जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुने भएको छ । यही फागुन १५ देखि १९ गतेसम्म जुम्लाको निर्माणाधीन फुटबल रंगशालामा प्रतियोगिता हुने भएको हो । खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल खेलाउने जुम्लाले यो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए। उनका अनुसार कर्णाली प्रदेशका दसवटै जिल्लाबाट एक–एक वटा फुटबल टिम आउनेछन् ।एक टिममा दुई जना अफिसियल सहित १५ जना सहभागी हुनेछन ।

कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघले जनाएको छ । पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएपछि जुम्लाका खेलाडीहरु उत्साहित भइरहेका छन ।

पहिले झुम्राको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी छन् । महासचिव हमालले भने, ‘पहिले फुटबल खेल्न बाहिर जिल्ला गइन्थ्यो । अहिले बाहिर जिल्लाहरुबाट खेलाडीहरुलाई जुम्लामा खेल्न निम्तो दिदैछौं । यो भन्दा सुखद पक्ष के हुन सक्ला र ?’

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिंधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन । पहिलो पटक जुम्लाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ । यो सुनौलो अवसरको सही रुपमा सदुपयोग गर्नुपर्ने अवस्था छ । ’यो प्रतियोगिताले जुम्लामा फुटबल खेलमा विवादै विवाद भइरहेको भन्ने गलत सन्देशको पर्दाफास गरेर फुटबलमैत्री जुम्लाको पहिचान बनाउने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापा बताउँछन्।

कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।’एक साता जुम्ला फुटबलमय हुनेछ,’ अध्यक्ष बुढ्थापाले भने, ‘खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आव्हान गरिएको छ । ’जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गरेको छ ।

खेलमैदान बनाउनेदेखि खेलाडी प्रोत्साहनका कार्यक्रम अघि बढाउने बिषयमा छलफल भएको महासचिव हमालले बताए । उनका अनुसार फागुन २० देखि २६ गते सम्म रेफ्री तालिम पनि जुम्लामा हुदैंछ । जुम्लाका हरेक पालिकाबाट न्युनतम एक फुटबल रेफ्रि उत्पादन गर्न स्थानीय सरकारहरुले प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया