सामाजिक सञ्जाल प्रयोगका सकारात्मक र नकारात्मक पक्ष

भनिन्छ, मानिस सामाजिक प्राणी हो । उ समाजमा मिलेर बस्न मन पराउँछ । सायद त्यही कारणले पनि हुनसक्छ इन्टरनेटको यो दुनियाँमा पनि यति धेरै सामाजिक सञ्जालहरुको विकास गरिएको । तर आज मानिस समाजको भिडमा बसेर पनि क्रमशः उ एक्लो हँुदै गइरहेको छ । समाजका हरेक कुरामा आफुलाई अरुभन्दा अब्बल देखाउन खोज्ने कारण उ झन पीडित हुँदै गइरहेको छ । जसको परिणामस्वरूप आज मानवीय प्रवृत्ति सामाजिक कम व्यक्तिवादी बढी देखिन थालेको छ । मानिसहरु व्यवहारिक कम बनावटी बढी हुँदै गएका छन् । सामाजिक मुल्य, मान्यता र आदर्श उसका लागि फगत गफ जस्तो लाग्दै गएका छन् । उसको वास्तविकता र आवश्यकता एकातिर हुन्छ तर वस्तुगत चित्र र चरीत्र अर्कोतिर देखाएर उ आफु आफैमा भ्रमको प्रतिस्पर्धामा सक्रिय हुँदै गएको देखिन्छ । यद्यपि सामाजिक कार्यहरुमा सामाजका अगुवा, शिक्षक, प्राध्यापक, कर्मचारी, कलाकार, पत्रकार र नेताहरुले के गर्दछन् त्यो सबैको लागि अनुकरणीय समेत हुने गर्दछ ।

राजनीति गर्ने नेता वा जनप्रतिनिधिहरु आफ्नो काम, कर्तव्य छोडेर अनावश्यक स्टन्ट र सस्तो लोकप्रियता आर्जन गर्ने चाहनाले ग्रसित हुँदै गएका छन् । कलाकार बन्न खोज्नेहरुमा त्याग, समर्पण र साधनाभन्दा छिट्टै भाइरल हुनेतर्फ अग्रसर हुन खोज्नेहरुको जमात बढ्दो छ । दान, धर्म, सेवा र पुण्यकर्म गर्नेहरूलाई प्रचारप्रसार र वाहवाहीको लोभ पलाउदै गएको छ । पुण्य कर्मलाई द्रव्य अर्थात मुल्यमा नापतौल गरेर लेखाजोखा गर्ने परम्परा विकसित हुदै गएको छ । सामाजिक रीतिरिवाज, चाडपर्व, संस्कार र संस्कृतिहरुमा सामाजिक सद्भावना र मौलिकता कम प्रचारमुखी बढी देखिन थालेको छ ।

राजनीति गर्ने, पत्रकारिता गर्ने, कलाकारिता गर्ने, सामाजिक कार्य गर्ने र त्यसको प्रचारप्रसार गरेर नाम, इज्जत प्रतिष्ठा आर्जन गर्न खोज्नेहरुको लागि सामाजिक सञ्जाल एउटा गज्जबको माध्यम बनेको देखिन्छ । कसैलाई रातारात महान व्यक्तित्वको रूपमा स्थापित गर्न वा कसैलाई रातारात बर्बाद गरेर विस्थापित गर्न सामाजिक सञ्जाल एउटा गतिलो हतियार बन्दै गइरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह –बालेन), धरान उपमहानगरका मेयर हर्क साङपाङ, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियान र उनीहरूले सुरु गरेको भोट परिवर्तनको अभियान पूर्ण रूपमा सामाजिक सञ्जालमा आधारित थियो । जसले देशको राजनीतिमा ठुलै हलचल ल्याइदिएको छ । यो अभियानको परिणामस्वरुप आज देशमा केहि आशाका किरणहरु समेत देखिन थालेका छन् । आज उनीहरूले गरिरहेका कामहरुको मुल्याङ्कन मतदाता र समर्थकहरुले संसारभरिबाट गरिरहेका छन् । यी सबै कुराको आधारभूत कारण वा माध्यम सामाजिक सञ्जालको विकास र विस्तार नै थियो भन्ने कुरा ती नेताहरूले सामाजिक सञ्जालमा राखेका पोस्टहरुमा आउने प्रतिक्रिया, रियाक्ट र सेयरबाट नै प्रमाणित हुन्छ ।

नेपाली कला र खेल क्षेत्रका थुप्रै हस्तीहरु सामाजिक सञ्जालको माध्यमबाट रातारात भाइरल भएका र केहि रातारात बर्बाद भएका थुप्रै उदाहरणहरु छन । नेपाली नव प्रतिभाहरु खासगरी गायन र अभिनय क्षेत्रका कलाकारहरुको लागि सञ्चालन गरिने रियालिटी शोहरु पनि सामाजिक सञ्जालको माध्यमबाट बढी हेर्ने, प्रचारप्रसार गर्ने र भोट गर्ने गरिन्छ । सामाजिक सञ्जालको माध्यमबाट उद्योग, कृषि, पर्यटन, व्यापार, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन गर्न समेत प्रयोग गर्ने गरिएको छ ।
केही दिन अगाडि नेपाल सरकारका नागरिक उड्डयान तथा पर्यटन मन्त्री सुधन किराँतीले आफ्नो कार्यकक्षमा आफै सरसफाई गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । धेरैले मन्त्रीको काम कर्तव्य त्यो होइन भनेर आलोचना पनि गरिरहेका छन् । यदि त्यसो गर्ने उनको वर्गीय चरित्र नै हो भने उनले आफ्नो कार्यालयमा सहयोगी कर्मचारी मलाई चाहिदैन भन्न सक्नुपर्छ । भिडियो क्यामरा खोलेर त्यसो गर्नु र त्यसलाई मैले यस्तो महान कार्य गरेँ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्न लगाउनुमा उनको मानसिकतामा सस्तो लोकप्रियता र मिडिया स्टन्टको लोभ रहेको प्रष्ट देखिन्छ । यसअघि पनि सामाजिक सञ्जालहरुमा राजनीतिकर्मी नेता, मन्त्री, सांसद, मेयर र वडा अध्यक्षहरुका यस्ता थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन् । परिणामस्वरूप यस्तो गलत प्रवृत्ति आज नेपाली समाजमा दिनप्रतिदिन मौलाउदै गएको देखिन्छ ।

जन्मदिन मनाउन रेष्टुरेन्टमा हजारौं रकम खर्च गरेर धुमधामसँग मनाउने र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरेर प्रचार गर्ने गरिन्छ । त्यसरी जन्मदिन मनाएर आफुलाई सुखी र सम्पन्न देखाउने प्रयास गरिएको हुन्छ । कतिपयले वृद्धाआश्रम र मानव सेवा आश्रममा गएर जन्मदिन मनाउने र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरेर आफुले ठुलो पुण्यकर्म गरेको आफू महान दानवीर भएको प्रमाण यो हो भनेर त्यसबापत आफैले आफैलाई बधाई र धन्यवाद थाप्ने प्रचलन पनि बढेको छ । यसको मतलब जन्मदिन नै नमनाउने त ?गरिब, असाहय, बृद्धहरुलाई सेवा गर्नै नहुने हो त ? होइन त्यसो भन्न खोजिएको होइन । जन्मदिन मनाउनुस्, दान दिनुस्, पुण्यकर्म गर्नुस् त्यो तपाईको आफ्नो अधिकार र कर्तव्यको कुरा हो तर त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्छ भन्ने जरुरी छैन । त्यसले गरिब र विपन्न समुदायमा कस्तो संदेश प्रवाह हुन्छ भन्ने कुरामा तपाईले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । हाम्रो सनातन हिन्दु धर्म परम्परामा “दायाँ हातले कसैलाई दान दिदा बाँया हातलाई थाहा हुनुहँुदैन’’ भन्ने मान्यता छ । यसभित्रको मनोबैज्ञानिक र मनोसामाजिक मर्म हामीले ख्याल गर्नुपर्ने हुन्छ । यति धेरै दान दिएँ, यति ठुलो पुण्यकर्म गरेँ भनेर सामाजिक सञ्जालमा मात्रै होइन छरछिमेकमा कुरा गर्नु पनि अहंकार प्रदर्शन गर्नु हो । दान र सेवामा अहंकार वा अभिमान देखाउनुलाई पुण्यकर्म मानिदैन ।

तीज, दशैँ र तिहार जस्ता चाडपर्वहरु मनाउदा त्यस्ता चाडपर्वहरुको सामाजिक, धार्मिक र सांस्कृतिक मर्म हराउँदै गएको छ । त्यसभित्रको समाजिक विज्ञान र सांस्कृतिक मौलिकतामा विकृति मौलाउँदै गएको छ । तीजको नाममा एक महिना अगाडिदेखि दर खाने, दरमा मासु, रक्सी, बियर र ह्विस्की खाएर त्यसको फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने परम्परा बढ्दै गएको छ । महंगो गहना र कपडाहरु भाडामा लिएर लगाउने, उत्ताउलो पारामा विदेशी गीतहरुमा नाच्ने र त्यसलाई आधुनिकताको संज्ञा दिएर सामाजिक सञ्जालमा पोस्ट गरेर आफुलाई आधुनिक, धनी, सम्पन्न र सुखी देखाउने प्रयास गर्ने गरेको देखिन्छ । जुन हाम्रो मौलिक धर्म, संस्कृति बिपरित कुरा हो । यस्तो कुरालाई सामाजिक सञ्जालमा पोस्ट गर्नु भनेको पनि अहंकार र अज्ञानताको प्रदर्शन गर्नु नै हो । तपाई कसरी चाडपर्व कसरी मनाउनु हुन्छ त्यो तपाईको कुरा हो । तर तपाई हामीले अंगालेको संस्कृति हाम्रो मौलिक परम्परागत संस्कृति हो कि होइन ? त्यसले हाम्रो समाजमा कस्तो प्रभाव पार्न सक्छ ? भन्ने कुरा तपाई हामीले गम्भीरतापूर्वक सोच्नै पर्ने हुन्छ । त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा त्यसले तपाई हाम्रो व्यक्तित्व र हामीलाई समाजले हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हामी आफै सचेत हुन जरुरी छ ।

सामाजिक सञ्जालको प्रयोगका सकारात्मक पक्षहरु :
-सामाजिक सञ्जालको प्रयोगले हामीलाई भर्चुअल रूपमा एक ठाउँमा भेला भएर छलफल, अन्तरक्रिया गर्न, विचार विमर्श गर्न, राय, सल्लाह, ज्ञान, विज्ञान र खबर आदानप्रदान गर्न सहयोग पुगेको छ ।
– प्राकृतिक आपत विपत पर्दा सहयोग जुटाउन, तुरुन्त उद्दार, राहत, सामाजिक सचेतना जुटाउन, सरकारलाई दबाब पु¥याउन सजिलो भएको छ ।
– दुर दराजमा लुकेर रहेका क्षमता, प्रतिभाहरुलाई प्रस्फुटन गर्न र उनीहरूको लागि सहयोग र अवसरहरुको सिर्जना गर्न सजिलो भएको छ ।
– गाउँबस्तीहरुमा सूचना प्रविधि र सञ्चारमा पहुँच र ज्ञान, सीपको विकास गर्न सहयोग पुगेको छ ।
– शिक्षा, स्वास्थ्य, विद्युत, सूचना जस्ता अत्यावश्यक कुराको सेवा प्रवाह र जनचेतनामूलक कार्यमा सामाजिक सञ्जालले सजिलो बनाइदिएको छ ।
– सरकारी तथा गैरसरकारी कार्यालयमा हुने ढिलासुस्ती, बेथिति, भ्रष्टाचार, अन्याय र अनियमिततामा एकतावद्ध रूपमा आवाज उठाउन, खबरदारी गर्न सामाजिक सञ्जाल एउटा सशक्त हतियार बनेको छ ।
-आर्थिक पारदर्शिता, सदाचार, सुशासन कायम गर्न, नागरिक अधिकारको संरक्षण र कर्तव्यको पालना गर्न गराउन सहयोग पुगेको छ ।
– सामाजिक, पारिवारिक, धार्मिक, साँस्कृतिक र मनोबैज्ञानिक रूपमा संसार भरी छरिएर रहेका नेपालीहरुलाई देशभक्ति, राष्ट्रियता, भातृत्व, सद्भाव र सहिष्णुता कायम राखेर एकताको सुत्रमा बाँधिन सहयोग पुगेको छ ।
– जातीय, लैङ्गिक विभेद घटाउन र समानता कायम गर्न सामाजिक रूपमा दबाब सिर्जना गर्न सहयोग पुगेको छ ।
– देशमा सकारात्मक परिवर्तनको लागि राजनीतिक अग्रगमनको लागि मुद्दा र नेतृत्व स्थापित गर्न र यथास्थितिवादी र प्रतिगामीहरुको शक्तिलाई कमजोर बनाउन सामाजिक सञ्जाल एउटा प्रभाकारी माध्यम बन्दै गएको छ ।
-सामाजिक सञ्जालको माध्यमबाट उद्योग, कृषि, पर्यटन, व्यापार, व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन गर्न समेत सहयोग पुगेको छ ।

सामाजिक सञ्जालको प्रयोगका नकारात्मक पक्षहरु :
– सामाजिक सञ्जालको अति प्रयोगले समय, स्रोत, साधन र शक्तिको दुरुपयोग भएको छ ।
– अनावश्यक सस्तो लोकप्रियता, प्रचारबाजी र राजनीतिक स्टन्टको लागि होडबाजी गर्ने परम्पराको विकास हुदै गएको छ । जसले गर्दा सर्वसाधारण मानिसहरुमा मनोबैज्ञानिक रूपमा नकारात्मकता, निराशा, वितृष्णा र निन्दा गर्ने प्रवृति बढ्दै गएको छ ।
– सामाजिक सञ्जालले आर्थिक विभेदलाई घटाउन होइन बढाउन बाध्य बनाइरहेको छ । अर्थात सामाजिक सञ्जालको प्रयोगले गरीबलाई झन झन गरीब धनीलाई झन झन धनी बनाउदै गएको छ ।
– उत्पादन क्षेत्रमा श्रम र समयको लगानी, स्वरोजगारी, गहिरो अध्ययन र अनुसन्धान कार्यलाई निरुत्साहित गरेको छ ।
– मानसिक तनाव, आक्रोश, निराशा, निन्दा र नकारात्मकता तिब्र रूपमा फैलाउँछ । जसले गर्दा राज्य र राज्यको भुमिकामा नागरिकहरुको दृष्टिकोणमा अविश्वासको वातावरण सिर्जना हुदै गएको छ ।
– विदेशी भेषभुषा, संस्कार, संस्कृतिको प्रभावले स्वदेशी मौलिक भेषभुषा र लोकसंस्कृतिहरुको अस्तित्व संकटमा पर्नसक्ने खतरा बढेको छ ।
– सामाजिक विकृति र भ्रमहरु फैलाउन, मानसिक रूपमा अनावश्यक तनाव दिन सामाजिक सञ्जाल एउटा खतरनाक हतियार बन्दै गएको छ ।
– बालबालिकाहरुको शिक्षा, ज्ञान, सीपको विकासभन्दा पनि मनोबैज्ञानिक कुन्ठा व्यक्त गर्न र यौनजन्य क्रियाकलापमा लिप्त हुन सामाजिक सञ्जालले आकर्षित गरेको देखिन्छ ।
– युवा पुस्तामा साधना, मेहनत र परिश्रम भन्दा बढी झुट, देखावटी नक्कल, तुलनात्मक र प्रतिक्रियात्मक चिन्तनको विकास हुदै गएको छ ।
– सामाजिक रूपमा मानवीय मुल्य, मान्यता, आदर्श र संवेदनशीलता हराउदै गएको छ । जसले गर्दा समाजिक अस्तव्यस्तता, विकृति र अशान्ति बढेको छ ।
– लगातार मोबाइल, कम्प्युटर र इन्टरनेटमा व्यस्त हुदा टाउको दुख्ने, रिंगटा लाग्ने, अनिद्रा हुने, खानामा अरुचि हुने, आँखामा दृष्टि कम हुँदै जाने, मानसिक तनाव हुने जस्ता स्वास्थ्य समस्याहरू पनि बढ्न थालेका छन् ।
– लोकेसन ट्रयाक, मनोवृत्ति ट्रयाक, मेसेन्जर च्याट इत्यादिको कारण बलात्कार, हत्या, अपहरण, मानसिक हिंसा जस्ता साइबर क्राइम सम्बन्धि सुरक्षा चुनौतीहरु बढ्दै जानेछन् ।

सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू :
-अनावश्यक रूपमा सामाजिक सञ्जालमा भनाइ, फोटो, भिडियो पोस्ट गर्ने, टिकाटिप्पनी गर्ने वा प्रतिक्रिया दिने काम सकभर नगर्ने ।
– भ्रामक, निराधार, निन्दा, गालीगलौज, असामाजिक र नकारात्मक संदेश प्रवाह हुने पोस्टहरु हेर्ने, प्रतिक्रिया दिने, सेयर गर्ने, रियाक्ट गर्ने जस्ता कार्य नगर्ने ।
– आफ्नो समय तालिका र प्राथमिकता निर्धारण गरेरमात्रै सामाजिक सञ्जाललाई निश्चित समय दिने । कार्यालय समय, पारिवारिक समय, व्यक्तिगत समय, सामाजिक कार्यको समय, आराम र निद्राको समय जस्तै सामाजिक सञ्जालको लागि समय छुट्याएर दिनमा बिहान वा बेलुकाको एक वा आधा घण्टा समय दिने गरि व्यक्तिगत नियम बनाउने ।
– आफ्नो धारणा, कुनै फोटो वा भिडियो पोस्ट गर्दा वा अरुको पोस्ट सेयर गर्दा वा प्रतिक्रिया व्यक्त गर्दा त्यसको समाजमा कस्तो मनोबैज्ञानिक प्रभाव पर्न सक्छ भन्ने कुरा गम्भीरतापुर्वक सोचेर मात्रै पोस्ट गर्ने ।
– सकारात्मक संदेश, ज्ञान, विज्ञान र सीपको विकासमा सहयोग पुग्ने, प्रेरणादायी कार्य, भनाइ, फोटो वा भिडियोहरु खोजी गरेर हेर्ने, सेयर गर्ने जस्ता बानीलाई बढाउदै सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने ।
-घरमा इन्टरनेट सुविधा छ भने चैबिसैघण्टा खुल्ला नगर्ने । निश्चित समयमा मात्रै खुल्ला वा बन्द गर्ने । बालबालिकाहरुलाई अप्रत्यक्ष रूपमा निगरानीमा राख्ने ।
– नाम र फोटो प्रष्ट नभएका, नचिनेका वा पहिचान नखुलेका प्रयोगकर्ताहरुसँग सामाजिक सञ्जालमा साथी सम्बन्ध नजोड्ने । त्यस्ता प्रयोगकर्ताहरुलाई ब्लक गर्ने वा वेवास्ता गर्ने ।
– सामाजिक सञ्जालमा कुनै भनाइ, फोटो वा भिडियो पोस्ट गर्दा, यात्रा गर्दा लोकेसन र मनोवृत्ति छर्लङ्ग हुनेगरी पोस्ट नगर्ने । आफ्नो प्रोफाइलमा सम्पूर्ण विवरणहरु सार्वजनिक नगर्ने ।
– मेसेन्जरमा च्याट गर्न खोज्ने व्यक्तिको पहिचान, उद्देश्य र नियतमा ख्याल गर्ने । पहिचान नखुलेको वा आफुले नचिनेको व्यक्तिसँग लहलहैमा अनावश्यक कुरा नगर्ने ।
– सबै कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नै पर्छ भन्ने जरुरी छैन । अनावश्यक, देखावटी, भ्रामक र अहंकार झल्काउने कुरा जथाभावी पोस्ट गर्ने बानी छ भने त्यसलाई सुधार गर्ने ।

सूचना प्रविधि, इन्टरनेट र सामाजिक सञ्जाल आफैमा कुनै पनि नराम्रा कुरा होइनन् । यिनी २१ औं शताब्दीको विज्ञानले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरु हुन् । यिनी आफैमा साध्य होइनन् साधन वा माध्यम हुन् । यिनलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हामी प्रयोगकर्ताको सोच, योग्यता र क्षमतामा निर्भर रहन्छ । प्रयोग गर्न जाने सामाजिक सञ्जाल वरदान हुन्, प्रयोग गर्न नजाने यी हामी आफैलाई बर्बाद गर्ने अभिशाप पनि बन्न सक्छन् । सामाजिक सञ्जालको प्रयोगमा आफु पनि सचेत रहौं र सचेत रहन अरुलाई पनि सहयोग गरौं ।

तपाईको प्रतिक्रिया