लय समाउँदै व्यवसायीक बन्यो हुँड्के नाच


कर्णालीमा हराउदै गएको हुड्के नाच फेरी चर्चामा आएको छ । विशेष गरी माओबादी जनयुद्ध (२०५२) पछि हराउँदै गएको यो नाच फेरी एकाएक चर्चामा आएको हो । करिब दुई दशकबढि समय ओझेलमा रहेको हुड्के नाचपछिल्लो समय फेरी पुरानै लयमा फर्किएको छ । माथिल्लो कर्णालीमा विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहमा बजाइने पञ्चै बाजासँगै हुड्के नाच हराउँदै गएको थियो ।

तर पछिल्ला केहि बर्ष यता माथिल्लो कर्णालीसँगै सुर्खेतको वीरेन्द्रनगरमा समेत हुड्के नाचले चर्चा पाएको छ । वीरेन्द्रनगरमा हुने राजनैतिक भेलादेखि सरकारी तथा विभिन्न संघ संस्था, विद्यालय र खेलकुदका कार्यक्रमा समेत हुड्के नाच अनिवार्य जस्तै बनेको छ ।

हिजोआज यो नाच वीरेन्द्रनगरमा आयोजना हुने हरेक सार्वजनिक कार्यक्रममा सजिलै देख्न पाइन्छ । दर्शकहरुले समेत निकै रुचाउने हुड्के नाच प्रर्दशनको माग पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय गाउँघरमा हुने शुभकार्यमा पनि पञ्चैबाजासँगै हुड्के नाच प्रर्दशनको माग बढ्दो अवस्थामा छ ।

हुड्के नाचका लागि जुम्लाका तातोपानी, रारा, सिंजाको जाँच र गोरा गाउँ निकै प्रख्यात ठाउँहरू हुन् । भने कर्णालीका कालीकोट र मुगुमा पनि हुड्के नाच निकै प्रख्यात मानिन्छ । हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चस्मा, खुट्टामा चाम लगाइन्छ। हातमा बाख्राको छालाले बनाइएको हुड्को समातेर नाचिन्छ । भने गाउँदा हुड्को कानमा लगाएर ताल मिलाएर गाउने गरिन्छ ।

हुड्के नाच्न कम्तीमा सात जना चाहिन्छ। जसमा गाउन सिपालु दुई जना उठेर नाच्ने, गीत गाउने गर्नुपर्छ भने एक जना मादल बजाउने, कम्तीमा पनि चार जना भाका छोप्ने गरेर सात जना हुनैपर्छ । गाउन तथा नाच्ने एक जना मात्रै कमी भएमा हुड्के नाच प्रभावित हुन्छ । तर वीरेन्द्रनगरमा प्रदर्शन हुने हुड्के नाच भने सिधै संगितको धुनमा नाच्ने गरिन्छ ।
विगत एक बर्ष यता वीरेन्द्रनगरमा निकै चर्चा बटुल्न सफल हुड्के नाचप्रति दर्शकको आकर्षण पनि बढ्दो छ । अन्य नाचको तुलनामा वीरेन्द्रनगरका कुनै पनि कार्यक्रममा हुड्के नाच प्रस्तुत हुदाँ दर्शकहरुको ध्यान नाचमै मात्र केन्द्रित भएको देखिन्छ ।

हुड्के नाच संरक्षणमा भूमिका
वीरेन्द्रनगरमा हुड्के नाचले चर्चा बटुल्नुकोपछि गायक तथा संगितकार विजयराज सेजुवालको मुख्य भुमिका छ । उनकै पहलमा कालिकोटका बाल कलाकार रामचन्द्र र चन्द्र परियारले २०७२ सालमा पहिलो पटक सुर्खेतमा हुड्के नाच प्रदर्शन गरेका थिए ।

‘पहिले पहिले प्रचार प्रसारका लागि हुड्के नाच प्रदर्शन गर्न कार्यक्रम आयोजकसँग निशुल्क समय माग्नुपथ्र्यो’ उनले भने, ‘तर अहिले हाम्रो समय अनुसार आयोजकले शुल्क तिरेर हुड्के नाच देखाइदिन माग गर्छन् ।’ हुड्के लगायतका कला संस्कृति संरक्षण गर्न गायक सेजुवालको योजना अनुसार सुर्खेतमा कला संस्कृति संरक्षण प्रतिष्ठान समेत स्थापना भएको छ ।

हाल सोही प्रतिष्ठान मार्फत हुड्के नाच संरक्षण तथा प्रदर्शनका गतिविधि भइरहेका छन् ।प्रतिष्ठानको कार्यक्रम संयोजक समेत रहेका गायक सेजुवाल कर्णालीमा हुड्के नाच संरक्षणको रुपमा पनि चिनिन थालेका छन् । राज्यले गर्नुपर्ने काम गायक सेजुवालको टिमले गरिरहेको छ ।

कला संस्कृति संरक्षण प्रतिष्ठान मार्फत सबै नृत्य सिकाइने गरिएपनि अन्य नृत्यको तुलनामा हुड्के नाचले छुट्टै ब्राण्ड लिएको छ । प्रतिष्ठानले भैपरी आउने कार्यक्रमा हुड्के नाचको टिमलाई निशुल्क पनि पठाउने गर्छ । तर अन्य अधिकांश कार्यक्रममा भने आवश्यक रकम लिएर मात्रै हुड्के नाच प्रदर्शन गरिन्छ ।

प्रतिष्ठानमा हाल ९० जनाले नृत्य सिकिरहेका छन् । जसमा ३५ जनाले हुड्के नाच राम्रोसँग सिकिसकेका छन् । हाल हुड्के नाचको टिममा रहेर पुर्णिमा सुनार, सारदा खनाल, प्रीति परियार, कल्पना सिंह, सरीता सिंह, अस्मिता बुढा र अस्मिता अधिकारी लगाएत कलाकारले उत्कृष्ट नाच देखाइरहेका छन् ।

शुल्क लिएको कार्यक्रमबाट प्राप्त रकमको आधारमा प्रतिष्ठानले हुड्के नाच्ने प्रतिव्यक्तिलाई पाँच सय रुपैंयादेखि एक हजार चार सय रुपैंयासम्म उपलब्ध गराउँछ । हुड्के नाच ओझेलमा परेको देखेपछि हुड्के लगायतका कला संस्कृति संरक्षण गर्न २०५८ सालदेखि संगितमा लागेको गायक सेजुवाल बताउँछन् ।

उनले ‘परेवा जोडी’, ‘किन लाग्यो दशा’, ‘सिन्दुर पुछियो’ लगायतका देउडा एल्वम तथा ‘खोली झ¥यो गाई’, ‘खुसीमाथी खुसी छावस’ लगायतका झण्डै एक सय वटा लोक तथा देउडा गितमा शब्द, संगित र स्वर दिएका छन् । उनकी श्रीमति पदमपुरा सेजुवाल समेत गायिका हुन् ।

हुड्के नाच सबै जाती र वर्गको रोजाई
हुड्के नाच कर्णालीमा मात्रै नाचिन्छ । जन्म, विवाहजस्ता शुभकार्यमा हुड्के नाचिन्छ। परम्परा, संस्कृतिसँगै कर्णालीको हुड्के नाच आम्दानीको एउटा स्रोत पनि हो । हुड्के जान्नेले निमन्त्रणा आउँदा सीधै ज्याला निर्धारण गर्छन् । कम्तीमा एक दिनमा खाना खाएर एक हजारदेखि पाँच हजारसम्म लिने गरेको तिला गाउँपालिका–३ जुम्लाका हस्त दमाईको भनाइ छ । उनी करिब ३० बर्ष यता हुड्के नाच्दै आएका छन् । उनका अनुसार कुनै विशेष अवसरमा १०÷१५ हजार पनि आम्दानी हुने गरेको छ। यो उनको पुख्र्यौली सीपमा आधारित पेसा पनि हो ।

विशेष गरी कर्णालीमा दमाइ जातीले नाच्ने गरेको हुड्के नाच हाल सबै जाती र वर्गको रोजाइमा परेको छ । हुड्के नाच जस्तो कला संस्कृतिले जातीय र बर्गिय भेदभाव अन्त्य हुदै गएको पनि संकेत गर्छ । बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत संगीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा सँगै हुड्के नाच हराउन थालेको थियो ।

केहि बर्ष हराएको हुड्के नाच र पञ्चैबाजाको माग कर्णालीमा हुने वैवाहिक समारोहमा फेरी अनिवार्यजस्तै बनेको छ । कर्णालीको मौलिकता झल्काउने हुड्के र पञ्चैबाचा बजाउने सीप पछिल्लो पुस्तामा हस्तान्तरण नहुनु र नयाँ पुस्ताले समेत बेवास्ता गरेपछि यसको संरक्षणमा चुनौती देखिएको थियो ।

पञ्चैबाजामा पर्ने नरसिंगा, दमाहा, सनहीलगायतका बाजाको प्रयोगले हुड्के नाच्ने गरिन्छ। यतिबेला गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । गाउँघरका बूढापाका र पर्यटक हुड्के नाच र पञ्चैबाजाप्रति खुबै आकर्षित छन् । तर सरकारी निकायबाट यसको प्रवद्र्धन हुन सकेको छैन ।

हुड्के नाच, ढाल नाच, मागल, चुट्किलाजस्ता जातीय तथा क्षेत्रीय पहिचान बोकेका कर्णालीका मौलिक कला संस्कृतिको संरक्षण नहुँदा अस्तित्व घट्दै गएको छ । यस्ता चलनचल्तीमा आएका कलासंस्कृति जगेर्ना गर्न स्थानीय सरकारले पनि लगानी गर्नसके संस्कृति पर्यटनमा प्रवद्र्धन हुने संस्कृतिविद रमानन्द आचार्य बताउछन् ।

जुम्लाको तातोपानी गाउँपालिकाले गाउँसभामार्फत कार्यविधि नै बनाएर पञ्चेबाजासँगै हुड्के संरक्षणका गतिविधि गरिरहेको छ । हुड्के तथा पञ्चेबाजाको टोलीलाई आवश्यक पर्ने पहिरन र वार्षिक रकम उलब्ध गराउनेकार्यविधिमा उल्लेख छ । यसले परम्परागत संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा जोड पुग्नेछ । भने संस्कृतिको उत्थान हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया