घोडेसिनगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी लटरम्म तरकारी । लटरम्म फलेका, फक्रिएका बन्दा, काउली, खुर्सानी, काँक्रो, गाँजर, आलु, सिमी, फर्सी, मुला लगायतका सबै पाइन्छ । एकदशक अगाडिसम्म गहुँ, जौ र मकै फल्ने घोडेसिनका खेतीयोग्य जमिनमा अहिले तरकारी खेती भइरहेका छन् । अहिले ती बारीमा हरियो तरकारी उत्पादन गरेका छन् ।
पहिले गहुँ, जौ,मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–६ मा पर्ने घोेडेसिन गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन् ।
वि.सं २०६८ देखि गाउँलेले सुरू गरेको व्यावसायिक तरकारी खेतीले अहिले ठूलो रूप लिएको छ । कृषकले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएको देखिन्छ् । युवाले रोजगार पाएका छन् । गाउँमा १ सय ४० घरधुरी छन् । उनीहरू सबै तरकारी खेतीमै आबद्ध छन् ।
यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन् । जुम्ला बजार नजिकै रहेको घोडेसिन गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन् । बजारीकरण र सिचाँइको समस्या भए पनि यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय जनक बुढाले बताए ।
बुढाले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोच विकास भएपछि घोडेसिन गाउँ ‘तरकारी गाउँ’का रूपमा विकास भएको बताए । पछिल्लो समय यहाँ तरकारी खेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उनी बताउँछन् ।’ गाउँलेलाई पहिले बारीमा उत्पादन भएको मकै, जौ र गहुँले खान पुग्दैनथ्यो, अहिले यहाँका कोही पनि नागरिकलाई किनेर खानुपर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक डोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरू पनि तरकारी खेतीमा जोडिँदै छन्’, जनकले भने, ‘अहिले यो गाउँमा टनेल नबनाएको घर नै छैन, तरकारी खेतीले दैनिकी फेरिएको छ ।’
व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बदलिएको सोही गाउँकी बिजुला बढी बताउँछिन्। उनले आफूहरूले उत्पादन गरेको तरकारीले राम्रो बजार नपाएको गुनासो गरिन्।बजारको व्यवस्था राम्रो भएको भए कृषक थप उत्साहित भएर लाग्ने थिएँ । उनले भनिन् ।
तरकारी खेती गर्न कृषि विकास कार्यालय र जिल्लाका विभिन्न संघ सस्थाले पनि राम्रो सहयोग गर्दै आएको बिजुला बताउँछिन् । गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालिएको कृषकहरू बताउँछन् ।’ विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौं, लगनशीलता र परिश्रमले जीवन फेरिँदो रहेछ, पहिले धेरै जसोले मजदूरी गरेरै जीविकोपार्जन गर्नुपर्थ्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ’, उनले भने, ‘बजारको ठुलो समस्या छ, गाउँमै मोटरबाटो पुगेको छ, ठेकेदारहरु बारीमै तरकारी खरिद गर्न आउँछन् ।’ तर,अन्य सबै महिलाहरु तीन घण्टाको पैदलमार्ग हुदै जुम्लाको सदरमुकाम खलंगा बजार तरकारी डुलाएर बेच्दै आएकी छन् ।
अर्की स्थानीय महिला कृषक चम्फा बुढाले तरकारी खेतीबाट वार्षिक पाँच लाख बढी आम्दानी गर्ने गरेको सुनाइन् । उनका अनुसार प्रत्येक घरले न्युनतम तीन लाखको तरकारी बेच्छन् । तरकारी खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले तरकारी खेती गरेकी छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरू किसानले पनि राम्रो आम्दानी गरेकी छन्, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, अहिले व्यावसायिक रूपमा खेती हुन थालेको हो ।’
कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको उनले गुनासो गरिन् । बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ ।’ यहाँ उत्पादन भएको तरकारी सबै जुम्ला बजारमा पु¥याउँछौं, बजारमा भारतबाट आएका तरकारीले गर्दा हामीले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ, व्यापारीले भनेको मूल्यमा दिनुपर्ने अवस्था छ’, उनले भने, ’डोकोमै बोकेर जुम्ला बजार पु¥याउनुपर्ने अवस्था छ,स्थानीय महिला माया थापाले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको अनुभव सुनाइन् ।
तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताइन् । छोराछोरीको पठनपाठन, लालनपालन, घरखर्च व्यवस्थापन सबै तरकारी बेचेर नै धान्छन् । यो गाउँको तरकारीले बजारको माग झन्डै चार महिना धान्छ । तरकारी उत्पादनबाट आर्थिक उपार्जन हुन थालेपछि प्रत्येक परिवारले बालबालिकाको पठनपाठन सहज रूपमा अघि बढाएका छन् । उनीहरूले बालबालिका निजी विद्यालयमा पठाउने गरेका छन् ।
छोराछोरीलाई कृषि, स्वास्थ्य, विज्ञान विषय पढाउन हिम्मत गर्ने भएका छन् । अधिकांशले त लोक सेवा आयोगमा समेत नाम निकालिसकेका छन् । उनिहरु भन्छन्, ’सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ, तर हामीलाई नजिकको सरकार (गाउँपालिका) ले सहयोग गरेको छैन, किसानका थुप्रै समस्या छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ ।’
घोडेसिन गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषक पनि सक्रिय भएर लागेका छन् । गाउँका सबै स्थानीय तरकारी खेतीमा आबद्ध हुँदा वार्षिक गाउँमा ७० देखि ८० लाख बढी भित्रिने गरेको छ ।
यता पातारासी गाउँपालिकाले घोडेसिन गाउँलाई तरकारी पकेट क्षेत्र तोकेको छ । रैथाने बालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको हो । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन रैथाने बाली संरक्षणको योजना अघि सारिएको हो ।
पातारासी गाउँपालिका–१ स्यालागडीलाई फापर, २ नम्बर वडाको पेरेलाई सिमी, वडा नं. ३ लाई कालीमार्सी धान र ४ नम्बर वडाको लुमलाई चिनो तथा कागुनोको पकेट क्षेत्र घोषणा गरेको छ ।
त्यस्तै, ५ नम्बर वडाको लोर्पामा ओखर, ६ नम्बरको उर्थुमा तरकारी र वडा नं. ७ को पट्मारामा आलुको पकेट क्षेत्र तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर रावलले बताए । ‘रैथाने बाली संरक्षणमार्फत युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो योजना हो,’ उनले भने, ‘जसका लागि कृषि विकास कार्यालयसहित अन्य निकायसँग सहकार्य भइरहेको छ ।’
गाेल्डेन बुढा । सुर्खेत । ३ जेष्ठ २०८१, बिहीबार १२:४७