जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्कीगाउँमा हुने

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता शुक्रवार देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत (एनवि) ले जानकारी दिए । विहिवार विहान पत्रकारहरु संगको भेटघाटमा अध्यक्ष बस्नेतले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको बताए । ‘प्रतियोगिताको उद्घाटन भोलि विहान १० बजे नै हुन्छ, अधयक्ष बस्नेतले भने, त्यसका लागि सबै तयारी पुरा भएको छ ।’

जिल्लाका ७ वटै स्थानीय तहको सहाभगिता रहने प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा पालिकाहरु बिच प्रतिस्पर्धा गराइने छ । जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता रहने अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सहभागिहरुको खाना र आवासका लागि छेडागाड नगरपालिका र सम्बन्धित विद्यालयसंग समन्वय गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

३ दिन सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने आयोजकले जनाएको छ । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरु प्देश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि करीब ११ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया