भतिजीमाथि पटकपटक बलात्कार, गर्भ बसेपछि ढुंगा हानेर हत्या


आफ्नै भतिजीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुचौँडी नगरपालिकाका ४ का ३० वर्षीय युवक रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

१७ वर्षीया बालिकालाई हाडनाता करणी गरी हत्या गरेको आरोपमा उनलाई वैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोजकुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विवाहित बालिका चैत्र २६ गते हराएकी थिइन् । ती बालिकाले १ वर्ष अगाडि भागेर विहे गरेकी बताइएको छ ।

बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । बालिकाको शव पुचौँडी नगरपालिका–४ स्थित रातोमाटी जंगलमा चैत्र २८ गते फेला परेको थियो ।

मृतक बालिकाको शव परीक्षण गर्दा पेटमा अन्दाजी १८ हप्ताको गर्भ रहेको खुलेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले बालिकालाई ललाइफकाइ र धम्की दिएर पटकपटक करणी गर्दै आएको र गर्भ रहेपछि गर्भ फाल्नसमेत समय पुगिसकेकाले बालिकालाई जंगलमा बोलाई ढुंगा प्रहार गरी हत्या गरेको बुझिएको छ ।

मृतक बालिकाका श्रीमान २०८० साल साउन महिनादेखि भारतमा रोजगारीका लागि गएको बुझिएको छ । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया