शेयर बजार १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

केही दिनयता घटिरहेको शेयर बजार सोमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।
सोमवार सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
सोमवार नौ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
सोमवार तीन सय ३५ वटा कम्पनीका तीन करोड १४ लाख कित्ता शेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।






