उपचारका क्रममा ज्यान गुमाएकी भिमा बलामीको शव अझै अस्पतालमा


दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको मंगलवार ६ दिन बितेको छ । हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो ।

तल्लो पेट दुख्ने र रगत बग्ने समस्या भएपछि नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले अस्पताल पु¥याएका थिए । तर उपचारका क्रममा ज्यान गएपछि परिवार र आफन्तले अस्पतालको टोलीले अप्रेसनमा लापर्बाही गरेको आरोप लगाउँदै आएका छन् ।

भिमाको शव अझै अस्पतालमै रहेको छ । मृतकको आठ महिने छोरी बिवाङ्गसीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापर्बाही गर्नेलाई कारबाहीको माग राखेर पीडित पक्षले आन्दोलन गर्दै आएका छन् । आफ्ना मागमा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न पीडित पक्षले अस्वीकार गर्दै आएका छन् ।

पीडित पक्षले मृतकको गाउँ आठबीस नगरपालिका–५ पिपलकोटमा हिजो र अस्ति कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । पीडित परिवार, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का तथा प्रशासनको टोलीबीच छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

तपाईको प्रतिक्रिया