कर्णाली सभ्यतामा प्रचलित हाम्रा स्थानीय खाद्य परिकारहरु


कर्णाली सभ्यता आफैमा सुन्दर संस्कार, संस्कृति र प्रकृतिको भण्डार हो । यो कला, ज्ञान र विज्ञानले पनि भरिपुर्ण छ । प्राचीन कर्णाली सभ्यताको विकसित र विस्तारित रुप नै आजको आधुनिक नेपाल हो । हामीले हालसम्म पनि आत्मसाथ गर्दै आएको प्राकृतिक जीवनशैली, परम्परागत विज्ञान र प्रविधि हाम्रा पुर्खाहरुले आफ्नै बुद्धि र विवेकले विकास गर्दै प्रयोगमा ल्याउदै आएका हाम्रा आफ्नै पुख्र्याैली सम्पत्तिहरु हुन् ।

यी कुनै विदेशीहरुबाट आयातित वा अरु कोही कसैले हाम्रो सजिलोको लागि दयामायाले अध्ययन, अनुसन्धान गरिदिएर पठाइ दिएका कुरा थिएनन् । यी त सभ्यता निर्माणको क्रममा हाम्रा पुर्खाहरुले हजारौं वर्ष अवधिको आफ्नै दुःखकष्ट, मेहनत, संघर्ष र अनुभवबाट प्राप्त गरेका प्रतिफलहरु थिए ।

हाम्रा पुर्खाहरुहरुले बाँच्नका लागि निकै कठिन र चुनौतिपूर्ण समय र परिस्थितिको सामना गर्नुपरेको ऐतिहासिक पदचिन्हहरुले देखाउँछन् । तर बाँच्नुको मतलव केवल एउटा भोको पेट पाल्नु वा प्राण धान्नु मात्रै थिएन एउटा आफ्नै मौलिक र भरिपूर्ण मानव सभ्यता निर्माण गर्नु थियो ।

जुन सभ्यताभित्र व्यक्ति, परिवार, समाजदेखि जीव जनावर र बोटबिरुवाहरुसम्म, हिमाल, पहाड देखि नदिनाला, ताल, पोखरीहरुसम्म सबैको साझा र सहअस्तित्व रहने गरी एउटा सग्लो देश अट्न सकोस् । जहाँ आत्मनिर्भरता, स्वाधिनता र आत्मसम्मानपूर्वक दुनियाँको अगाडि हामी र हाम्रो देश भनेर गर्वकासाथ शिर ठाडो गरेर बाँच्न सकिने आफ्नै मौलिक जीवन पद्धति निर्माण गर्न सकियोस् । जहाँ प्रकृति र मानव संस्कृति दुवैको दिर्घकालसम्म अस्तित्व कायम राख्न सकियोस् ।

मानव समाज र सभ्यताको निर्माण कोही व्यक्ति एक्लैले सम्भव हुने कुरा थिएन । त्यसको लागि आपसमा सहकार्य, सहयोग, सल्लाह, साझेदारी, समझदारी, समवेदना, सहानुभूति र समन्वय पनि जरुरी थियो । परिवार, समाज र संगठनको निर्माण हुदै देशको परिकल्पना गर्नुका कारणहरुले पनि सोही कुरातर्पm नै संकेत गर्दछन् । उनीहरुले कृषि, पशुपालन, उद्योग, व्यापार र व्यावसायहरुको विकास र विस्तार गर्दै आर्थिक आत्मनिर्भतातर्फ मात्रै सोचेनन् प्रकृतिको संरक्षण सँगसँगै कला, संस्कृति, चाडपर्व, रितिरिवाज र परम्पराहरुको पनि विकास गरे । जसको मतलव शारिरीक र मानसिक रुपमा स्वास्थ्य, खुशी र आनन्द प्राप्त गर्नु, पारिवारिक र सामाजिक रुपमा दिगो शान्ति स्थापना गर्नु र सिंगो मानव सभ्यतालाई विकास र विस्तार गर्दै दिर्घकालसम्म निरन्तरता प्रदान गर्नु पनि थियो ।

सुस्वास्थ्य र दिर्घ जीवनको लागि खाना खानु अपरिहार्य छ । हामीले दैनिक रुपमा खाने खाना स्वस्थ, ताजा र सन्तुलित हुनु पनि उत्तिकै जरुरी हुन्छ । हाम्रो खानाको रुपमा प्रयोग हुने प्राय सबैजसो खाद्यवस्तुहरु बोटबिरुवा र जीवजनावरहरुबाट प्राप्त हुने गर्दछन् । जसको दिर्घकालिन व्यवस्थापनको लागि कृषि र पशुपालन गर्नु जरुरी थियो ।

खानामा पौष्टिकतत्वहरुको सन्तुलन कायम राख्न प्रकृति र संस्कृतिको पनि तालमेल हुनु जरुरी हुन्छ भन्ने कुरा आजको आधुनिक स्वास्थ्य विज्ञानमा समेत प्रमाणित भएको छ । जुन हाम्रा पुर्खाले हजारौं वर्ष अगाडिदेखि नै अभ्यासमा ल्याएका थिए । कर्णाली सभ्यताभित्र प्रचलित चाडपर्व, रितीरिवाज र संस्कार, संस्कृतिहरुमा बालबालिकाहरुदेखि बृद्ध बाआमा, बिरामी, सुत्केरी आमाहरु र काजक्रिया गर्ने क्रियापुत्रीहरुसम्मको समेत स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर खानाका विभिन्न परिकारहरु प्रचलनमा ल्याइएको पाइन्छ । जुन यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

– दालभात ः दालभात हाम्रो सबैभन्दा प्रचलित स्थानीय परिकार हो । धनि, गरीब, गाउँ, शहर सबै वर्ग र क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको रोजाईको खाद्य परिकार पनि दालभात नै हो । दैनिक भोजन, विवाह, पास्नी, भोज, भतेरमा मुख्य खाद्य परिकारको रुपमा दालभात अनिवार्य पकाउने गरिन्छ । दालभातको साथमा सब्जी, तरकारी, अचार, दही इत्यादि मिलाएर खाने गरिन्छ ।

– घिउभात ः बाआमाको निधन हुदा क्रिया बसेका छोराहरु र अन्य भाईबन्धुहरुले नुन बार्ने प्रचलन रहेको छ । नुन आयोडिनको लागि र खानामा स्वादको लागि खाने गरिन्छ । नुन समुद्रको पानीबाट तयार गरिने भएकोले यसलाई अशुद्ध अर्थात अस्वस्थ पनि मानिन्छ । मानव स्वास्थ्यको लागि आयोडिन थोरैमात्र भएपनि प्रयाप्त हुन्छ जुन सागपातहरुबाट पनि प्राप्त गर्न सकिन्छ । नुनको अधिक सेवनले उच्चरक्तचाप लगायत अन्य विभिन्न स्वास्थ्य समस्याहरु समेत आउन सक्ने भएकोले त्यसको न्यूनिकरण गर्न पनि यो प्रचलन चलाइएको हुनसक्छ ।

यस्तो अवस्थामा नुन बार्ने भाइबन्धु र विशेष गरी क्रियापुत्रीहरुले तेह्रौं दिनसम्म आपैmले अलग्गै भात पकाएर घिउसँग खाने गर्दछन् । आफ्नै हातले घरैमा उत्पादन गरिेएको चामल र घिउ नुन बिना पनि खान सकिने सबैभन्दा शुद्ध अर्थात मिसावट नभएको स्वस्थ खाद्यपदार्थ मानिन्छ ।

-रोटी ः रोटी हाम्रो प्रमुख खाद्य परिकार हो । विशेष गरी गहुँ, जौ, मकै, कोदो, फापर वा चामलको पिठो पानीमा मुछेर विभिन्न तरिकाले रोटी पकाइन्छ । रोटी सुख्खा वा तेलमा पनि पकाउन सकिन्छ । रोटीका परिकारहरु पनि विभिन्न प्रकारका हुने गर्दछन् । जस्तै ः सेल रोटी, फिनी रोटी, सुख्खा रोटी, चिल्ले रोटी, ¥याल्ने रोटी इत्यादि ।

– रोट ः हिन्दु धर्म परम्परा अनुसार पुजा, यज्ञ आदि धार्मिक अनुष्ठानहरुमा देवी देवतालाई चढाउन चामलको पिठोमा, मह वा चिनी र मसलाहरु इत्यादि राखेर गाईको घ्युमा पकाइएको विशेष प्रकारको रोटीलाई रोट भनिन्छ ।

रोटलाई बाबर पनि भनिन्छ । खसहरुको कुल मष्ट देवताको पूजा गर्दा रोट वा बाबर अनिवार्य चढाउने परम्परा रहेको छ ।
-सातु ः भुटेको जौ, मकै, गहुँ, भटमास, चना आदि खाद्यवस्तुहरु घट्टमा मसिनो गरी पिसेर तयार गरिएको हाम्रो परम्परागत खाद्य परिकारलाई सातु भनिन्छ । सातुलाई दुध, दहि, मोही वा पानीमा मिलाएर त्यसमा मह, चिनी, सख्खर वा नुन राखेर खाने गरिन्छ ।

– पुवा ः चामल वा कोदोको पिठोमा नरिवल, काजु, छोडा मिसाएर घ्युमा पकाएर तयार गरिएको खाद्य परिकारलाई पुवा भनिन्छ । कोदोको पुवा सुत्केरी आमाको स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ । डाँगी समुदायमा आफ्नो कुलपूजामा बग्गेश्वरी देवीको मुख्य प्रसादको रुपमा गाइको घ्युमा चामलको पिठोको पुवा बनाउने परम्परा रहेको छ ।

– खिर ः गाई वा भैंसीको दुधमा चामल पकाएर तयार गरिएको हाम्रो स्थानीय परिकारलाई खिर भनिन्छ । खिरमा उपलब्ध भएसम्म काजु, बदाम, नरिवल, छोडा र चिनी वा सख्खर पनि राखेर पकाउने गरिन्छ । दुध र उखुको रसमा पकाइएको खिरलाई रापे खिर भनिन्छ ।

खिर बालबालिका देखि युवा, वृद्ध सबैको लागि मनपर्ने भोजन हो । हाम्रा स्थानीय चाडपर्वहरु सङ्क्रान्ति, न्वागी, तीज, कृष्ण जन्माष्ठमी र अन्य धार्मिक तथा साँस्कृतिक पुजा, अनुष्ठानहरुमा खिरको विशेष महत्व रहने गर्दछ ।

– सिल्ला ः गाई वा भैंसीको दुधमा गहँुको पिठो पकाएर तयार गरिएको हाम्रो स्थानीय परिकारलाई सिल्ला भनिन्छ । सिल्ला पकाउदा गहुँको पिठोलाई पानीमा मुछेर बेलनाको सहायताले रोटी बनाउने र उक्त रोटीलाई हातले लुछेर टुक्राटुक्रा बनाउदै राम्रोसँग पाकेको दुधमा राखेर पकाइन्छ ।

– कुरौनी ः गाई भैंसीको दुधलाई धेरै बेरसम्म पकाएर बाक्लो पारी तयार गरिएको हाम्रो स्थानीय खाद्य परिकारलाई कुरौनी भनिन्छ । कुरौनीलाई अर्को शब्दमा खुवा पनि भनिन्छ ।

– बिलौनी ः गाई वा भैंसीको नौनी खारेर घ्यु बनाउदा त्यस्तो नौनीमा चामल राखेर पकाइएको हाम्रो स्थानीय परिकारलाई बिलौनी भनिन्छ ।

– सिन्की ः मुलाको जरा र पातलाई अमिल्याएर तयार गरिएको हाम्रो स्थानीय तरकारीलाई सिन्की भनिन्छ । मसिनो गरी काटेको मुलाको जरा र पातलाइ ढिकीमा कुटेर धुलो पारी तामाको वा माटोको भाँडोमा खाँदेर अमिलो हुने गरी करिब दुई हप्तासम्म गुम्स्याएर चार पाँच दिन रापिलो घाममा सुकाए पछि सिन्की तयार हुन्छ । सिन्की साँधेर अचार वा झोलिलो तरकारी बनाएर रोटी, ढिँडो वा भातसँग खाने गरिन्छ । राम्रो सँग घाममा सुकेको सिन्कीलाई केहि महिना पछिसम्मको लागि भण्डारण गरेर राख्न पनि सकिन्छ ।

– ढिँडो ः मकै वा कोदोको पिठोबाट तयार गरिएको हाम्रो स्थानीय परिकारलाई ढिँडो भनिन्छ । ढिँडो सँग सिस्नो, रायोको साग, सिन्की, माछामासु, दुध, दहि वा मोही इत्यादि मिलाएर खाने गरिन्छ । धान, चामलको उत्पादन कम हुने वा उत्पादन नै नहुने पहाडि र हिमाली भेगमा ढिँडोलाई महत्वपूर्ण खाद्य परिकारको रुपमा लिने गरिन्छ ।

-खिचडी÷जाउलो ः दाल, चामल, नुन, मसला इत्यादि एकै भाँडोमा मिसाई पकाइएको हाम्रो स्थानीय परिकारलाई खिचडी भनिन्छ । खिचडीलाई अर्को शब्दमा जाउलो वा खिच्रो पनि भन्ने गरिन्छ । प्रायः सबै प्रकारका बिरामीहरुको स्वास्थ्यको लागि यो खाद्य परिकार खुवाउनु उपयुक्त मानिन्छ ।

– लिटो ः भात नखुवाएका र आमाको दुध कम आउने दुधे बालबालिकाहरुलाई खुवाउन बनाईएको खाद्य परिकारलाई लिटो भनिन्छ । लिटोलाई आधुनिक स्वास्थ्य विज्ञानको परिभाषामा सर्वोत्तम पिठो पनि भन्ने गरिएको पाइन्छ । भुटेको चामल, गहुँ मकै, भटमास, चना इत्यादि घट्टमा पिसेर मसिनो पिठो तयार गरिन्छ । यसरी तयार गरेको पिठोलाई दुधमा थोरै मात्रामा चिनी वा सख्खर राखेर पकाइ लिटो तयार गरिन्छ । बालबालिकाहरुको स्वास्थ्यको लागि बजारमा बिक्रिको लागि उपलब्ध अन्य खाद्यपदार्थहरु भन्दा लिटो नै उपयुक्त हुने डाक्टरहरुले समेत सल्लाह दिने गरेका छन् ।

– बिरुँडा÷बिरौंला÷क्वाँटी ः मास, गहत, गुरुस, केराउ, गहुँ आदि पाँच प्रकारका गेडागुडीहरु पानीमा भिजाई टुसा निस्केपछि पकाएर तयार गरिएको परिकारलाई बिरुँडा वा बिरौँला भनिन्छ । खस समुदायमा विशेष गरी कर्णाली र सुदुर पश्चिम प्रदेशमा मनाइने गौरा पर्वमा देवीलाई चढाउने र देवीको प्रसादको रुपमा बिरुँडा खाने गरिन्छ ।

जनैपुर्णिमा पर्वमा नेवारी समुदायमा केराउ, चना, मुगी, मास, सीमी आदि दाल जातका गेडागुडी भिजाएर टुसा निक्लिएपछि पकाइएको विशेष परिकार क्वाँटी खाने परम्परा समेत रहेकोे छ ।

– सिरौँला ः धान उसिनेर त्यसलाई घाममा सुकाइ त्यसरी सुकाइको धानलाई फेरि अगेनाको तापमा भुचुङ्गोमा राखेर भुट्ने र भुटेको धानलाई ढिकीमा कुटेर त्यसबाट निस्केको चामललाई खाजाको रुपमा खान सकिने हाम्रो स्थानीय परिकारलाई सिरौँला भनिन्छ ।

– उमी ः हरियो बोटसहित पोलेर तयार गरिएको गहुँको बालाको कलिलो दानालाई उमी भनिन्छ । खस समुदायमा हरेक वर्ष गहुँको न्वागी खाने पर्वमा उमी खाने प्रचलन रहेको छ ।

– सिस्नो ः सिस्नोको कलिलो मुन्टाहरु टिपेर त्यसलाई तरकारीको रुपमा पकाएर खान सकिन्छ । राम्रोसँग उम्लिएको तातो पानीमा सिस्नोको मुन्टाहरु राखेर पकाउने र त्यसमा थोरै मकै वा चामलको पिठो र मसलाहरु समेत राखेर लेदो हुने गरी सिस्नो पकाउने गरिन्छ । यसरी पकाइएको सिस्नोको परिकार रोटी, ढिँडो वा भात सँग खान सकिन्छ ।

– निउरो ः ओसिलो वा चिस्यान भएको खासगरी खेत, कुलो, ससाना खोला वा खोल्साको आसपासमा पाइने उनिउँ प्रजातिको वनस्पतिमा पर्ने हाम्रो स्थानीय तरकारीलाई निउरो वा निहुरो भनिन्छ । निउरोलाई कतै कतै निगुरो पनि भन्ने गरिन्छ । निउरोका विभिन्न प्रकारहरु हन्छन् । जस्तै ः डाँठे निउरो, झुसे निउरो, कान्ले निउरो इत्यादि । निउरो रोटी, ढिँडो, दालभात, खिर इत्यादि खानेकुरा सँग सब्जी वा तरकारीको रुपमा खाने गरिन्छ ।

– सिमेसाग ः पानी जमेको सिम, खेत कुलो वा खोलाको किनारमा उम्रने एक प्रकारको प्राकृतिक सागलाई सिमेसाग भनिन्छ । सिमेसाग रोटी, ढिँडो, दालभात सँग सब्जीको रुपमा खाने गरिन्छ ।
-च्याउ ः वर्षातको समयमा मकै, कोदो, अदुवाको बारीमा, काठको मुढा, बनजङ्गल वा काल्नामा उम्रने ढुसी प्रजातीको प्रशस्त मात्रामा प्रोटिन पाइने खाद्य पदार्थलाई च्याउ भनिन्छ । च्याउ सयौं प्रकारका हुने गर्दछन् ति मध्ये कतिपय च्याउ अत्यन्त विषाक्त पनि हुन्छन् । हाम्रा पुर्खाले खान मिल्ने र खान नमिल्ने च्याउका विभिन्न प्रजातिहरु आफ्नै अनुभवबाट प्रयोग सिद्ध गर्दै पत्ता लगाएका थिए । जसको कारण हालसम्म पनि हामीले ढुक्कसँग च्याउ खाँदै आएका छौं । कालिङ्गे च्याउ, भुचुङ्गे च्याउ, बगाले च्याउ, कान्ले च्याउ, सङ्ग्राइने च्याउ, काने च्याउ, मुसुरे च्याउ, गख्र्या च्याउ इत्यादि खान मिल्ने च्याउका नामहरु हुन् ।

– वनजङ्गलमा पाइने बोटबिरुवाहरुबाट प्राप्त हुने अन्य खाद्य परिकारहरु ः कुरीलोको डाँठ, कोइरालोको पूmल, सागिनोको पूmल, काब्रोको पूmल, गिठा, तरुल, कन्दमूल इत्यादिको तरकारी वा अचारका परिकारहरु बनाएर पनि खाने गरिएको पाइन्छ । यी खाद्यपरिकारहरुमा औषधीय गुणहरु समेत हुने भएकोले स्वस्थ मानिस र विभिन्न रोगका बिरामीहरुको लागि समेत अत्यन्त लाभदायक हुने गर्दछन् ।

– अचार÷चट्नी ः नुन, खुर्सानी, बेसार, धनियाँ, पुदिना (बासमति झार), लसुन, प्याज, गोलभेडा, उसिनेको आलु, अदुवा, टिमुर, भाङ्गो, कागति, तिल, तिलमिलो, जिरा, मरिच इत्यादि मध्ये केही मसलाहरु मिलाएर तयार पारिएको अमिलो, पिरो खाद्यपरिकारलाई अचार वा चट्नी भनिन्छ । अचार दालभात वा खिर, रोटी वा ढिडोसँग मिलाएर खाने गरिन्छ ।

हाम्रो स्थानीय समुदायमा बाँसको तामा, तितेकरेला, मुला, अदुवा, काँक्रो आदिलाई रायो र तोरीको तेलमा मिलाएर माटो, काठको भाँडो वा काँच, प्लाष्टिकको भाँडोमा घामको तापमा कुवाएर पनि अचार बनाउने गरिन्छ ।

कर्णाली सभ्यतामा प्रचलित हाम्रा स्थानीय खाद्य परिकारहरु

६ वर्षमा बल्ल बन्यो कार्यविधि त्यो पनि

कर्णाली सभ्यतामा प्रचलित हाम्रा स्थानीय खाद्य परिकारहरु

YUGAAWHAN NATIONAL DAILY (2081-01-19)