सरस्वती पुजा र त्यसभित्र अन्तर्निहित विज्ञान

सनातन हिन्दु धर्म परम्परा अनुसार सरस्वतीलाई कला र विद्याकी देवी मानिन्छ । हरेक वर्ष माघ शुक्ल पञ्चमी तिथिमा सरस्वती पुजा अर्थात वसन्त पञ्चमी वा ऋषिपञ्चमी वा श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । प्राकृतिक मौसम विज्ञानको हिसाबले आजको दिनदेखि हामी शिशिर ऋतुबाट वसन्त ऋतुमा प्रवेश गर्दैछौं । आजको दिनदेखि चिसो विस्तारै कम हुदै क्रमशः गर्मी बढ्दै जाने भएकोले बोटबिरुवामा नयाँ पालुवा पलाउने, नयाँ फलको लागि फूल लाग्ने, मौरी र भमराहरु फूलहरुमा भुनभुनाउने, खेतबारीमा हिउदेबाली लहलहाउने, चराचुरुङ्गीहरुले गुड लगाएर फुल पार्ने र बच्चा कोरल्ने गर्दछन् । यतिबेला न वर्षातको झरी न त धेरै चिसो न धेरै गर्मी हाम्रो लागि ठिक्कको मौसम हुने गर्दछ । अतः मौसम परिवर्तनको हिसाबले यो अत्यन्त सुखद दिन हो ।

ज्ञान, विज्ञान, बुद्धि र कला मानव जीवनको लागि कति महत्त्वपूर्ण छन् भन्ने कुरा भनिरहन परेन त्यो हामी सबैले महसुस गरेकै कुरा हो । यहाँ माता सरस्वतीलाई विद्याकि देवी मानेर पुजा आराधना गर्नु भनेको ज्ञान, विज्ञान, बुद्धि र कलाको सम्मान गर्नु हो । त्यसको महत्त्व उजागर गर्नु हो । बालबालिका र विद्यार्थीहरुलाई विद्या आर्जनप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न प्रेरित गर्नु हो ।

आध्यात्मिक दृष्टिकोणमा श्रद्धा वा भक्तिको महिमा धेरै महान छ । आधुनिक मनोविज्ञानमा भक्ति वा श्रद्धालाई Mind technology jf Motivational technique मान्न सकिन्छ । भक्तिको भावना भनेको मनमा सकारात्मक उर्जाको प्रवाह हुनु हो जसले हामीभित्र खुसी, आनन्द, समर्पण र शान्तिको अनुभुति गराउने काम गर्दछ । हुन त यो वर्षमा एकदिनको भक्ति र श्रद्धा प्रयाप्त हुदैन तर दिनदिनै पनि एकनासले मन स्थिर रहन सक्दैन । तर एकदिनको विशेष पर्वको अवसरबाट अन्य दिनहरुमा पनि विद्या आर्जनको लागि भक्ति, साधना र समर्पण जरुरी छ भन्ने कुराको प्रत्याभूति गराउन यो पर्व मनाउने गरिन्छ । यति कुरा गर्दैगर्दा तपाईको मनमा यो प्रश्न उठ्नसक्छ मुर्ति ढोगेर, टीका छरेर, धूपबत्ति बालेर विद्या वा कला कसरी आर्जन हुन्छ त ??? यो विद्या आर्जन गर्नको लागि गरिने भक्ति होइन । यसरी पुजा आराधना गरेर देवी सरस्वती खुशी भएर हामीलाई कुनै महान विद्या प्रदान गर्ने पनि होइनन् ।

तर विद्या आर्जनको लागि समर्पण, मानसिक रूपमा सकारात्मक दृष्टिकोणको निर्माण, विद्या र कलाको सम्मान, मनोबैज्ञानिक रूपमा Self-motivation, खुशी, आनन्द र शान्तिको अनुभुती अवश्य गर्न गराउन सकिन्छ । यसो गर्नु भनेको विद्या वा कला आर्जनको लागि सकारात्मक आधार तयार हुनु हो । कलाकारको लागि भक्ति साधना गर्नु भनेको निरन्तर कलाको अभ्यास हो । शिक्षक र विद्यार्थीको लागि भक्ति साधना भनेको ज्ञानको लागि उसले गर्ने निरन्तर अध्ययन, अनुसन्धान र अन्वेषणको कार्य हो । र त्यसको लागि ज्ञानप्रति मनमा श्रद्धा, भक्तिभाव, समर्पण, Self-motivation, positivity, खुशी, आनन्द र शान्ति जरुरी हुन्छ । आध्यात्मिक शब्दमा पुजा, श्रद्धा, भक्ति, ध्यान, साधना भन्नु र आधुनिक मनोविज्ञानमा Mind technology or Self-motivation or Positivity भन्नु उस्तै उस्तै कुराहरु हुन् । शब्द र विधि आफ्ना आफ्नै हुनसक्छन् तर सारमा कुरा एउटै हो ।

मनोविज्ञानमा दृष्टिकोणको अत्यन्त महत्त्वपूर्ण प्रभाव रहने गर्दछ । तपाई मनमा जस्तो दृष्टिकोण राख्नुहुन्छ सारमा तपाईले निर्माण गर्ने विचार पनि हुने त्यस्तै हो । र तपाईले गर्ने निर्माण गर्ने भौतिक संसार, तपाईले गर्ने कर्म, तपाई पुग्ने गन्तव्य, तपाईले निर्माण गर्ने आफ्नो पहिचान, पाप वा पुण्य, स्वर्ग वा नर्क तपाईको प्रगति वा दुर्गति सबै कुराको निर्धारण तपाईको दृष्टिकोणले नै गर्दछ । यो यतिसम्म शक्तिशाली हुन्छ कि तपाईलाई यो शरीरले छोडेपछि पनि त्यसले तपाईलाई छोड्दैन । दृष्टिकोणमा प्रष्ट नहुनु अज्ञानता हो । अज्ञानताले तपाईको मनमा confusion को समस्या उत्पन्न हुन्छ । confusion हुनु भनेको न पोथी न भाले, न पशु न न मानव जस्तो भएर बाँच्नुपर्ने हुन्छ । अज्ञानता, अविद्या वा अलमलमा बाँच्नु पनि सारमा पाप कर्म वा कुकर्ममा लाग्न बाध्य हुनु हो । यो अवस्था भनेको जीउँदै नर्कको यात्रा गर्नु जस्तै हो । भौतिक जीवनको लागि यो नै दुर्गतिको प्रारम्भिक लक्षण हो ।

मनोबैज्ञानिक रूपमा निराशा वा मानसिक रोगको पृष्ठभुमि तयार हुनु हो । तपाई आफ्नो दृष्टिकोणमा शतप्रतिशत प्रष्ट हुनुहुन्छ भने ढुङ्गालाई देवी वा देवता मानेर श्रद्धा, पुजा र भक्ति गर्नुस् त्यसको शुभफल तपाई अवश्य प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाई ढुङ्गालाई देवीदेवता मान्न सक्नुहुन्न भने तपाई के कुरामा विस्वास गर्नुहुन्छ त्यसैमा शतप्रतिशत ढुक्कसँग दिल लगाउनुस् कोही देवीदेवता रिसाउदैन । तपाई त्यसबाट पनि तपाईको कर्म अनुसारको शतप्रतिशत सकारात्मक प्रतिफल प्राप्त गर्नसक्नुहुन्छ ।

यो कुरामा प्रष्ट हुन एउटा उदाहरण लिउँ । मान्नुस् कि तपाई बाटोमा हिड्दै गर्दा तपाईको खुट्टामा ठेस लागेर रगताम्य भयो । तपाईले फर्केर हेर्दा एउटा चुच्चो परेको ढुङ्गा देख्नु भयो तपाईलाई ढुङ्गाप्रति निकै रीस उठ्यो र त्यसलाई निकालेर फाल्नको लागि तपाईसँग भएको कोदालीले खन्न थाल्नु भयो । खन्दै गर्दा ढुङ्गा निकै चम्किलो र आकर्षक रहेछ ।

अर्को कोही बाटो हिड्ने मानिस आएर तपाईलाई भन्न थाल्यो कि “अहो तपाई त निकै भाग्यमानी हुनुहुदो रहेछ । तपाईलाई ठेस लागेको होइन तपाईको भाग्य चम्केको पो हो । यो ढुङ्गा त हिरा हो, यसको करोडौं मूल्य हुनसक्छ ।” यो सुनेर तपाईको अघिको त्यो ढुङ्गाप्रतिको रीस हराएर एक्कासी त्यसप्रति माया पलाउन थाल्छ । तपाईले त्यस ढुङ्गालाई धोइपखाली खुब जतन गरेर घरमा लिएर लुकाएर राख्नुहुन्छ । र बजारमा बेचेर के गर्ने भनेर अनेक सपना बुन्न थाल्नु हुन्छ । तपाईभित्र अलिअलि अभिमान र भगवानप्रति आस्था पनि जाग्न थाल्छ । तपाईलाई लाग्न थाल्छ भगवानले तपाईलाई पनि अब रातारात करोडपति बनाउदै हुनुहुन्छ ।

केही दिनपछि तपाईको घरमा एउटा हिरा किन्ने व्यापारी आइपुग्छ । व्यापारीले हिरा परीक्षण गरेर भन्छ कि “यो हिरा होइन चम्किलो ढुङ्गा मात्रै हो । यसको मुल्य एकसय रुपैयाँ पनि हुदैन ।” अब फेरि तपाईभित्र रीस, निराशा र भगवान प्रतिको गुनासो एकैपटकमा जाग्न थाल्छ । अब तपाई फेरि आफ्नै भाग्यलाई सराप्न थाल्नु हुन्छ ।

तपाईले त्यो ढुङ्गालाई रीसको झोकमा लिएर एउटा भिरबाट फाल्दिनु भयो । केही दिनपछि फेरि अर्को एकजना ब्राह्मण मानिस आएर तपाईसँग भएको चम्किलो ढुङ्गाको बारेमा कुरा गर्न थाल्छ, “तपाईसँग भएको ढुङ्गा त साक्षात शालिग्राम भगवानको स्वरुप हो । त्यसमा त भगवान नारायणको निवास छ खै ल्याउनुस म त्यो ढुङ्गा म लिएर पुजा गर्छु ।” अब तपाईभित्र फेरि उक्त ढुङ्गाप्रति माया र सम्मान जागेर आउँछ । अघि तपाईले भिरबाट रीसले फालेको ढुङ्गा फेरि सकिनसकी खोजेर ल्याएर धोइपखाली ढोग्न थाल्नुहुन्छ, ती ब्राह्मणले बताए अनुसार पुजा कोठामा राखेर पुजा गर्न, शंख घण्टा बजाएर हरेक दिनपुजापाठ र धुपबत्ती गर्न थाल्नुहुन्छ । अब उक्त ढुङ्गाबाट पैसा आउने होइन । बरु उल्टै उसको लागि तपाईसँग भएको दुई चार हजार खर्च गर्नुपर्छ भने पनि तपाई तयार हुनुहुनेछ ।

तपाईको घरमा केही राम्रो शुभफल प्राप्त भयो भने तपाईलाई लाग्न थाल्छ कि यो भगवानको कृपा हो । तर एकदिन तपाईको घरमा एक्कासी कोही गम्भीर बिरामी भयो । अब तपाई अघि तपाईलाई भगवान भनेर पुजा गर्न लगाउने ब्राह्मणलाई भेटेर सोधपुछ गर्दा उनले बताए अनुसार तपाईले भगवानलाई भिरबाट फालेर अपमान गरेको र भगवान रिसाएर बिरामी परेको र यसको लागि क्षमा पुजा तथा यज्ञ हवन गर्नुपर्ने अन्यथा बिरामीको मृत्यु हुनसक्ने सम्मको कुरा गर्छन् अब तपाई क्षमा पुजा तथा यज्ञ हवन गर्न तयार हुनुहुन्छ । तपाईको यो क्षमा पुजा र यज्ञ हवनमा कम्तीमा २ देखि ३ लाखसम्म खर्च हुन्छ । केही दिनमा बिरामी पनि निको हुन्छ ।

तपाईलाई पुजा सफल भएको र भगवान अब खुशी भएकोले बिरामी निको भएको भन्ने विश्वास लाग्छ । तपाईलाई त्यो तिनलाख खर्च भएकोमा कुनै अपशोच छैन । यसरी एउटा ढुङ्गाले तपाईलाई कहिले करोडपति भएको भ्रम पार्छ कहिले गरीबको गरीब नै बनाउछ कहिले तपाई ढुङ्गालाई हिरा देख्नुहुन्छ कहिले हिरालाई ढुङ्गा, कहिले ढुङ्गालाई भगवान, कहिले भगवान रिसाएर आफन्त बिरामी हुनु, कहिले भगवान खुशी भएर निको हुनु । यो सबै घटनालाई मसिनो तरिकाले केलाउदै जानुभयो भने यहाँ तपाईको दृष्टिकोण, दृष्टिकोणले निर्माण गरेको विचार र त्यही विचारको कारण मनमा सिर्जना भएको आस्था र विश्वासको परिणाम हुन् यी घटनाक्रम ।

के अब भगवान भनेको भ्रम मात्रै हो त ??? यसको जबाफको लागि हिन्दी चलचित्र एप् को एउटा भनाइ याद गरौं “भगवान दो तरहके होते हे एक वह भगवान जिसको हम बनाते हे और दुस्रा वह भगवान जिसने हमको बनाते हे” माथिको उदाहरण अनुसार ढुङ्गा वा शालिग्राम हामीले निर्माण गरेको भगवान हो भने जसले वास्तवमै तपाई हामी र उक्त ढुङ्गाको निर्माण ग¥यो त्यो वास्तविक भगवान हो । जो न रिसाउँछ, न खुशी हुन्छ उ आफ्नो काम शतप्रतिशत इमानदारीताकासाथ गरिरहन्छ ।

उ निराकार छ, निरञ्जन छ । उ नित्य छ, अकारण छ । उ अपरम्पार छ, अपरिवर्तित र अपरिहार्य छ । उ हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ । उसले चाहेर सबैकुरा घटीरहेको छ उसले नचाहेर रुखको एउटा पात पनि हल्लिदैन । उ शक्ति हो उर्जा हो । उसको अस्तित्व अणु, परमाणु, इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन सबैमा छ । तपाई विश्वास गर्नुस् नगर्नुस् उसलाई केहि फरक पर्दैन तर तपाईलाई फरक अवश्य पर्छ । यसकारण आस्था र विश्वास नै सबै कुरा हो । “भगवान” वा “इश्वर” शब्द हामीले नामाकरण गरेको हो ।

उसलाई शब्द वा नामसँग कुनै लिनुदिनु नै छैन । तर हामीलाई शब्द र नामले फरक पार्छ किनकि हामी कुनै न कुनै शब्द वा त्यसको अर्थसँग बाँधिएका छौं । कुनै न कुनै विचार, सिद्धान्त र दर्शनसँग हाम्रो मन बाँधिएको छ । त्यो हाम्रो समस्या हो उसको होइन । हामी यस्ता कयौं भ्रम र समस्याले ग्रसित छौं । त्यसैले त हामी मानिस हौं । आध्यात्मिक भाषामा कोही मानिस मनको भ्रम र संसारिक मोह वा दुःखबाट मुक्त हुनु भनेको Enlightenment अर्थात बुद्धत्व प्राप्त गर्नु हो ।

के अब हामीले निर्माण गरेको भगवानलाई विश्वास नगर्ने त ??? होइन, विश्वास गर्नुहुन्छ भने यसरी गर्नुस् कि शतप्रतिशत विश्वास गर्नुस् । तपाईलाई तपाईको आस्थाको भगवानप्रति एक प्रतिशत पनि शंका गर्ने छुट छैन । यो कुरा ख्याल गर्नुस् कि तपाईले गरेको अलिअलि विश्वासले भगवानबाट तपाईले प्राप्त गर्ने प्रतिफल पनि अलिअलि मात्रै हुन्छ । तपाईको त्यही एक प्रतिशत शंका नै तपाईको लागि तपाईको जीवनमा उन्नति र प्रगतिको बाधक बन्न सक्छ । यदि तपाईमा भगवान प्रति विश्वास छैन भने पनि तपाईलाई केहि फरक पर्दैन । आफू आफै प्रति शतप्रतिशत ईमानदार रहनुस् । तर तपाईभित्र एकप्रतिशत पनि भगवान प्रति आस्था, विश्वास बाँकी रहनु हुदैन । यदि त्यस्तो भयो भने त्यही एक प्रतिशत विश्वास नै तपाईको जीवनको उन्नति, प्रगतिको लागि खतरनाक बाधक बन्नसक्छ ।

सारमा यो कुरा बुझ्नुपर्ने हुन्छ कि हाम्रो मन र मनको विस्तार नै अन्तिम कुरा हो । हाम्रो बुझाइ नै हाम्रो लागि यथार्थ निर्माणको निर्धारक हो । शब्द, विचार वा सिद्धान्तको निर्माण गर्ने भनेको पनि मनको दृष्टिकोणले नै हो । यो सबै कुरामा स्पष्ट हुनको लागि नै हामीलाई ज्ञानको आवश्यकता पर्दछ । र आध्यात्मिक विधि वा पद्धतिमा आस्था, विश्वास, श्रद्धा, भक्ति, ध्यान, साधना र समर्पण भावबाट एकचित्त भएर मात्रै त्यस्तो ज्ञानको ज्योति प्राप्त गर्न सकिन्छ । आधुनिक मनोविज्ञानमा त्यस्तो विधिलाई Self-motivationor Mind technology भनिन्छ । हाम्रो सनातन धर्ममा त्यस्तो विधिलाई “सरस्वती पुजा“ भनेर एउटा पद्धति वा परम्पराको रूपमा विकास गरिएको हो । यो एकदिन मनाउनु भनेको परम्पराको निरन्तरता मात्रै हो । यसलाई कतिपयले एकछिनको मनोरञ्जनको माध्यम रूपमा पनि मनाउन सक्छन् । अधिकांशले त्यसभित्रको रहस्य नै नबुझी देखावटी मात्रै गरिरहेका छन् । वास्तवमा विद्या वा कलाको उत्कर्षमा पुग्नको लागि सरस्वती माताको आशीर्वाद चाहनेहरुले हरक्षण हर बखत निरन्तर इमानदार कर्म सँगसँगै आस्था, विश्वास, श्रद्धा, भक्तिभाव, ध्यान, र साधनामा आफुलाई शतप्रतिशत समर्पित गर्नैपर्ने हुन्छ । तपाईहरु सबैलाई सरस्वती माताको आशिर्वाद प्राप्त होस् मेरो हार्दिक मंगलमय शुभकामना ।

लेखकश्री शिशु जागरण माध्यमिक विद्यालय बागचौर नगरपालिका ९, खोरबारे सल्यानमा कार्यरत शिक्षक हुन्

तपाईको प्रतिक्रिया