स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा शुरु


दुर्गमको एउटा स्वास्थ्य संस्थाले बिरामीहरुका लागि टेलिमेडिसिन सेवा शुरु गरेको छ । स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान भइरहेको बेला बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्नका लागि आधार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सो सेवा प्रदान गर्न लागिएको हो ।

सिमकोट गाउँपालिका–७ को चौगानफया गाउँका प्रेमबहादुर शाहीले गाउँको सामुदायीक स्वास्थ्य एकाइले बिरामीहरुका लागि हरेक हप्ताको शनिवार दुई घण्टा टेलिमेडिसिन सेवा शुरु भएसँगै बिरामीहरुलाई सहज भएको बताए ।

उनले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरुमा काठमाडौंका विशेषज्ञ चिकित्सकसँग उक्त सेवा बिरामीले पाउन थालेपछि धेरै सहज भएको बताए । उक्त स्वास्थ्य एकाइका स्वास्थ्कर्मी ज्ञानबहादुर शाहीले टेलिमेडिशिन सेवा हरेका हप्ताको शनिवार बाह्रदेखि दुई बजेसम्म बिरामीका लागि सेवा प्रदान गर्ने गरिएको बताए ।

उनले स्वास्थ्य एकाइमा स्वास्थ्यकर्मीले बिराम र त्यसका लक्षणहरु सोध्ने र अनलाइन वा मोवाइलमा कल गरेर काठमाडौंमा रहेका विशेषज्ञ चिकित्सक नवीन बाँस्तोलासँग सम्पर्क गरेर सेवा लिने गरिएको बताए । चिकित्सकले लक्षण र रोगको बारेमा जानकारी पाएपछि औषधि र बिरामीले बार्नुपर्ने खानेकुरा र अन्य उपाय बताउँदै आएको उनले बताए ।

स्वास्थ्य संस्थामा बिरामीका लागि औषधि उपलब्ध नभए आधार नेपालले काठमाडौंबाट चिकित्सकको प्रिसकिप्सन अनुसार औषधि खरिद गरेर स्वास्थ्य एकाइमार्फत बिरामीलाई उपलब्ध गराउने व्यवस्था गर्ने गरिएको छ ।

यो सेवा शुुरु भएयता चौगानफया गाउँका ४० जना बिरामीले उपचार सेवा लिन सफल भएको र हालसम्म कसैलाई जिल्ला अस्पताल र बाहिर रिफर गर्नु नपरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए ।

सेवा निक्कै उपलब्धिमूलक भएको बताउँदै उनले अन्य स्वास्थ्य संस्थाहरुमा समेत सेवा विस्तार गर्ने तयारीमा शाखा रहेको बताए । यसका लागि बिरामी र स्वास्थ्य एकाइले कुनै शुल्क भने तिर्नुपर्दैन ।

यसबाट दीर्घ रोगका बिरामीहरुलाई निक्कै सहज भएको छ भने आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्था भने आधार विकास नेपालले सहयोग गर्दै आएको छ । न्यून आर्थिक अवस्थाका बिरामीका लागि यो सेवाले उपचारमा सघाउ पु¥याएको छ ।

स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा शुरु

कर्णालीका ८९ प्रतिशत नागरिक खानेपानीको पहुँचमा

स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा शुरु

चिसो बढेका कारण उपल्लो डोल्पा नाकामा गतिविधि