दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण

सुरु भयो मुख्य ‘ड्रिलिङ्ग’ को काम


कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङ्गको काम आइतबारबाट सुरु भएको हो ।

दैलेखको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको उद्घाटन गरेका हुन् । चार महिनामा सम्पन्न हुने मुख्य ड्रिलिङले सो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास भए नभएको एकिन हुनेछ भने पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयम अन्तिम नतिजा हासिल हुनेछ ।

पेट्रोलियम अन्वेषण अन्र्तगत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् । ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण रहेको परियोजना सफल बनाउन कुनै पनि कसरत बाँकी राख्न नहुने बताए । परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धि सुरु हुने बताउँदै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

२०७२ मा भारतले लगायतको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीहरुको अन्वेषण र उत्खनन्को काम नतिजाउन्मुख चरणमा प्रवेश गरेको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी अन्तिम नतिजा आउने गरी काम गरिनेछ ।

अब हुने मुख्य ड्रिलिङ चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराईमा अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापितले बताए । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरु परियोजनास्थलमा पुगिसकेका छन् भने केही उपकरणहरु ल्याउन बाँकी छ । ‘मेसिन जडान गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएसँगै अन्तिम अन्वेषणका लागि मुख्य ड्रिलिङ गर्ने कार्यको शुुभारम्भ गरेका हौं,’ नापितले भने, ‘अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्यास के हो त्यसको निक्र्यौल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुङ्गो लाग्छ ।’

परियोजना प्रमुख नापितका अनुसार दैलेखमा बिगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरु बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक प्रतिवेनदनले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको नापित बताउँछन् । ‘सयौँ वर्षदेखि जमिनमै ग्यासहरु बलिरहेको छ,’ उनी भन्छन्, ‘पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक रिपोर्टले देखाउछ, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो, अब कति गहिराईमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसावले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन यस ड्रिलिङबाट गरिनेछ ।’ नेपालको चुरे पहाडको केहि भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाई छ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरुले २४ सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।

यस्तो छ उत्खनन्को इतिहास
दैलेख धार्मिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको हिसावले ऐतिहासिक स्थल हो । यहाँ रहेको पञ्चकोशी तिर्थस्थल क्षेत्रमा सदिऔँदेखि निरन्तर ज्वाला बलिरहेको छ । नेपालकै प्रसिद्ध पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ । त्यहाँ बग्ने खोलाको पानी माथीपनि आगो बल्छ । कसैले यसलाई दैवी शक्तिको कारण भन्छन् । स्थानीयले दैविशक्तिको कारण ज्वाला बलिरहेको विश्वासमा पुजापाठ गर्छन् ।

श्रीस्थान र नाविस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । कतिपयले ज्वाला बलिरहेकोले यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे । दैलेखका खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको थियो । खानी तथा भूगर्भ विभागले विगत चार दशकदेखि पेट्रोलियम पदार्थको अन्वेषण गर्दै आएको थियो । प्राविधिक जनशक्ति र उपकरण अभावले अन्वेषणले गति लिन भने सकेको थिएन् ।

२०७२ मा नेपालको नयाँ संविधान जारी भए लगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकैबीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । अनी सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुराएको थियो ।

२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको अन्वेषण कार्यको सुरुवात गर्ने उद्घोष गरेको थियो । त्यसबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि ग¥यो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो ।

नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता थियो । २०७६ असार १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्नवेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भे लगाएतका काम सम्पन भईसकेको छ ।

स्थलत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चिन फर्किएको थियो । २०२२ सम्म अन्वेषणको काम सक्ने गरि सम्झौता गरिएको भएपनि कोरोना महामारीको कारण हुन सकेन् । २०७८ चैत्र १४ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । दुई वर्ष म्याद थप गरेको एक वर्ष बित्दा समेत थप अन्पेषणको काम हुन सकेको थिएन् । पछिल्लो ६ महिना यता पहिला गरिएको सर्भेका आधारमा ड्रिलिङ कार्यका लागि आवश्यक तयारीहरु अन्तिम चरणमा पुगेको छ ।

पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभीस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेको छ । श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैवी चमत्कार नभएर जमिनमुनि प्राकृतिक ग्यास रहेको पुष्टि भईसकेको छ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाको अवधि आगामी १६ चैतसम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको १४ चैत २०८० सम्मको म्यादमा पनि काम सम्पन्न नभएपछि मन्त्रिपरिषद्ले एक वर्षको समायावधि थप गरेको हो । चिनियाँ पक्षसँग सम्झौता हुँँदा ड्रिलिङका लागि ११ देखि १८ महिना लाग्ने उल्लेख भएकाले एक वर्षका लागि म्याद थपिएको हो । ड्रिलिङ सुरु भएको ५ देखि ६ महिनामा काम सम्पन्न हुने बताईएको छ ।

यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोहि अनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर, कोरोना माहामारी लगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाईले लागतसमेत बढेको चिनियाँ पक्षले जानकारी दिएको छ ।

परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले गठन गरेको ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ का प्रमुख दिनेशकुमार नापितका अनुसार नेपालका तर्फबाट भने जमिन अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ ।

‘अन्वेषण अन्र्तगतका सबै खर्च चिनियाँ पक्षको हो, नेपालको तर्फबाट ड्रिलिङ गर्ने स्थानको जग्गा उपलब्ध गराउनका लागि मात्रै मुआब्जाबापत खर्च गरेका छौँ,’ उनले भने, ‘जग्गाको मुआब्जाबापत सरकारले रकम खर्च गरेको छ ।’ यस अघि भैरवी गाउँपालिका– १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो परियोजना सफल भए दैलेख जिल्लाको मात्र नभई समग्र देशकै समृद्धिको ढोका खोल्ने छ भने, स्थानीयस्तरमै रोजगारी सृजना भई आर्थिक उपार्जनमा टेवा पुग्नेछ ।

तपाईको प्रतिक्रिया