चिसो बढेका कारण उपल्लो डोल्पा नाकामा गतिविधि शून्य


उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण चीनतर्फ नाका खुल्ला गरिए पनि आवतजावत हुन सकेको छैन । आर्थिक गतिविधिहरु सुचारु गरी मानवीय जनजीवनलाई सहज तुल्याउनका लागि चीन र नेपालतर्फको सीमा नाका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत शुरु हुन नसकेको हो ।
शे फोक्सन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले चिसोको कारण गतिविधि ठप्प रहेको बताए । चसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो । अध्यक्ष धावाले भने,‘सदरमुकाम दुनै गएर सीमा पास बनाइ उपल्लो डोल्पामा आउँदा–आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण जान र आउन नसक्दा खुल्ला गरिएको सीमाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।’
सीमा क्षेत्र खुलाउनका लागि भारी मेहनत गरेको उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले सीमा क्षेत्र खुल्ला गरे पनि लाभ हुन नसक्दा समस्य भएको बताए । पूर्व मन्त्रीसमेत रहेका शाहीले भने,‘ चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा गतिविधिहरु हुन सकेका छैनन् । म काठमाडौँ जादै छु, बाँकी कामहरु उतैबाट सल्टाएर अगाडि बढाइने छ ।’
डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले तीन महिने प्रगति विवरणमा सीमा खुलाउने विषयलाई समेटेकेका छन् ।
प्रजिअ पोखरेलकाअनुसार चिसोकै कारण समस्या आएको हो । प्रक्रिया पुरा गर्दा गर्दै ढिला भएकाले चिसो बाधक बनेर आएको उनको भनाइ छ । १४ नम्वर क्याटो र १५ नम्वर मरिम्ला नाका चीनसँग जोडिएको छ । स्वयत्त तिब्बतको सिगाचेस्थित डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोभिडका कारण खुल्न नसकेको नाका निकै लामो प्रयासपछि खुले पनि सदुपयोग हुन सकेको छैन ।
उपल्लो डोल्पामा खाद्यान्नलगायतका अन्य सामग्रीहरु ढुवानी तथा आयात गर्नका लागि गरिएको प्रयास प्रकृतिका कारण फेरि रोकिएको छ । उपल्लो डोल्पामा तीन वटा पालिका रहेका छन् ।
चिसोका कारण उपल्लो डोल्पाका स्थानीयवासीहरु तल तीर झर्ने समयसमेत शुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्छन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगिसकेका छैनन् ।






