जाजरकोट उपनिर्वाचन : नलगाड र कुशेमा शान्तिपूर्ण रुपमा मतदान जारी

जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे–७ मा वडा अध्यक्षका लागि उपनिर्वाचन सम्पन्न गर्न आज बिहानैदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
कुशे गाउँपालिकाका २ र नलगाड नगरपालिकाका २४ मतदान केन्द्रमा मतदान उत्साहजनक रुपमा भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म नलगाड नगरपालिकामा ९,७०४ मत खसेको छ भने कुशे–७ मा ९४८ मत खसेको जानकारी प्राप्त भएको छ ।
मतदानका लागि नलगाड नगरपालिकामा कुल १६,४४९ र कुशे–७ मा १,३०२ मतदाता छन्। यसरी कुल १७,७५१ मतदातामध्ये हालसम्म नलगाडमा ५९ प्रतिशत र कुशे–७ मा ७३ प्रतिशत मत खसेको छ ।
हालसम्मको मतदाताको उपस्थिति हेर्दा कुशे–७ मा नलगाड नगरपालिकाभन्दा बढी मतदान भएको देखिन्छ। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाकर्मीको बाक्लो उपस्थितिका साथै निर्वाचन अधिकृतको टोली सक्रिय रहेको छ ।







