सम्पादकीय : क्रिकेटले जगाएको उत्साह

शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । नेपालको क्रिकेट इतिहाँसमा घरेलु मैदानमा पहिलो पटक आयोजना भएको यो ठुलो प्रतियोगिता हो । यस प्रतियोगिताका लागि आठ टिम सहभागी छन् । यो प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी कमै भएपनि प्रदेशकै प्रतिष्ठाका रुपमा लिइएको छ । विश्वको इतिहाँसमा क्रिकेटलाई अति विशिष्ट खेलका रुपमा लिइन्छ । एनपीएल आफैमा महत्वपूर्ण छ नै यसले खेलाडीको मनोबल उठाउने मात्रै होइन यसले नेपाललाई विश्वमाझ परिचित गराउनेछ । पछिल्लो समय नेपालमा क्रिकेटप्रतिको क्रेजले छुट्टै स्थान लिन थालेको छ । खेल आफैमा एउटा खेल मात्र होइन । यो पहिचानको विषय पनि हो । अर्को कुरा खेलकुदले भाइचारको सम्बन्ध पनि स्थापित गराउँदछ । नेपालीहरु क्रिकेटको पारखी बन्न थालेको धेरै समय भने भएको छैन । पछिल्लो समय क्रिकेटले खेलप्रेमीका माझ छुट्टै लोकप्रियता छाउँदै गएको छ । विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरुमा नेपालीहरुको समर्थनले राष्ट्रवादलाई झल्काउँछ ।
हरेक प्रतियोगितामा नेपाली खेलप्रेमीहरु आफ्नो मनपर्ने टोली र खेलाडीको समर्थनमा जुट्छन् । जो शनिबार सम्पन्न एनपीएलको उद्घाटन खेलमा पनि देखिएको छ । उद्घाटन खेलमा सहभागी विराटनगर किङ्स र जनकपुर बोल्ट्स बिच भएको खेलमा यस्तै दृश्य देखिन्थ्यो । यसले नेपाली खेलकुद समर्थकलाई प्रेरणा दिनुका साथै उनीहरूको खेलमा रुचि र लगाव बढाएको अवश्य छ । शनिबार त्रिवि क्रिकेट मैदानमा खेलप्रेमीको उपस्थितीले यसको पुष्टि गर्दछ । खेलका हरेक इभेन्टको महत्व केवल मनोरञ्जनमा मात्र सीमित हुँदैनन् । यसले नेपाली क्रिकेटका लागि केही नयाँ सम्भावनाहरू पनि खोलेको छ । उदाहरणका लागि नेपाली क्रिकेट संघले आइपीएलबाट सिकेर यहाँको घरेलु लिगलाई व्यवस्थित र व्यावसायिक बनाउन सक्ने छ । यो अनुभवलाई उपयोग गरेर घरेलु टुर्नामेन्टहरूलाई आर्थिक र प्राविधिक रूपमा समृद्ध बनाउन सकिन्छ । तर, यसका लागि सरकारी तबरबाट थप प्रयास र योजना भने अवश्य चाहिन्छ ।
नेपालको क्रिकेट क्षेत्रलाई बलियो बनाउन एनपीएल जस्तो लिगलाई व्यावसायिक मोडेलमा लैजान जरुरी देखिन्छ । यसका लागि ठूला लगानीकर्तालाई आकर्षित गर्दै खेलाडीको विकास, खेल पूर्वाधार निर्माण र व्यवस्थापन महत्वपूर्ण हुन्छ । एनपीएलले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको क्रिकेट मात्र खेल नभएर ठूलो आर्थिक स्रोत पनि हो । नेपालमा पनि क्रिकेटलाई व्यवसायिक रूपमा अगाडि बढाउन सकेमा यसले अर्थतन्त्रमा ठुलो योगदान पु¥याउन सक्छ । आइपीएल नेपाली क्रिकेटका लागि केवल प्रेरणाको स्रोत मात्र नभएर एक रणनीतिक मार्गदर्शक पनि हो । एनपीएलमा सहभागी आठै वटा टिमले प्रख्यात विदेशी खेलाडीलाई भित्र्याएका छन् । यो हाम्रा नेपाली खेलाडीहरुका लागि अवसर पनि हो । विश्वका ठुला क्रिकेट लिग खेलिसकेका अनुभवी विदेशी खेलाडीका साथ खेलेर आफुलाई परिस्कृत गर्ने नेपाली खेलाडीका सामु अवसर हुनेछ । सिमित पूर्वाधारका बिच खेलकुदका माध्ययमबाट देशको नाम रोशन गराउन एनपीएल कोशेढुङ्गा सावित बनोस् । खेलाडीले मैदानमा गएर खेल्नु मात्रै ठुलो कुरा होइन । यसका लागि राज्यले खेलाडीलाई प्रशिक्षण, प्रोत्साहन लगायतका क्षेत्रमा लगानी बढाउँदै लैजानु पर्दछ । एनपीएलबाट सिक्दै सही र प्रभावकारी योजना बनाएर नेपालले पनि भविष्यमा क्रिकेटका क्षेत्रमा आफ्नो स्थान विश्वमाझ अझ थप चिनाउँन सकोस् कामना ।






