खस जातिको प्राचीन इतिहाँस

कश वा कक्साइट खस जातिका प्राचीन नाम हुन् । सन् १७०० ई.पू. देखि ११५५ सम्म कश (खस) हरुले बेविलोनियाको कक्साइट साम्राज्यमा विजय प्राप्त गरेर शासन सुरु गरे भन्ने ऐतिहाँसिक तथ्यहरु पाइन्छन् । यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ । पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रुपमा परिचित छ । खासस्थान, बडाखसान, हिन्दकुस, काशगर, काँशी, कश्मिर, खसाला, खसमण्डल, खसान आदि भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्हहरु दर्शाउछन् ।

इतिहाँसमा एउटा प्रभावशाली जातिका रुपमा रहेको खस जातिको बारेमा आधुनिक इतिहाँसका ग्रन्थहरुमा खासै उल्लेख भएको पाइँदैन । हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो “गढवालको उत्तर प्रदेशको निवासी नेपाल आदिमा रहनेवाला ब्राम्य क्षेत्री जाति” भनेर उल्लेख गरिएको पाइन्छ । प्रज्ञा नेपाली बृहत् शब्दकोशको परिभाषा अनुसार खस भन्नाले “रामायण, महाभारतकालदेखि प्रशिद्ध तथा सातौं, आठौं शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रशिद्ध एक प्राचीन जाति खसानको बासिन्दा” भनिएको छ ।

यसबाट कुमाउँ गढवाल र नेपालको विशेषतः पहाडी पर्वतहरुको काखमा रहेको भूभाग खस जातिको निवासभूमि वा मातृभूमि हो भन्ने प्रष्ट हुन्छ । यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला बस्तीहरुमा अन्य जातिहरुसँग घुलमिल भई बाक्लै बस्तीमा रहेका बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित जातिहरु यहाँका रैथाने जाति हुन् भन्ने कुराको पुष्टि गर्दछ । बाह्रौं शताब्दीको प्रारम्भतिर नागराजले सिंजालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले करिब पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब तीनसय वर्ष शासन गरेको तथ्य इतिहाँस बोल्छ ।

खस आर्य भन्नाले बाहुन, क्षेत्री, ठकुरी र सन्यासीलाई जनाउँछ । दशवटा थर हुने भएकोले सन्यासीलाई दशनामी पनि भनिन्छ । खसहरु आर्य भएपनि वैदिक आर्य होइनन् । वैदिक आर्य भनेको गंगा नदिको किनारबाट सभ्यता निर्माण गरी हिन्दु धर्मको संस्कार अवलम्बन गर्दै विकसित भएको जाति हो । खसहरुले कर्णाली आसपासको भूभाग र पश्चिम तिब्बती भूमिमा आजभन्दा कम्तिमा पाँच हजार बर्ष पहिलेदेखि बसोबास गर्न थालेको अनुमान गरिएको छ । बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म कायम सिंजा केन्द्रित खस साम्राज्यबाट खस सभ्यताको विकास भयो । त्यसैले सिंजा उपत्यका नै प्राचीन खस सभ्यताको उद्गमस्थल हो भन्न सकिन्छ । यसअर्थमा कर्णाली प्रदेश र सिंजा उपत्यकालाई आजको नेपाली भाषा, कला, साहित्य, ज्ञान, विज्ञान, जीवन दर्शन, मूल्य, मान्यता र संस्कार संस्कृतिको मुहान पनि मान्न सकिन्छ ।

सारमा खस सभ्यता प्रकृति पुजक सभ्यता हो । यो सनातन हिन्दु, बौद्ध र मस्टो परम्परामा आधारित विविधतायुक्त सभ्यता पनि हो जुन पृथ्वीनारायण शाहको विशाल नेपाल एकिकरण अभियान सँगसँगै गोरखा हँुदै काठमाण्डौं उपत्यकाबाट थप विकसित र विस्तारित भएको पाइन्छ ।

“साँझमा कोठाको फोहोर बढारेर बाहिर फाल्नु हुँदैन” कतिपय आधुनिक विचार राख्ने मानिसहरु यस्तो कुरालाई रुढीबादी विचार समेत भन्ने गर्दछन् । तर वास्तवमा हाम्रा पुर्खाहरु कतिसम्म प्रकृतिप्रेमी थिए भन्ने कुराको प्रमाण हो यो परम्परा । भान्साकोठा, भण्डारकोठा सफा गर्दा आउने फोहोरमा दाल, चामलका कनिकाहरु, गेडागुडी, गहुँ, मकै, रोटीका टुक्राहरु समेत फोहोरमा मिसिएका हुन्छन् । ती अन्नका कनिकाहरु रातमा चराचुरुङ्गीहरुले खान पाउँदैनन् तर बिहानको समयमा उनीहरू खाना खोज्दै घर वरपर आउने भएकोले उनीहरूलाई खानाको समस्या भएर भोकै हुनु नपरोस् भनेर त्यस्तो मान्यतालाई सामाजिक परम्पराको रूपमा प्रचलनमा ल्याइएको थियो । त्यतिबेलाका शासकहरुले बुद्धिजीवीहरुको सल्लाहमा कानुनी आदेशको रूपमा यो परम्परा चलाएका पनि हुनसक्छन् ।

धार्मिक परम्पराहरुमा पुजा गर्दा देवताको नाममा प्रसादी चढाउने, पाते लगाउने परम्परा पनि प्रकृतिप्रेमको अर्को प्रमाण हो । परापुर्वकालमा अहिलेको जस्तो शहर, बजार, गाउँघर र मन्दिरहरु थिएनन् मानिसहरू जंगल र ओढारहरुमा बसोबास गर्ने गर्दथे । कृषि र पशुपालन उनीहरूको मुख्य पेशा थियो । प्रकृति पुजक धार्मिक परम्परा प्रचलित थियो । रुख, ढुङ्गा, ओढार, देउराली, टाकुराहरुमा देवीदेवताका थान बनाएर औंसी, पूर्णिमा, न्वागी, संक्रान्तिजस्ता विभिन्न अवसरमा नियमित पुजा गर्ने गरिन्थ्यो ।

ती देवताका थानहरुमा पुजा गर्दा खानेकुराहरु रुखका पातमा धेरैवटा भाग लगाएर देवीदेवतालाई चढाउने गरिन्थ्यो । ती खानेकुरा देवीदेवताले नखाई बनमा बस्ने बन्यजन्तु, चराचुरुङ्गीहरु र ससाना किराफट्याङ्ग्राहरुले खाने गर्दथे । जसबाट उनीहरूलाई खानाको समस्याले गर्दा भोकभोकै मर्नुपर्ने समस्या हुदैन्थ्यो । हालसम्म पनि गाउँघरमा यो परम्परा कायम रहेको देखिन्छ ।

शहर बजारमा बस्ने धार्मिक मानिसहरूले दैनिक बिहान चराचुरुङ्गी र जीव जनावरहरुलाई दाना खुवाउने गरेको देखिन्छ । हाम्रा पुर्खाहरुले शहरबजारमा मन्दिरहरु निर्माण गर्दा सार्वजनिक गुठीको नाममा खुल्ला जमिन र बनजंगलको संरक्षण गरेर जीव जनावर र चराचुरुङ्गीहरुको लागि समेत निवासस्थल सुरक्षित राखेको देखिन्छ ।

खेतीबारीमा पूर्ण रूपमा अर्गानिक मल र प्रविधिको प्रयोग गरिन्थ्यो । खेतीपाती गर्न गोबर र पौष्टिक दुध उत्पादनको लागि घरघरमा गाईभैंसी, चौरी र खेतबारीमा जोत्न गोरू पालन गर्ने गरिन्थ्यो । बोटबिरुवाहरुको प्राकृतिक परागसेचन प्रक्रियाको लागि घरघरमा मौरीपालन गरिन्थ्यो । मुसा मार्न बिरालो, चोरी, डकैती र स्याल, बाँदरहरुबाट घरको सुरक्षा गर्न कुकुर, यात्रा गर्न र माल सामान ढुवानी गर्न घोडा पालन गरिन्थ्यो, छाला, उन र मासुको लागि भेडाबाख्रा र च्याङ्ग्रा, अन्डा र मासुको लागि हाँस, कुखुरा, घरपरिवार, समाज र देशमा शान्तिको सन्देश फैलाउन शान्तिको प्रतिक परेवाको पालन गर्ने गरिन्थ्यो । घरहरू माटो, ढुङ्गा, काठबाट निर्माण गरिन्थ्यो । पानीको मुहानमा कुवा र ढुङ्गेधाराहरु निर्माण गरिएको हुन्थ्यो । जीव जनावर, चराचुरुङ्गी र बोटबिरुवाको लागि पानीको संरक्षण गर्न गाउँटोलमा पोखरीहरु निर्माण गरिएको हुन्थ्यो । पोखरीमा बर्षादको पानी जम्मा हुन्थ्यो । धान कुट्ने ढिकी, ओखल, अन्न पिस्ने जाँतो र पानीघट्ट, उखु र तोरी पेल्ने कोल, खोलामा काठे पुल सबै प्रकृतिमैत्री प्रविधिबाट निर्माण गरिएको हुन्थ्यो ।

लुगा, कपडा खाद्यान्न र भाँडाकुँडाहरुमा आत्मनिर्भरता थियो । अल्लो, गाँजा र भेडाको उनबाट कपडाहरु बुनेर लगाउने गरिन्थ्यो । जनावरको छालाबाट जुत्ता र बाजागाजा बनाउने आफ्नै प्रविधि थियो । माटो, काठ र धातुका भाँडाकुँडा र कृषि औजारहरु बनाउने गरिन्थ्यो । ज्ञान, सीप र शिक्षाको विकासमा आफ्नै मौलिकता थियो । बुढापाकाहरुबाट ज्ञान, सीप, अर्ती, उपदेश, उखान टुक्का र धार्मिक मूल्य मान्यताहरु श्रुति माध्यमबाट पुस्तान्तरण हँुदै आएको थियो । काम (श्रम) गरेर मात्रै खान पाइन्छ भन्ने जनविश्वास रहि आएको थियो ।पाप वा पुण्यकर्ममा गहिरो विश्वास रहेको थियो । छुवाछुत र भेदभाव जस्ता अमानवीय प्रथाहरुबाट खस समाज सुरक्षित थियो ।

वायुमण्डलमा अक्सिजनको मात्रा घट्न नदिन तुलसी र पिपललाई भगवानको रूपमा पुजा गर्ने प्रचलन थियो । घरघरमा तुलसी र बाटोघाटोमा पिपल रोपेर त्यसलाई संरक्षण गर्न तुलसीको मठ र पिपलको चौतारो बनाएर त्यसलाई श्रद्धापूर्वक पुजा गरिन्थ्यो । आफ्नै मौलिक चाडपर्व, संस्कार, संस्कृतिहरु प्रचलित थिए । संस्कार, संस्कृतिहरु प्रकृतिमैत्री र मानव समाजमैत्री थिए ।

खस र आर्य बिचको सम्बन्ध
पश्चिम इरानबाट दक्षिण एसियातर्फ आउँदा खस र आर्य खैबर भञ्ज्याङसम्म एउटै मार्गमा अएका थिए । त्यसपछि खसहरु पहाडमा रमाए जहाँ भेडाबाख्रा पाल्न सहज हुन्थ्यो भने आर्यहरु त्यसभन्दा तलको दक्षिण तर्फको समथर भूभागतर्फ लागे जहाँ गाईपालन गर्न सहज हुन्थ्यो । वेदका कतिपय स्थानमा भूभागको वर्णन गर्दा आजको उत्तर इरानको भूभागको नाम पर्न गएबाट आर्यहरुले इरान र इराकबाट आफ्नो धार्मिक ग्रन्थ बेदको विकास गरेको देखिन्छ । यस बखत उनीहरुलाई हिमालयको काखमा रहेका खस र किराँत जातिका विषयमा जानकारी थिएन । त्यसैले हिन्दु धार्मिक ग्रन्थ वेदमा खसको उल्लेख पाईदैन । तर पुरानमा खसको बारेमा चर्चा गरिएको पाइन्छ ।

आर्यहरु उत्तर भारतको मैदानी भूभागमा लामो समयसम्म स्थायी बसोबास गर्न पुगे । यहि क्रममा उनीहरुको मूल्य, मान्यता, धर्म, संस्कार, साहित्य, जीवन दर्शन, ज्ञान, विज्ञानमा ठुलो प्रगति गरे । वैदिक कालमा आर्यहरु धर्मको नाममा यज्ञ गर्थे । पछिल्लो समयमा तिनको रितिथितिलाई हिन्दु भन्न थालियो । उत्तर भारतमा आउनु अघि आर्यहरुले यस क्षेत्रका मुलबासी समुदायलाई आफ्नो वंशमा राख्न चार वर्ण व्यवस्थाको विकास गरे र गाईको वधलाई निषेध गरे । शताब्दीदेखि मुगल आक्रमणको समयमा आर्य बाहुन ठुलो संकटमा परे । आफ्नो जातिय अस्तित्व र धर्मरक्षाको लागि उनीहरु खसान क्षेत्रमा प्रवेश गर्न पुगे । पुरोहित व्यवस्थाले जीवनयापन गर्नुपर्ने भएकाले उनीहरु समूहगत नभइ छरिएर बस्न पुगे । समूहगतमा नआएकाले ठुलो सङ्ख्यामा भएपनि आर्यहरुले आफ्नो भाषा जोगाउन सकेनन् । अत्यन्त परिष्कृत धार्मिक साहित्य च्यापेर निरिह शरणार्थीका रुपमा आएका आर्यले त्यहि साहित्यका बलमा खसको पुरोहित र राजगुरुको स्थान बनाउन सफल भए ।

खसहरुको वीरता, पराक्रम र ऐतिहाँसिक बिरासतलाई स्वीकार गर्न नसकेर कतिपय सम्प्रदायबाट खसलाई डाँका, संस्कार विहिन, भावयोनिबाट जन्मेका पापी जाति जस्ता अनेक लान्छना लगाएर प्रजातिको अर्थमा हेय र निन्दाका साथ व्याख्या गर्ने प्रयत्नहरु पनि गरिएको थियो । यस्तो लाल्छनाकै कारण धेरै खसहरु सामाजिक हिनताका कारण वर्ण व्यवस्थामा प्रवेश गर्न बाध्य भए र अस्तित्व रक्षाको लागि खसहरु अझ परिष्कृत भएर क्षेत्री, ठकुरी बन्न पुगे । संस्कृतिकरणको चपेटामा परेर हजारौं वर्षको गौरवशाली जातिय इतिहाँसबाट पछि हटेर खसहरुमा आपैmप्रति हिनता वा तुच्छताको भावना बन्न थल्यो । जसको कारण कुँवरबाट राणा बनेका खस जङ्गबहादुरले आफुलाई ठकुरी भएको राजाबाट लालमोहर लिएका थिए । तब उप्रान्त क्षेत्री भैसकेका खसलाई खस भन्नु दण्डनिय अपराध हुन्छ भन्ने आदेश जारी गरे । क्षेत्री भैसकेका खसलाई खस भन्दा गालीको रुपमा लिने प्रचलन देखिन थाल्यो । हालसम्म पनि खसलाई अन्य समुदायका मानिसहरुले गाली गर्दा ‘खस्या’ भन्ने गरेको पाइन्छ ।

खसहरुले विकास गरेको खस (नेपाली) भाषा आर्यहरुले आत्मसाथ गरे भने आर्यहरुले विकास गरेको हिन्दु धर्म खसहरुले आत्मसाथ गरे । आर्यहरु वैदिक हिन्दु धर्मावलम्बी हुन् भने परम्परागत रुपमा खसहरु मष्टोपूजक प्राकृत धर्मका अनुयायी हुन् । मष्टो परम्परालाई कायम राख्दै खसहरुले बुद्ध र त्यसपछि हिन्दु धर्म स्वीकार गरेको पाइन्छ ।

कर्णाली क्षेत्रमा खसहरुले अहिलेसम्म पनि मष्टो देवतालाई आफ्नो कुल देवताको रुपमा पुजा गर्ने प्रचलन कायम राखेका छन् ।खस र आर्यको भेद छुट्टिने सबभन्दा भरपर्दो आधार मस्ट देवता हुन्, जो जसले मस्टलाई आफ्नो कुलदेवता मान्छन् उनीहरु नेपालका रैथाने खसहरु हुन् भने जसले मस्टलाई कुलदेवता मान्दैनन् तिनिहरु खस होइनन् आप्रवासी आर्यहरु हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् संस्कृतिविद् डा. जगमान गुरुङको भनाई अनुसार “यहाँका रैथाने बाहुनहरुको कुल देवता मष्ट हुन्छ, पन्ध्रौं शताब्दीमा लखेटिएर भागेर आएकाहरुको कुल देवता मष्ट हुँदैन, सम्पूर्ण खसहरुको कुल देवता मष्ट हुन्छ तर हुकुम राणाकाल र त्योभन्दा अगाडि हुकुमप्रमाङ्गीबाट क्षेत्री भएकाहरुको कुल देवता मष्ट हुदैन ।”

सारमा यो कुरा प्रस्ट हुन्छ की खसहरुको आफ्नै भेषभुषा छ । आफ्नै भाषा छ, संस्कार छ, सनातन धर्म संस्कृति छ । उनीहरु आपैmले विकास गरेको एउटा विशाल खस सभ्यता छ । हजारौं वर्षदेखि पश्चिम नेपालका पहाडी भुभागमा बसोबास गर्दै सनातन धर्म संस्कृति अन्तर्गतमस्टो देवतालाई आफ्नो कुल देवता मान्ने, खस भाषा र सभ्यताका जन्मदाता खसहरुनै यहाँका वास्तविक रैथाने मुल आदीबासीहरु हुन् ।

तपाईको प्रतिक्रिया