कर्णाली सभ्यता अन्तर्गत प्रचलित हाम्रा परम्परागत पेशा व्यवसायहरु


कृषि र पशुपालन हाम्रा प्राचीन पेशा व्यवसायहरु हुन् । कृषिका लागि पशुपालन र पशुपालनका लागि कृषि आवश्यक हुने भएकोले यी दुवै व्यवसाय परस्पर अन्तरसम्बन्धित पनि छन् । प्राचिनकालमा जीवन निर्वाह गर्न यी बाहेक अन्य प्रयाप्त विकल्पहरु पनि उपलब्ध थिएनन् । केहि मात्रामा कृषि र पशुपालनमा आधारित व्यापार व्यवसायहरु पनि गर्ने प्रचलन रहेको पाइन्छ । मानव सभ्यताको विकास र जीवन निर्बाहको लागि हाम्रा पुर्खाले अंगालेका केही परम्परागत पेशा व्यवसायहरुको बारेमा यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१) भैंसी पालन व्यवसाय
भैंसीपालन व्यवसाय हाम्रो पुरानो व्यवसाय हो । कृषि र पशुपालनको इतिहास जति पुरानो छ हाम्रो भैंसी पालन व्यवसायको इतिहास पनि त्यत्तिकै पुरानो छ । आधुनिक युगमा आर्थिक लाभको हिसाबले भैंसी पालन व्यवसायको विशेषगरी मुख्य तीनवटा उद्देश्य हुने गर्दछ ।

पहिलो दुध र दुधजन्य वस्तुको उत्पादन, दोस्रो कृषि उत्पादनको लागि मलमुत्र र तेस्रो छाला र मासुको उत्पादन । प्राचीनकालमा भैंसी पालनको मुख्य उद्देश्य पारिवारिक उपभोगको लागि दुध, दहि, मोही, नौनीको उत्पादन र आयआर्जनको लागि घ्यु उत्पादन, कृषि कार्यको मलमुत्रको प्रयोग गर्ने भन्ने हुन्थ्यो । घरघरमा व्यवसायिक रुपमा कम्तिमा चार÷पाँचवटा भैंसी पालन गर्ने चलन थियो । समाजमा जसका भैंसा धेरै उसैका पैसा धेरै भन्ने मान्यता प्रचलित थियो । भैंसी बाँध्न प्रयोग गरिएको काठको खम्बालाई किलो र त्यसमा प्रयोग गरिएको डोरीलाई दाम्लो भनिन्छ । भैंसीको किलो ठोक्न प्रयोग गरिने काठको औजारलाई मुङ्ग्रो भनिन्छ ।

भैंसी ब्याएपछि भैंसीको किलो दाम्लो, मुङ्ग्रोको पुजा गर्ने र देवीदेवतालाई भैंसीको दुध, खीर चढाउने, धुप, दियो बाल्ने प्रचलन स्थानीय समुदायमा हालसम्म पनि चलि आएको छ ।
– दूध उत्पादन ः भैंसीको दुध स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ । दुधसँग रोटी, भात, ढिडो, सातु खाने वा चिया कफिमा राखेर वा सिधै पिउने पनि गरिन्छ । दुधमा चामल राखेर पकाइएको परिकारलाई खीर भनिन्छ । खिर बालबालिका देखि युवा, वृद्ध सबैको लागि मनपर्ने भोजन हो । हाम्रा स्थानीय चाडपर्वहरु सङ्क्रान्ति, न्वागी, तीज, कृष्ण जन्माष्ठमी र अन्य पुजा उत्सवहरुमा खिरको विशेष महत्व रहने गर्दछ ।

भैंसीको पुलिङ्गलाई राँगा भनिन्छ । राँगा लागेको दस महिना पछि भैंसी ब्याउछ । भर्खर ब्याएको भैंसीलाई लैनु (लौरु) भैंसी भनिन्छ भने ब्याएर पनि दुध दिन थालेको छ महिनाभन्दा बढी समय भएको भैंसीलाई बकेर्नु भैंसी भनिन्छ । भैंसीको बच्चालाई पाडापाडी भनिन्छ । एउटा लैनु भैंसीले बिहान र बेलुका गरेर दिनको दुईपटकमा करिब ५ देखि १० लिटरसम्म दुध दिन्छ ।
-दही उत्पादन ः हिन्दु समुदायमा दहीको साइत अत्यन्त शुभ हुने मान्यता रहि आएको छ त्यसैले प्राय सबैजसो शुभकार्यमा दही चढाउने चलन रहेको छ । हाम्रो समुदायमा बिबाह उत्सवमा दुलहा पक्षबाट जन्ती जाँदा बैबाहिक नाता सम्बन्ध शुभ रहोस् भनी काठको भुर्कामा दही सँगै हरियो सागको मुठा समेत लिएर जाने परम्परा रहिआएको छ । दहिलाई ठेकीमा राखेर त्यसमा मदानी र खिर्या जोडेर घुमाउदा दही केही क्षणपछि मोही र नौनीमा परिणत हुन्छ । मोही भोक, प्यास मेटाउन पिउने वा रोटी, ढिडोसँग खाने गरिन्छ ।

– घ्यू उत्पादन ः नौनीलाई पकाउदा घ्यू बन्छ । घ्यूमा प्रशस्त मात्रामा प्रोटिन र चिल्लो पदार्थ पाइन्छ । नौनीमा चामल पकाएर तयार पारिएको परिकारलाई बिलौनी भनिन्छ । तेलको सट्टामा नौनी राखेर त्यसमा दाल, तरकारी पकाउने पनि चलन रहेको छ । नौनीमा राखेर पकाइएको तरकारी स्वादिष्ट हुने र स्वास्थ्यको लागि पनि समेत लाभदायक हुने मानिन्छ ।
– आय आर्जन ः भैंसीको दुध उत्पादन गरेर बिक्रीवितरण गर्ने चलन हाम्रो समुदायमा भर्खर मात्र सुरुवात भएको हो । उतिबेला दूध, दही, घ्यू बिक्रीवितरण गर्न नजिकमा बजारको व्यवस्था थिएन । गाउँटोल छिमेकमा सरसापट, पालोपैंचो, अर्मापर्मा गरेर हरेक कार्यमा निशुल्क रूपमा सरसहयोग आदानप्रदान गरेर धेरैजसो दैनिक आवश्यकताहरु पुरा गरिन्थ्यो ।
प्राचिन समयमा उत्पादित घ्यू सुरुवातमा छालाको सिद्या (ठेकी) मा र पछि उताबाट आयात गरिएको टिनको बाकसमा जम्मा गरेर बिक्रीवितरणको लागि हाम्रो नजिकको बजार नेपालगञ्जसम्म आफैले डोकोमा बोकेर वा घोडामा ढुवानी गरेर बेच्न लैजाने र उताबाट नुन किनेर ल्याउने प्रचलन रहेको थियो । कोही कसैले इच्छा अनुसार सुन, लत्ताकपडा, भाँडाकुँडा पनि किनेर ल्याउने गर्दथे । नेपालगञ्ज जान चार दिन र आउन चार दिन कम्तिमा आठ दिनको बाटो हिड्नुपर्ने हुन्थ्यो । रातमा खुल्ला आकाश वा ओढारमा बास बस्नुपर्ने अवस्था थियो । नेपालगञ्जभन्दा यता अहिलेको जस्तो गाउँघरमा नजिकै बजार, यातायातका साधन र अन्य सुविधाहरु आइसकेका थिएनन् ।

-अर्गानिक उत्पादन ः भैंसीको मलमुत्र कृषि उत्पादनको लागि अत्यन्त उपयोगी हुन्छ । पर्यावरणीय दृष्टिकोणले माटो भित्रका सुक्ष्म जीव र बोटबिरुवा र उत्पादित खाद्यवस्तुको गुणस्तरको लागि समेत भैंसीको मलमुत्र लाभदायक हुने कुरा वैज्ञानिक परीक्षणहरुबाट पुष्टि भएको छ । दिर्घ जीवन तथा मानव स्वस्थ्यको हिसाबले अर्गानिक खाद्यवस्तुको उपभोग अत्यन्त स्वास्थ्यवर्धक मानिएको छ । जसको लागि जैविक मलको प्रयोग एकमात्र अचुक उपाय हो जसको व्यवहारिक प्रयोग हाम्रा पुर्खाले सयौं वर्ष पहिलेदेखि गर्दै आएका थिए । भैंसीको गोबरमा माटो मिसाएर घर, आँगन, कोठा, डालो, ठुइलो, नाङ्लो, मान्द्रो आदि पोत्न पनि प्रयोग गरिन्छ । आँगन पोतेर त्यसमा गहुँ, जौ, तोरी, कोदो मिर्ने गरिन्छ त्यसरी तयार गरिएको स्थानलाई खलो भनिन्छ । खलोको बिचमा एउटा काठको मियो गाडिएको हुन्छ र त्यसमा गोरुहरु जोडेर दाँइ हाल्ने गरिन्छ ।

– छाला र मासुको उत्पादन ः भैंसीको राँगा, पाडापाडी वा थारो भैंसी छाला र मासुको उत्पादनको लागि समेत उपयोग गर्ने चलन रहेकोे छ । भैंसीको छालाबाट जुत्ता, झोला, डोको, दमाहा, टेम्की इत्यादि सामाग्रीहरु बनाउन सकिन्छ भने कतिपय स्थानीय समुदायमा मन्दिरमा राँगाको बलि चढाउने, मासु बिक्रीवितरण गर्ने र पकाएर खाने चलन पनि रहेको पाइन्छ ।

– ठेको÷ठेकी ः ठेकी काठबाट बनेको एक भाँडा हो । काठका ठेका भुर्का, गाबु बनाउने विशेषगरी चनारा जाती (एक शिल्प समुदाय) का मानिसहरुको एक विशेष सीप हो । गिठा, कोइराल, लालीगुराँस आदि नरम जातका काठहरुबाट यी भाँडाहरु बनाइन्छ । दूध जमाउने, मोही पार्ने काममा ठेकीको विशेष प्रयोग हुन्छ । गिठा जातको काठबाट बनेको ठेकी सर्वोत्कृष्ट मानिन्छ । किनकि यसमा जमाएको दही राम्रोसँग जम्छ र त्यसको स्वाद र स्वास्थको लागि पनि राम्रो मानिन्छ । गिठाको ठेकी लामो समयसम्म टिकाउ समेत हुने गर्दछ ।

– भुर्का÷भुड्को ः सानो आकारको ठेकीलाई भुर्का वा भुड्को भनिन्छ । यो खासगरी दहि जमाउन, खेतबारी, टोल छिमेकमा दूध, दही, मोही ल्याउन लैजान र बिहेमा जन्ती जाँदा दुलहासँगै दहीसाग लिन यसको विशेष प्रयोग गर्ने चलन रहेको छ ।

-गाबु÷गबुवा ः दुहुनो गाई भैंसीको दुध दुहुन प्रयोग गरिने काठको भाँडोलाई गाबु वा गबुवा भनिन्छ । गाबुको आकार अनुसार यसमा करिब २ देखि ५ लिटरसम्म दुध अटाउछ । मोही बनाउदा उत्पादित नौनी राख्न पनि गाबुको प्रयोग गरिन्छ ।
– उझिन्डो ः ठेका, भुर्का आदिको घाँटीमा बाँधेर झुन्ड्याउन प्रयोग गरिने डोरीलाई उझिन्डो भनिन्छ । उझिन्डो सँगै बिर्को (ढकनी) समेत बाँधिएको हुन्छ ।
– मदानी÷मधानी, नेती र खिर्या ः दहिबाट मोही र नौनी बनाउन प्रयोग गरिने एक नरम जातको काठबाट बनेको परम्परागत घरेलु औजारलाई मदानी वा मधानी भनिन्छ । यसमा प्रयोग गरिने एक विशेष तरिकाले तयार गरिएको डोरीलाई नेती भनिन्छ । खिर्या भनेको पनि एक नरम जातको काठबाट बनेको बुट्टेदार औजार हो । यसको टुप्पोतिर एक प्वाल पारिएको हुन्छ जसमा मदानी छिराएर घुमाउने गरिन्छ ।

मदानीको फेदमा चारतिर चिरा पारेर त्यसमा त्यसमा एक पि¥याखर नामको जंगलमा पाइने घाँसको जरा राखेर डोरीले कसिलो गरेर बाँधिएको हुन्छ । मोही बनाउदा मदानीको टुप्पो खिर्यामा घुसाएर अड्याइएको हुन्छ भने जरा भएको भाग (फेद) ठेकी भित्र दहीमा डुबाइएको हुन्छ बीचमा नेती राखेर घुमाइन्छ । ठेकीमा मदानी, नेती र खिर्या जडान गरेर त्यसलाई मैन खाँबो (थाम) मा अड्याएर दुवै हातले विस्तारै पालैपालो तान्दा मदानी घुम्ने भएकोले केही क्षण पछि दही मथिएर मोही र नौनीमा परिणत हुन्छ ।

– चौँठो ः काठबाट बनेको घ्यु वा तेल राख्न प्रयोग गरिने सानो ठेकीलाई चौँठो भनिन्छ । ठेकीको एक चौथाइ भाग बराबरको परिमाणमा घ्यु वा तेल अटाउने भएकोले यसलाई चौँठो भनिएको हो ।
-सिद्या ः हाम्रा पुर्खाले भैंसीको घ्यु जम्मा गरेर बिक्रिवितरणको लागि नेपालगञ्ज बजारसम्म पु¥याउन जनावरको छालाबाट तयार गरिएको ठेकीलाई सिद्या भनिन्छ । प्राचीनकालमा धातु र काठबाट बनेका अन्य भाँडाकुडाको अभाव हुने भएकोले यस्तो ठेकीमा घ्यु बाहेक अन्य खाद्यवस्तुहरु पनि राख्ने गरिथ्यो ।
२) गाईपालन÷गौपालन
हिन्दु समुदायमा गाईलाई धनधान्यकी देवी लक्ष्मी माताको रूपमा पुजा श्रद्धा गर्ने चलन समेत रहेको छ । गाईलाई नेपालमा राष्ट्रिय जनावरको मान्यता दिइनु पनि गाई र नेपाली हिन्दु समुदाय बिचको प्राचीनकाल देखिको धार्मिक, साँस्कृतिक सम्बन्ध र यसको बहुउपयोगिताको कारणले नै हो भन्न सकिन्छ ।

गाईको दुध, दहि, घ्यु र खिर देवीदेवताहरुलाई चढाएर पुजा गर्ने विशेष प्रचलन रहेको पाइन्छ । गाईको गहुतको हिन्दु समुदायमा विशेष महत्व हुन्छ । देवीदेवताको पुजा, यज्ञ जस्ता हरेक शुभ कार्यको शुभारम्भ गर्दा र बिबाह, जन्म, मृत्यु संस्कारमा समेत गाईको गहुत सेवन गरेर शुद्ध हुने र गोबरले पोतेर चोख्याउने प्रचलन समेत रहेको छ । गाईको दुध, दही, मोही, घ्यू र गहुतको नियमित सेवनबाट मानव स्वास्थ्यका लागि थुप्रै रोगहरुको उपचार समेत हुने जनविश्वास रहि आएको छ । यस सम्बन्धमा थप अध्ययन, अनुसन्धान हुन भने बाँकी नै छ । हिन्दु धर्मावलम्बी डाँगी समुदायमा गाईको दुध र घ्यूको विशेष महत्व रहेकोे छ । डाँगीहरुले कुलदेवीको रूपमा बग्गेश्वरी देवीको पुजा गर्दा देवीलाई चढाइने चामलको पिठोबाट तयार पारिएको विशेष परिकार पुवा गाईको घ्यूमा मात्र भुटेर तयार गरिन्छ । देवीलाई गाईको दुधको धार दिइन्छ भने पुजामा चढाइने खिर पनि गाईको दुधबाट मात्र तयार गरिन्छ । गाईको घ्यूमा रातभरि दियो बालेर पुजा गर्ने प्रचलन समेत रहेको छ ।

गाईको साँढेलाई बहर भनिन्छ । वयस्क बहरलाई स्थानीय प्रविधिको प्रयोगबाट र हाल आधुनिक प्रविधिमा समेत गोरु बनाएर खेतबारीमा जोत्ने चलन रहेको छ । गोरु जोडामा जोत्ने गरिन्छ । गोरुको एक जोडीलाई एकहल भन्ने गरिन्छ । एक हल गोरु जोत्नको लागि ज्वाली, ज्वालीमा हलुर, हलो, हलोमा फराइ र फराइमा फालो जडान गरिएको हुन्छ । हिन्दु समुदायमा गोरुलाई भगवान शिवको बहानको रूपमा पुजा, श्रद्धा गर्ने गरिन्छ । हिन्दुहरुको महान चाड तिहारमा गाई र गोरुको विशेष पुजा गर्ने परम्परा रहेको छ ।

-पञ्चामृत ः गाईको दुध, दही, घ्यु, मह र चिनी आदि पाँच पदार्थहरु मिलाएर तयार पारिएको अति स्वादिष्ट एवं स्वस्थकर खाद्यवस्तुलाई पञ्चामृत भनिन्छ । हिन्दु धर्म सम्प्रदायमा पुजा, यज्ञ, सप्ताह जस्ता धार्मिक अनुष्ठानहरुमा भगवानको प्रसादको रुपमा पञ्चामृत सहित अन्य परिकारहरु आगन्तुक श्रद्धालु भक्तजनहरु सबैलाई भोजन गराउने प्रचलन रहि आएको छ ।

– पञ्चगव्य ः गाईको गउँत, गोबर, दुध, दही र घ्यु आदि पाँच पदार्थहरु मिलाएर तयार गरिएको पवित्र वस्तुलाई पञ्चगव्य भनिन्छ । हिन्दु धर्म सम्प्रदायमा पुजा, यज्ञ जस्ता धार्मिक अनुष्ठानका कार्यहरु गर्दा कर्ताहरुले सर्वप्रथम शरीर स्नान गर्ने र त्यसपछि पञ्चगव्य खाएर पवित्र हुने प्रचलन रहेको छ । हिन्दु समुदायमा प्रचलित सोह्रसंस्कारहरु अन्र्तगत मृत्यु संस्कारमा १२ दिनसम्म जुठो बार्ने र बह्रौं दिनमा नदि वा खोलाको किनारमा गएर शरीर स्नान गर्ने र पञ्चगव्य खाएर शुद्ध हुने परम्परा परापूर्वकाल देखि चली आएको छ ।

– हलो ः हलो खेतबारी जोत्न प्रयोग गरिने परम्परागत साधनहरु मध्ये एक महत्वपूर्ण साधन हो । हलो जोत्ने व्यक्तिलाई हलि भनिन्छ । यो करिब १.२५ मिटर जति लामो एक कडा प्रकारको काठबाट बनाइएको हुन्छ । हलोलाई हातले समाएर अड्याउन वा यताउता तलमाथि चलाउनको लागि अनौ (हतासो) र ज्वालीमा जोड्न करिब २ मिटर लामो काठको डन्डी (डाँरी) जोडिएको हुन्छ डाँरी अड्याउन प्रयोग गरिएको सानो काठको टुक्रालाई तारिको भनिन्छ । हलोमा खासगरी जमिनमा जोत्ने कार्यको लागि फराई जडान गरिएको हुन्छ । फराइमा फलामबाट बनाइएको फाली राखिएको हुन्छ । हलोमा डाँरी र फराइको सन्तुलन मिलाउन प्रयोग गरिएको सानो काठलाई पातो भनिन्छ । यसले आवश्यकता अनुसार डाँरी र फराइलाई ठाडो वा तेर्सो बनाउन सन्तुलन मिलाउने काम गर्दछ ।

– ज्वाली÷जुवा ः गोरु (बल्ल) जोड्न प्रयोग गरिने हलुका काठबाट बनेको साधनलाई ज्वाली भनिन्छ । ज्वाली प्रायःजसो लाखुरी, ल्वाङ्गे जातको रुखको हलुका काठबाट बनेको हुन्छ । ज्वाली करिब १.५ मिटर जति लामो हुन्छ । ज्वालीको दुवैतिर १ फिट जति लामा दुई दुई वटा काठहरु जडान गरिएको हुन्छ, तिनलाई सोइला भनिन्छ । सोइलामा प्रयोग गरिएको डोरीलाई जोतारो भनिन्छ । ज्वाली गोरुको गर्दनमा राखेर सोइलामा जोतारोले बँधिन्छ । ज्वालीको बिचमा राखिएको हलो र ज्वाली जोड्न प्रयोग गरिने डोरीलाई हलुर भनिन्छ ।

– लिर्को ः खेतबारी जोतिसकेपछि डल्ला फोरेर मसिनो बनाउन, सम्याउन र छरिएको बिउ पुर्न प्रयोग गरिने साधनलाई लिर्को भनिन्छ । लिर्को करिब १ मिटर लामो र ५ इन्च जति मोटाइ भएको काठबाट बनाइएको हुन्छ । लिर्कोमा करिब २ मिटर लामो डाँरी जोडिएको हुन्छ । लिर्को घुमाउन सजिलोका लागि करिब १ मिटर लामो डोरी डाँरीमा बाँधिएको हुन्छ ।

– दाँदे (मै) ः खेतमा धानको बीउ छर्न वा रोपो (धानको बिरुवा) रोपाई गर्नको लागि हिलो बनाउन र सम्म्याउन प्रयोग गरिने साधनलाई दाँदे भनिन्छ । दाँदे करिब ०.७५ मिटर लामो बलियो काठबाट बनेको हुन्छ । यसको एकातिर काठका तिखा र बलिया करिब ६ वटा दाँतहरु जोडिएको हुन्छ भने अर्कोतिर २ वटा काठका अनौ जोडिएको हुन्छ । दाँदेलाई हाम्रो स्थानीय भाषामा मै पनि भनिन्छ ।
– मोकारो ः खेतबारीमा जोत्दा वा खलामा दाइँ गर्दा गोरुले घाँसपात वा अन्न नखाओस् भनेर गोरुको मुखमा लगाउने बाँस वा निगालोको चोयाबाट बुनेर तयार गरिएको सामाग्रीलाई मोकारो भनिन्छ ।

३) घोडा पालन व्यवसाय ः
घोडा र मानिसको सम्बन्ध पनि प्राचीनकाल देखि नै रहि आएको छ । घोडालाई राजामहाराजा र सिपाहीहरुले युद्ध लड्न, एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न वा लामो यात्रा गर्न प्रयोग गर्ने गर्दथे । काठमाडौं उपत्यकामा हरेक वर्ष घोडेजात्रा मनाउने चलन रहि आएको छ । नेपालको तराई क्षेत्रमा घोडालाई रथ वा टाँगामा जोडेर पनि मानिस लगायत सामानहरु ओसारपसार गर्ने प्रचलन रहेको छ ।

हाम्रो समुदायमा घोडाको प्रयोग विशेषगरी सामानहरु ढुवानी गर्न गरिन्थ्यो । नेपालगञ्ज हाट बजारसम्म घ्यू ढुवानी गर्न र उताबाट नुन, मट्टीतेल र धातुका भाँडाकुँडा ल्याउन घोडाको प्रयोग गरिन्थ्यो । खेतबाट घरसम्म धान ल्याउन, धान, गहु, मकै किनेर एक गाउँबाट अर्को गाउँसम्म पु¥याउन समेत घोडाको प्रयोग गरिन्थ्यो ।

पछिल्लो समय गाउँबाट सुठो, अदुवा, आलु बजारसम्म पु¥याउन र बजारबाट दाल, चामल, नुन, तेल जस्ता खाद्यवस्तु र कपडा, जुत्ता, चप्पल गाउँमा ल्याउन समेत घोडाको व्यापक प्रयोग गरिएको थियो । हिन्दु समुदायमा बिबाह संस्कारमा समेत दुलहालाई घोडामा चढाएर पञ्चेबाजा सहित जन्ती जाने प्रचलन रहेकोे पाइन्छ । घोडा पालन व्यवसाय एक रोजगारी र आय आर्जनको लागि राम्रो आधार समेत बनेको थियो । जब गाउँमा सडक, गाडी र बजार नजिक नजिक आउन थाल्यो विस्तारै यो व्यवसाय हराउँदै गएको छ । मान्छेहरू घोडा पालन व्यवसाय छोड्दै गएका छन् ।

– चौरास ः घोडाको घाँटीमा लागाइने ससाना घण्टहरुको मालालाई चौरास भनिन्छ । यसले घोडाहरु आए गएको संकेत गर्दछ । वातावरणलाई गुञ्जायमान बनाउन एक प्रकारको सांगीतिक ध्वनी तरङ्गले घोडाको यात्रालाई रमाइलो र आनन्दित बनाउन यो प्रयोग गर्ने गरिन्थ्यो ।
– लगाम ः घोडालाई आफ्नो नियन्त्रणमा राख्न घोडाको टाउको र मुखमा लगाएको सामाग्रीलाई लगाम भनिन्छ । यो फलाम र डोरीबाट भनेको हुन्छ । हाम्रो स्थानीय भाषाका लगामलाई कैजा पनि भन्ने गरिन्छ ।

– जिन र काठी ः घोडाको पिठ्युँमा सवार गर्दा बस्नकोलागि घोडाको शरीरमा कसिने कपडा वा छालाको आसन लाई जिन भनिन्छ भने जिनमुनि कसिने काठको साँचोलाई काठी भनिन्छ । काठी कस्न प्रयोग हुने पेटीलाई पटार भनिन्छ ।
– बखरा ः घोडाको पिठ्युमा सामानको भारी लाद्न कसिने कपडा वा टाटमा पराल राखेर तयार गरिएको बाक्लो गद्दालाई बखरा भनिन्छ ।
– तबेला ः घोडा बाँध्ने ठाउँ वा स्थानलाई तबेला भनिन्छ ।

४) मौरीपालन व्यवसाय ः
मौरीपालन हाम्रो प्राचीन व्यवसाय हो । हाम्रा पुर्खाहरुले खासगरी स्थानीय जाको मौरी परम्परागत तरिकाले पालन गर्ने गरेका थिए । मौरी बस्ने घरलाई घार भनिन्छ । प्राकृतिक प्रक्रियाबाट नै भित्र खोक्रो परेको काठलाई काटछाँट गरि घार निर्माण गरिन्छ । त्यसरी निर्माण गरिएको घारमा स्थानीय जातको मौरी पालन गर्न सकिन्छ । त्यस्तो घारमा मौरी आफै पनि आएर बस्न सक्छ वा कतै समूहबाट छुट्टीएर रुख वा कुनै स्थानमा अलपत्र परेर बसेको मौरीलाई ल्याएर घारमा राख्ने गरिन्छ । मौरी पालनको एकमात्र उद्देश्य मह उत्पादन हो ।

परम्परागत प्रविधिबाट उत्पादित मह स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक मानिन्छ । महमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । झाडाबान्ता, कुपोषण लगायतका स्वास्थ्य समस्याहरु भएको अवस्थामा औषधिको रूपमा महको सेवन गरेर उपचार गर्न सकिन्छ । महले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने काम पनि गर्दछ ।

हाम्रो स्थानीय परम्परा अनुसार बिबाह संस्कारमा केटा पक्षबाट केटी पक्षलाई मौरीको मह र भुटेको चामलको पिठोबाट तयार गरिएको सगुन वा रैबार अनिवार्य बुझाउनु पर्ने परम्परा हालसम्म पनि चलि आएको छ । प्राचीन समयमा व्यवसायिक रूपमा भन्दा पनि घरेलु प्रयोजनको लागि चार पाँच घार स्थानीय मौरी प्राय सबैले घरघरमा पालन गर्ने चलन रहेको थियो । हाल उन्नत जातको विकासी मौरीको बढ्दो व्यवसायीकरण र बजारीकरण, फलफूल तथा तरकारीमा विषादीको प्रयोग बढ्दै गएपछि स्थानीय जातको मौरी विस्तारै गाउँबाट लोप हुदै गएको छ ।

-भेडाबाख्रापालन व्यवसाय ःभेडाबाख्रापालन व्यवसाय हाम्रो प्राचीन व्यवसाय हो । खासगरी भेडाबाख्रा मासु, छाला र ऊन उत्पादनका लागि पाल्ने गरिन्छ । मष्ट परम्परामा देवीदेवतालाई भेडाको साँढो र बोका बलि चढाउने प्रचलन पनि प्राचीनकाल देखि नै चलिआएको पाइन्छ । पछिल्लो समयमा गाउँले जनजीवनमा आर्थिक आयआर्जनको लागि समेत यो व्यवसाय भरपर्दो व्यवसाय बन्दै गएको देखिन्छ ।

– कुखुरापालन व्यवसाय ः कुखुरापालन पनि अन्य घरपालुवा जनावरहरु जस्तै हाम्रो प्राचीन व्यवसाय हो । सुत्केरी आमाको लागि कुखुराको झोलिलो मासु र अन्डा अत्यन्त लाभदायक मानिन्छ । कुखुराको भाले हाम्रो प्राचीन समय सूचक पनि हो । गाउँले जनजीवनमा किसान, गृहिणीहरुका लागि बिहानको समय सूचकको भरपर्दो माध्यमको रुपमा पनि कुखुरा पालन गर्ने गरिन्थ्यो । प्रत्येक घरमा कम्तिमा एउटा बास्ने भाले हुनुपर्ने र त्यसलाई घरको शुभलक्षण मान्ने परम्परा गाउँघरमा हालसम्म पनि प्रचलित रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया