टेशन बनेका हुन् ।
हिमास्थित भैरब आधारभुत विद्यालय जोगीबाडा र महादेव आधारभुत विद्यालयका भवन भूकम्प प्रतिरोधी बनेका छन् । त्यस्तै, कनकासुन्दरीका भैलापाटा आधारभुत विद्यालय र गोरुचौर आधारभुत विद्यालयमा पनि भूकम्प प्रतिरोधी भवन बनेका छन् । यी चार वटा विद्यालय गरेर दुई करोड ४७ लाख तीन हजार पाँच सय ३३ रुपैयाँ खर्च भएको छ ।
सिंजा गाउँपालिका–६ को माध्यमिक विद्यालय जोडुमा ६५ लाख ३३ हजार चार सय १४ रुपैयाँमा भवन बनेको हो । नयाँ निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेशन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको काम समेत भएको हो ।
यी पाँच विद्यालय भवन बालमैत्री, अपागमैत्री, छात्र–छात्रामैत्री, अपाङ्गमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठा सहितको सुविधा तथा विशेषता नयाँ विद्यालय भवनबाट सुरु गर्ने तयारी छ । गत बर्षको असोज महिनामा परेको बेमौसमी बर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो ।
त्यसयता विद्यार्थीहरु खुलाचौरमा बसेर पठनपाठन गरिरहेका थिए । प्रधानाध्यापक नरबहादुर बुढाले भने, ‘भूकम्प प्रतिरोधी नयाँ विद्यालय बनेसँगै विद्यार्थीले सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन् । प्रधानाध्यापक बुढाले दुर्गमका विद्यालय भुकम्प प्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावकहरु ढुक्क हुने अवस्था बनेको बताए ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेश नेपाल, जुम्लाले आधार परियोजनाबाट विद्यालय भवन बनाइदिएको हो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भुकम्परहित बनेको बताए । कतै अत्यावश्यक र कतै मागमा आधारित भएर भवनहरू निर्माण गरिएको न्यौपानेले जानकारी दिए ।
विद्यार्थीहरुले नयाँ शैक्षिकसत्र देखि भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा दुर्गममा भुकम्प प्रतिरोधी विद्यालय भवनहरु बन्दा पठनपाठन निकै सुरक्षित हुने गरेको बताए । उनले भवनको सहीरुपमा सदुपयोग र संरक्षण गर्न शिक्षक अभिभावकहरुलाई आग्रह समेत गरे ।





