राहत वितरणका लागि प्रदेश सरकारद्वारा रकम निकासा

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनःस्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद्जन्य घटनाका पीडितलाई चुस्त रूपमा राहत वितरण गर्दै आएको छ ।
प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । ‘एक त विपद् आउनै भएन । आएको खण्डमा त्यसबाट हुने क्षतिलाई कम गर्नेगरी प्रतिकार्यका योजना कार्यान्वयनमा जोड दिन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारले दिने राहत तथा पुनःस्थापनाको रकम सबै प्रक्रिया पूरा भएर आएको खण्डमा तत्काल निकासा गरिन्छ ।’
साउन, भदौ र असोज महिनाको १३ गते सम्मको विवरणअनुसार राहततर्फ ३४ लाख ७५ हजार र पुनःस्थापनातर्फ पाँच लाख २५ हजार रुपैयाँगरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ । राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा तीन लाख ८० हजार, बर्दिया जिल्लामा दुई लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरुप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यस्तै पुनर्निर्माणका लागि प्युठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । बाढी, पहिरो, आगलागी, चट्याङ् लगायतमा विपद्मा परेकालाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनःस्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको हो । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि पाँच करोड २६ लाख ९६ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
राहततर्फ दुई करोड ७१ लाख ५१ हजार रुपैयाँ र पुनःस्थापनातर्फ दुई करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको छ । राहतअन्तर्गत दाङ जिल्लामा २५ लाख ३२ हजार, अर्घाखाँचीमा २५ लाख ३१ हजार, रोल्पामा २० लाख १० हजार, पाल्पामा १२ लाख ७५ हजार, रुपन्देहीमा १० लाख ५ हजार राहत रकम वितरण गरिएको छ । यस्तै कपिलवस्तुमा आठ लाख ३० हजार, गुल्मीमा एक लाख ८० हजार, प्युठानमा चार लाख ८० हजार, बर्दियामा ६ लाख ५० हजार, बाँकेमा दुई लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
यस्तै पुनःस्थापनाका लागि दुई करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । पुनःस्थापनाका लागि प्युठानमा एक करोड ४३ लाख ५५ हजार, गुल्मी जिल्लामा ५१ लाख ७५ हजार, रोल्पा जिल्लामा ३२ लाख २५ हजार, पाल्पामा २५ लाख २० हजार र दाङ जिल्लामा दुई लाख ७० हजार रुपैयाँ पुनःस्थापनाका लागि खर्च भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन एक गतेदेखि असोज १३ गतेसम्म प्रदेशमा विपद्का चार सय ६ घटना घटेका छन् ।
जसमा परेर ९५ जनाको मृत्यु भएको छ भने दुई सय ७ जना घाइते र १० जना वेपत्ता भएको विवरण छ । हालसम्मको विपद्को घटनाले गर्दा पाँच करोड ११ लाख ९५ हजार पाँच सय रुपैयाँ क्षति भएको छ । व्यक्तिगत घरमा पूर्ण क्षती ७५, आंशिक घरमा क्षतिका दुई सय ९१ छन् । यो अवधिमा बाढीका ३०, पानीमा डुबेर ६०, अधिक वर्षा ६२, आगलागीका ५०, विषाक्त खाद्य सेवन १९, पहिरो २९, सर्पदंश ७८, जनावर आक्रमण १५ वटा घटना घटेका छन् ।
यस्तै चट्याङका २२, तातो हावा लहरको एक, डुबानका ९, हावाहुरी एक र अन्य ३० गरी चार सय ६ वटा विपदका घटना घटिसकेको छ । बाढीमा परेर १०, पानीमा डुबेर ५१, आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । यस्तै विषाक्त खाद्य सेवनबाट दुई, पहिरोमा परेर आठ, सर्पदंशबाट नौं, जनावर आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । चट्याङमा परेर ६ जना, तातो हावा लहरबाट एक जना, अन्यबाट पाँच जनाको मृत्यु भएको छ ।






