सुशील खड्का । कर्णालीमा लगाइने रैथाने खाद्यन्न बाली विस्तारै लोप हुने क्रममा छन् । स्थानीय उत्पादनका रुपमा परम्परादेखि नै खेती गरिँदै आएका खाद्यान्न बालीहरुमा धान, गहुँ, कोदो, मकै, जौ, फापर, चिनो, कागुनो लगायत हुन् । यी बालीहरुको उत्पादन अपेक्षाकृत नहुँदा कृषकले मेहनतअनुसारको प्रतिफल पाउन सकिरहेका छैनन् । बढ्दो तापक्रम र शत्रु किराका कारण रैथाने बालीहरुको अस्तित्व नै जोखिममा छ । खेती गरिरहेको ठाउँमा उत्पादन भइरहेका बालीहरुको उत्पादन घटिरहँदा कर्णालीको हावापानी सुहाउँदो बालीको परीक्षणलाई तिव्रता दिइएको छ ।
सुर्खेतको दशरथपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालयले कर्णालीका विभिन्न जिल्लामा उत्पादन गर्न सकिने माटो सुहाउँदो विभिन्न बालीहरुको परीक्षण गरिरहेको छ । निर्देशनालय परिसरमा दुई सय बढी विभिन्न जातका खाद्य बालीको परीक्षण जारी छ । परीक्षणमा रहेका बालीहरुमा धान, कालो धान, कोदो, मकै, गहुँ, तोरी, फापर, वदाम, भट्टमासका विभिन्न जातहरुमा परीक्षण गरिरहेको निर्देशक देवनिधि तिवारीले जानकारी दिए । ‘धानहरुमा मात्रै ३७ जातको परीक्षण गरिहेका छौं,’ तिवारी भन्छन्, ‘रैथाने बालीहरु लोप भइरहेका अवस्थामा परीक्षण गरिरहेका बालीहरु सफल भएमा कृषकको आयस्तर बढ्ने र मौसमअनुसार जुध्न सक्ने बालीले उत्पादनको ग्राफ बढ्ने विश्वास लिएका छौं ।’ धान रोपेको ९० दिनदेखि एक सय ३५ दिनसम्म पाक्ने बालीहरुको नतिजा सकारात्मक देखिएको छ ।’
हिलो र सुख्खा माटोमा उत्पादन हुने घैया धान, हाइव्रिट, कालो धानको परीक्षण सफल बनेको छ । सुख्खा क्षेत्रमा सहजै उत्पादन हुने कालानार्थे एक्स सुख्खा धान–३ जातको परीक्षण गरिएको सात वर्ष पुगेको छ । यहीँ जातको धान यसै वर्षदेखि दैलेख र डोटीमा एकै साथ परीक्षण थालिएको छ । सुर्खेतमा गरिएको परीक्षणले राम्रो नतिजा दिइरहेकाले थप जिल्लामा विस्तार गर्दा उत्पादनको दर कस्तो देखिन्छ भनेर बाली लगाउन थालिएको हो । ‘मल्टीलोकेशन तय गरेर बाली परीक्षण गर्दा कस्तो नतिजा देखिन्छ भनेर ति क्षेत्रमा यहीँ वर्षबाट बाली लगाएका हौं,’ निर्देशक तिवारी भन्छन्, ‘सुरुवाती चरणमा राम्रो नतिजा आएकाले यो धानलाई रजिष्टर गरेर विस्तारै कृषकलाई उत्पादनका लागि वितरण गर्छौं ।’ परीक्षणमा रहेको कुनै पनि जातको बाली मुल बिउको रुपमा तयार गरेर कृषकलाई दिन कम्तिमा १२ वर्ष लाग्छ ।
हालसम्म निर्देशनालयले सुर्खेत स्थानीय तोरी–३ लाई रजिष्ट्रर गरेर कृषकहरुलाई उत्पादनका लागि वितरण गरिसकेको छ । वितरण गरिएको तोरी हाल तराईका विभिन्न जिल्ला र कर्णालीको मध्ये पहाडी जिल्लाका कृषकले लगाउँदा राम्रो प्रतिफल दिएको छ । मुल बिउ उत्पादनका लागि अहिले दशरथपुरको दुई हेक्टर क्षेत्रफलमा तोरी लगाइएको निर्देशनालयका प्राविधिक सहायक दलबहादुर केसी बताउँछन् । ‘सुर्खेतकै स्थानीय जातलाई परीक्षण गरेर कृषकलाई उत्पादनका लागि दिएका हौं,’ केसी भन्छन्, ‘उत्पादन र पाक्ने समयावधि राम्रो देखिएकाले कृषकहरुले राम्रो आम्दानी गरिराख्नु भएको छ ।’
निर्देशनालयले बालीको नतिजा हरेक वर्ष कृषककै सहभागीतामा विवरण संकलन गर्छ । निर्देशनालयले हरेक बालीहरुमा गरीरहेको परीक्षणको अंक संकलन गर्न कृषकहरुकै सहभागीता गराउने गरेको छ । निर्देशनालयले परीक्षण गरेका बालीहरुको अवस्था कस्तो छ भनेर हरेक जातका बालीहरुको नम्बर दिने गर्छन् । तिनै विवरणका आधारमा हरेक वर्ष बालीलाई अझै उच्चस्तरको बनाउने गरी निर्देशनालयले परीक्षण गर्दै आएको छ । बालीले पूरै साइकल चक्र पार गरेपछि माटो सुहाउँदो तयार छ भनेर निर्देशनालयले बिउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउँछ । बाली विज्ञहरुले १२ वर्षसम्मको तथ्याङ्क केलाएर उपयुक्त छ वा छैन भनेर जाँच गरेर राष्ट्रिय बिउ विजन समितिमा पठाउने गरिन्छ ।
समितिले कृषकलाई दिनका लागि अन्तिममा सिफारिसका लागि अनुमोदन गर्दछ । त्यसपछि मात्रै कृषकलाई मुल विउ उत्पादनका लागि दिइने गरिन्छ । निर्देशनालय माहतहतमा बागवानी अनुसन्धान दैलेख र जुम्ला, कृषि अनुसन्धान केन्द्र, भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय अनुसन्धान प्रतिष्ठान जुम्ला तथा अदुवाबाली अनुसन्धान केन्द्र सल्यान छन् । सुर्खेतमा यसै वर्षदेखि बाख्रा अनुसन्धानको लागि थालनी गर्न लागिएको छ । सबै कार्यालयले परम्परागत बाली, तरकारी तथा पशुलाई क्रस गराएर बढी प्रतिफल दिने बनाउन परीक्षणका काम गरिरहेका छन् ।
‘प्रभावकारी अनुसन्धानले उत्पादन बढ्छ’
पूर्ण सापकोटा (कृषक), सुर्खेत
हामी कृषकहरु अझै पनि परम्परागत खेती गरिरहेका छौं । कतिपयलाई बिउ कसरी बन्छ वा बनाइन्छ भन्ने थाहा नै छैन् । हिजो पुर्खाहरुले जे लगाउँदै आए त्यहीँ बाली अहिले पनि लगाउनु पर्ने बाध्यता छ । निर्देशनालयले कृषकहरुलाई विउ कसरी परीक्षण गरिन्छ र यसको मुल विउ बन्न कति समय लाग्छ भन्ने कृषकहरुकै सहभागी गराउँदा धेरै विषयमा बुझ्ने मौका मिलेको छ । लगाउने तरिकामा फरक पर्दा उत्पादनमा ह्रास आउने रहेछ । हामीले दशरथपुरमा लगाएका परीक्षणमा रहेका बालीहरु कस्ता छ भनेर अंकसमेत दिने गरेका छौं ।
एकतिर विउ उत्पादनको तरिका थाहा भयो भने अर्कोतर्फ बिउ, ठाउँ छनोट र कस्तो प्रविधि छान्ने भन्ने विषयमा जानकारी पाउने अवसर पाएका छौं । एउटा मुल विउ बन्न १२ वर्ष लाग्ने रहेछ । स्थानीय जातलाई नै क्रस गराएर परीक्षण गर्दा थप रोग, किरा र हावापानीसँग जुध्ने बाली तयार हुन गरिने यस्ता प्रभावकारी अनुसन्धानत्मक परीक्षणले उत्पादन बढ्छ । यसरी परीक्षण गरीएका बालीहरु कृषकसम्म पुग्दा उत्पादन बढ्ने र आयस्तरमा सुधारहुँदा बजारसम्म पु¥याउन सहज हुने निश्चित देखिन्छ ।
‘कृषकको आयस्तर सुधार्न बिउ परीक्षण अनिवार्य’
वीरबहादुर थापा (कृषक), सुर्खेत
पुराना बालीहरु लामो समयदेखि लगाउँदा उत्पादन क्षमता घट्दो क्रममा छ । अझै पनि कृषकले आफ्नैशैलीमा काम गरिरहेका छन् । हिजो बाली कस्तो थियो आज लगाउँदा त्यसको प्रतिफल कस्तो आयो भन्ने जानकारी नहुँदा कृषकहरु मारमा परिरहेका छन् । निर्देशनालयले गर्ने यस्ता परीक्षणले कृषकहरुले जुन समस्या अहिले झेलिरहेका छन् त्यो विस्तारै हट्ने कृषि पेशाप्रतिको गलत बुझाइ सुधार हुने अपेक्षा लिएका छौं । घर आँगनमै निर्देशनालयले मुख्य बालीहरुको परीक्षण गरिरहँदा हामीलाई जानकारी लिन बुझ्ने र बुझाउने पाठशाला बनेको छ । कृषि क्षेत्रको लगानी जोखिम बनिरहेको बेला नयाँ विउले उत्पादन कसरी प्रतिफल दिन्छ भनेर बुझिरहेका छौं । नयाँ जातका बालीहरुको विकास गरेर कृषकलाई दिएमा उत्पादन बढ्दा हौसलासँगै आयआर्जनमा टेवा पुग्छ ।
युग संवाददाता । सुर्खेत । १४ कार्तिक २०८१, बुधबार १५:२५