अपांङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन हातेमालो परियोजना

अपांंङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन दैलेखका चार पालिकामा हातेमालो परियोजना सञ्चालन गरिएको छ । समावेशी जीविकोपार्जन अवसरको माध्यमबाट अपांङ्गता भएका व्यक्ति र तीनका परिवारहरुको सामाजिक आर्थिकमा सुधार ल्याउन सो परियोजना सञ्चालन गरिएको हो ।
अपांङ्गता भएका व्यक्तिहरुले सम्मानजनक जीवनयापन गर्नसक्ने र समतामुलक समाजको निर्माणका लागि सिविएम ग्लोबल नेपालको आर्थिक सहयोगमा हातेमालो ‘हाम्रो आवाज,हाम्रो सहभागिता’ परियोजना सोसेक नेपालले सहजीकरण गर्दै आएको छ ।
परियोजनाले निर्वाचन क्षेत्र–१ को नारायण नगरपालिका, नौमुले गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको छ भने निर्वाचन क्षेत्र–२ को दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्नका लागि परिचयात्मक कार्यक्रम गरी समझदारी पत्रमा प्रत्येक पालिकाले १७ लाख ९९ हजार रुपैयाँमा हस्ताक्षर गरिसकेको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज विसीले बताए ।
उनले भने, ‘यो परियोजना सञ्चालनका लागि हामीले चारवटै पालिकामा कार्यक्रमको जानकारी दिई समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौँ । सम्झदारी पत्र अनुसार चारवटै पालिकाबाट ७१ लाख ९६ हजार जम्मा गनुपर्ने हुन्छ । कार्यक्रम विशेषगरी अपांङ्गता भएका व्यक्ति र तीनका अभिभावक, विद्यालय, घर, स्वास्थ्य संस्थामा समेत गरिनेछ’, विसी थपे ।

परियोजनाले ३ बर्षका लागि ५ करोड भन्दा बढी खर्चिने
हातेमालो परियोजनाले अपांङ्गता भएका व्यक्ति विभिन्न जनचेतनामुलक कार्यक्रम लागि चार पालिकामा ३ बर्ष अवधिमा ५ करोड ४७ लाख १९ हजार ३५६ रुपैयाँ ४८ पैसा खर्चिने भएको छ । अपांङ्गता भएका महिला पुरुष, वालबालिका, अभिभावक, संघ संस्थामा उक्त रकम खर्चिने भएको हो ।
परियोजनाबाट महिला, पुरुष र बालबालिका गरी ३ हजार ६८१ जनसंख्या लाभान्वित हुने छन् आधारभुत विद्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरी ८४ वटा संस्थामा कार्यक्रम सञ्चालन गरिने निर्देशक विसीले जानकारी दिए ।
२०७८ जनगणना अनुसार निर्वाचन क्षेत्र–१ नारायण नगरपालिमा अपांङ्गता भएका महिला पुरुष, वालवालिका गरी ९४४ जना अपांङ्गता छन् भने नौमुले गाउँपालिमा महिला पुरुष बालबालिका गरी ५४४ जना अपांङ्गता व्यक्ति रहेको जनगणनामा उल्लेख गरिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को दुल्लू नगरपालिकामा महिला पुरुष, बालबालिका गरी १ हजार ३६७ जना अपांङ्गता छन् भने भैरवी गाउँपालिमा महिला, पुरुष र बालबालिका गरी ८२६ जना अपांङ्गता रहेको २०७८ सालको जनगणनामा उल्लेख गरिएको छ ।
परियोजनाले नारायण नगरपालिका–१२, भैरवी गाउँपालिकामा ८, दुल्लू–१४, नौमुले गाउँपालिकामा १२ गरी जम्मा ४६ आधारभुत विद्यालय प्रत्येक्ष लाभान्वित हुने छन् भने नारायण नगरपालिकामा ३, भैरवीमा २, दुल्लूमा ५, नौमुलेमा ३, गरी १४ माध्यमिक विद्यालय परियोजनाले सहयोग गर्ने भएको छ ।
त्यसैगरी नारायण नगरपालिकामा ७, भैरवीमा ५, दुल्लूमा ७, नौमुले ६, गरी २५, स्वास्थ्य संस्था लाभान्वित हुने परियोजनाले जनाएको छ । जस अनुसार नारायण नगरपालिमा प्रत्येक्ष लाभान्वित हुने संस्थाको संख्या २२, भैरवीमा १५, दुल्लूमा २६, नौमुलेमा २१ गरी जम्मा ८४ संस्थालाई परियोजनाले सहयोग गर्ने भएको छ ।

आशावादी स्थानीय सरकार
भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले परियोजनाको पादर्शिता आफुलाई मन परेको बताईन । लोकतन्त्रमा विकाससँगै सुशासन, पादर्शिता आजको आवश्यकता भएकोले यो कार्यक्रमले ल्याएको पादर्शितालाई पालिकाले अंगाल्ने छ । यो कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन म लगायत पालिका आशावादी छौं । कागतमा मात्र सिमित नभई कार्यान्वयन हुनेछ उनले भनिन् ।
त्यसैगरी दुल्लू नगरपालिका नगर उपप्रमुख विना कार्कीले पहुँचमा नभएका अधिकांश महिला पुरुष, दलित छुटेको बताइन् । ती छुटेका व्यक्तिलाई हातेमालो कार्यक्रम समेटेर आत्मनिर्भर बनाउनेमा आफु आशावादी रहेको छु । पालिकाको बजेटले पुग्दैन । संस्थासँग साझेदारी गरेर यस नगरका अपांगता भएका व्यक्तिका समस्या समाधान नगर लागि परेको उनको भनाई छ ।
निर्वाचन क्षेत्र–१ नारायण नगरपालिकाका नगर उपप्रमुख, तप्ताकुमारी थापाले नगरपालिकाले अपांगता सम्बन्धि प्रोफाईल तयार गरेको जानकारी दिईन । हामीले हरेक विकासका संरचना अपांङ्गता मैत्री बनाउन शुरुवात गरेको तर बजेट अभावले पुरा हुन सकेको छैन ।
परिचय पत्र दिएपनि सहायक सामाग्री दिन सकेको छैनौ । अपांङ्गता भएका व्यक्तिलाई आयआर्जन क्रियाकलाप मार्फत आत्मनिर्भर बनाउन थालनी गरेपनि प्रयाप्त छैन, हातेमालो कार्यक्रमले थप बल पुग्ने छ, उनले थपिन ।
चारवटै पालिकामा गरिएको हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रममा अधिकांश सहभागीले क र ख वर्गका अपांङ्गता भएका व्यक्ति भत्ता दिने गरेको भएपनि ग र घ भएकाले भत्ता नहुँदा दुखेसो पोख्ने गरेका यो कार्यक्रमले ती वर्गमा समेट्नु पर्ने सल्लाह दिएका थिए ।
सोसेक नेपालले १० जिल्लामा ३३ वटा परियोजना मार्फत विकास निर्माण,विपद सहयोग, बालविवाह न्यूनिकरण, महिला हिंसा, छाउपडी प्रथा शिक्षा स्वास्थ्य विपन्न लोपोन्मुख समुदायमा कार्यक्रम गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए ।






