भाषा जोगाउन हाम्मो स्थानीय विषय


जुम्ला खस भाषाको उद्गम थलोका रुपले चिनिन्छ, खस भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट शुरु भएको जानकारहरु बताउँछन् । तर,अहिलेसम्म आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम उतिकै बढिरहेको देखिन्छ । यही कुरालाई ख्याल गरेर जुम्लाका तीन वटा स्थानीय तहले विद्यालयमा खस भाषाको पाठ्यक्रम लागू गरेका छन् ।
जुम्लाको चन्दनाथ नगरपालिका, तातोपानी गाउँपालिका र सिँजा गाउँपालिकाले खस भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरी ‘हाम्मो स्थानीय विषय’ पढाउन लागेका हुन् । यसले गर्दा खस भाषाको संरक्षण र प्रचारप्रसारमा टेवा पुगेको स्थानीय सरोकारवालाहरुको दाबी छ।तातोपानी गाउँपालिका–६ का चेतन कामी फटाफट खस भाषा बोल्छन् ।
खस भाषामै लेख्छन् र संवाद पनि गर्न सक्छन् । छोराले खस भाषामा पढेको सुन्दा उनका अभिभावक पनि दंग छन् । सानै उमेरदेखि आयातित भाषाको प्रयोग गर्न सिकाउन थालेपछि खस भाषाको प्रयोग हुनै छाडेको थियो ।
हाम्मो भाषा हामीले नै बिर्सँदै थियौं, अब पालिकाले सबै विद्यालयमा खस भाषा पढाउने व्यवस्था गरेपछि खुसी लागेको छ, चेतनका बुवा शिव सुनारले भने । बसन्त आधारभूत विद्यालय रावतबाडामा कक्षा १ मा पढ्ने चेतन शिक्षकहरुसँग पनि खस भाषामै संवाद गर्छन् । सर पनि हाम्मै भाषामा बोल्दाछन् । पहिला सरम लाग्दोछियो, अब त खुसी लाग्छ,उनले भने ।
तातोपानीको बसन्त आधारभूत विद्यालयमा अध्ययनरत ५ वर्षीया उषा कामी विद्यालय जान थालेको पहिलो वर्षमै खस भाषामा अध्ययन गर्न पाउँदा मख्ख छिन् ।
घरमा बोल्ने भाषाशैली पुस्तकमा भेटाउँदा उनलाई सहज पनि भएको छ । किताबमा हाम्मै गाउँठाउँका चित्र छन् । सजिलो पनि छ,उनले भनिन् । जुम्लाका ४ वटा स्थानीय तहहरु चन्दननाथ नगरपालिका, सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाले खस भाषाको पाठ्यक्रम लागू गरिएको चेतन र उषाजस्ता बालबालिकाहरु विद्यालय गएको पहिलो वर्षमै आफ्नो मातृ भाषासँग घुलमिल हुने थालेका छन् । हिजो केन्द्रबाट आउने पाठ्यक्रममा मात्र पढ्न बाध्य बालबालिकाहरु अहिले आफ्नै मातृभाषामा पढ्न पाउँदा उत्साहित पनि छन् ।
उनीहरुले आफ्ने घर छेउछाउमा रहेका धारा, पधेंरा, मठमन्दिर, पुरातात्विक सम्पदाहरुका बारेमा अध्ययन गर्ने मौका पाएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाले खस भाषाको संरक्षण गर्न र आफ्नो क्षेत्रभित्रको कला, संस्कृतिको प्रचारप्रसारका लागि हाम्मो स्थानीय विषय नामक पाठ्यपुस्तक प्रकाशित गरेको छ ।
गाउँपालिकाभित्रका ३० विद्यालयमा अध्ययनरत दुई हजार ६ सय १८ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक पढिरहेका गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले बताए ।
उनका अनुसार २०७६ सालमा स्थानीय पाठ्यक्रम बनेर पुस्तक प्रकाशन भएपछि खस भाषाको पठनपाठन थालिएको हो । पाठ्यपुस्तक बन्नुअघि सबै शिक्षकहरुलाई तालिम दिइएको उनले जानकारी दिए । पुस्तकमा तातोपानीमा रहेका धार्मिकस्थलहरु, भूगोल, व्यक्ति–व्यक्तित्व, जडिबुटी, कृषिजन्य रैथाने बालीको परिचयसमेत समेटिएका छन् ।
उनले भने,तातोपानी गाउँपालिकामा अहिले कक्षा ३ सम्म खस भाषाको पाठ्यपुस्तक बनेको छ । चालू शैक्षिकसत्रदेखि लागू गर्ने गरी ४ र ५ कक्षाको पुस्तक प्रकाशित भइसकेको छ । कक्षा ३ सम्मको पुस्तकमा पालिकाभित्र रहेका विषयबस्तुहरु पढाइन्छ । कक्षा ४ र ५ मा साविकको कर्णाली अञ्चलबारे समावेश गरिएको शिक्षा शाखा प्रमुख शाहीले बताए ।
स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई निकै फाइदा पुगेको छ, उनीहरुले आफ्नो वरिपरि रहेका स्थानीय जनजीवन, कला–संस्कृति, भेषभूषा, भूगोल, बालिनालीबारे आफ्नै बोल्ने लवजमा पढ्न पाउँछन।तातोपानी गाउँपालिकाले ४ लाख रुपैयाँ लगानीमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेको हो ।
हरेक ३ वर्षमा नयाँ पाठ्यपुस्तक छपाइने गाउँपालिकाले जनाएको छ । कक्षा ४ र ५ को पाठ्यपुस्तक छाप्न साढे ४ लाख रुपैयाँ छुट्याइएको शिक्षा शाखा प्रमुख शाहीले बताए । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बालबालिकाहरुमा सानैदेखि कला–संस्कृतिको रक्षा, पर्यटन क्षेत्रको प्रचार–प्रसार, कृषिको महत्वबोध गराउन खस भाषाको स्थानीय पाठ्यपुस्तक बहुउपयोगी भएको बताए ।
विद्यालयको पाठ्यपुस्तकमा स्थानीय भाषा, संस्कृति, जनजीवन राख्दा त्यसले बालबालिकालाई आफ्नो क्षेत्रप्रति सकारात्मक भावना उत्पन्न हुने बताए । स्थानीय सरकारको उद्देश्य भनेकै स्थानीयपनमा शिक्षा–दिक्षा दिने, स्थानीयबासीका समस्या सुनेर सम्बोधन गर्ने रहेको हुन्छ,उनले भने,सोहीअनुसार हामीले संविधानले दिएको अधिकार प्रयोग गरी पाठ्यक्रम लागू गरेका हौं ।सिँजा उपत्यका खस सभ्यताको उद्गम केन्द्र हो ।
त्यसैले सिँजा गाउँपालिकामाथि खस भाषाको प्रवद्र्धन गर्नुपर्ने थप जिम्मेवारी छ । यही कुरालाई मनन् गर्दै गाउँपालिकाले २२ वटै विद्यालयमा खस भाषाको पाठ्यपुस्तक लागू गरेको छ ।
अहिले कक्षा ३ सम्मका हरेक विद्यार्थीको हातमा खस पाठ्यपुस्तक छन् । २०७८ मा सम्पन्न सिंजा गाउँपालिकाको नवौँ गाउँसभाले सिँजाका विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषामा पढाउने निर्णय गरेको थियो ।
गाउँपालिका पूर्वअध्यक्ष देवलसिंह रावल खस भाषा सिँजा र सिंगो जुम्लाको पहिचान भएको बताउँछन् । खसहरूले देखाएको बीरताको चिनारीलाई जीवन्त राख्न खस भाषामै पाठ्यक्रम बनाइएको उनले बताए ।
नेपाली भाषाको केन्द्रबिन्दु मानिएको सिँजामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो, अब यहाँको इतिहास बालबालिकाले खस भाषामै पढ्न पाउने छन् ।
उनले भने,यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्नेछन् । सिँजामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बालबालिकाले खस भाषा संस्कृतिको बारेमा सहजै जानकारी दिन सक्ने भएका उनले बताए ।
यता चन्दननाथ नगरपालिकाले २०७६ देखि नै स्थानीय भाषामा पाठ्यपुस्तक बनाएर पढाइरहेको छ । अहिले ३ कक्षासम्म स्थानीय भाषा पढाइ भइरहेको छ ।
४ र ५ कक्षामा यही वर्षदेखि पढाइ सुरु हुने नगर प्रमुख राजुसिंह कठायतले बताए । आगामी वर्षदेखि कक्षा ८ सम्म पाठ्यपुस्तक बनाएर पठनपाठन गरिने उनको भनाइ छ ।
‘विद्यालयस्तरमा मातृभाषाको शिक्षण प्रभावकारी बनाउन पाठ्यपुस्तक बनेका छन्, यसले स्थानीय भाषा संस्कृतिको जगेर्नामा टेवा पुगेको छ,’ उनले भने,क्रमिक रुपमा माध्यमिक तहसम्म स्थानीय भाषाको पाठ्यक्रम लागू गरिनेछ ।

अहिले हरेक कक्षामा १ सय पूर्णाङ्कको पाठ्यपुस्तक लागू गरिएको छ । यसको पाठ्यभार ४ रहेको छ । चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईँले कक्षा ३ सम्म नगरपालिकाभित्र केन्द्रीत विषयमात्रै समेटिएका बताए ।
कक्षा ४–५ सम्म जुम्ला जिल्लाभित्रका र ६–८ सम्म साविक कर्णाली (हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट) को जीवनशैली, भूगोल, पर्यटकीयस्थल, कला–संस्कृतिबारे समेटिने उनले बताए । राराताल, फोक्सुण्डो ताल, पचालझरना, चन्दननाथ मन्दिरलगायत पर्यटकीय, धार्मिक र सांस्कृतिक सम्पदाहरुको पठनपाठन स्थानीय पाठ्यक्रममा समावेश भएको छ,उनले भने, हरेक विद्यालयले आफ्नो अनुकूलताको आधारमा पढाइरहेका छन् ।
खस भाषाको शव्दकोष ‘खसिया आखर’ लेखिरहेका रमानन्द आचार्य पनि विद्यालयमा खस भाषाको पाठ्यक्रम लागू हुँदा निकै उत्साही छन् ।
खस भाषाबाटै नेपाली भाषा जन्मिएकाले खस भाषा संरक्षणमा गर्नु राम्रो पक्ष भएको बताए। नेपाली भाषाको उद्गमस्थल सिँजामा जतिबेलादेखि नागराजले खस राज्यको स्थापना गरेका थिए, त्यतिबेलादेखि खस भाषाको बोलचाल प्रारम्भ भएकोले खस भाषाभित्र खस सामाज्यको इतिहास जोडिएको उनले तर्क गरे ।
आचार्यले खसिया आखरमा झण्डै ३५ हजार शव्द संकलन गरेका छन् । आर्थिक अभावका कारण शब्दकोश प्रकाशन हुन सकिरहेको छैन । सबै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग खस शब्दकोश प्रकाशनको लागि आग्रह भए पनि कसैले सुनुवाइ नगरेके उनले गुनासो गरे । विद्यालयहरुमा स्थानीय पाठ्यपुस्तक बनाएर पठनपाठन भइरहेको छ, यसले सबैभन्दा बढी मलाई खुसी तुल्याएको छ, उनले भने,यो शब्दकोश प्रकाशन भइदिएको भए विद्यालयहरुको राम्रो सन्दर्भ सामाग्री बन्थ्यो होला, नयाँ पाठ्यपुस्तक बनाउन थप सहजता ल्याउने थियो ।

जुम्लाका स्थानीय तहले खस भाषाको संरक्षण र विकासको लागि स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । पाठ्यक्रम जुम्लाका ३ स्थानीय तहका ७१ विद्यालयमा लागू भएको छ । यसबाट करिब १० हजार बालबालिका खस भाषामा पढ्न थालेका छन् ।
जुम्लाका पातारासी, गुठिचौर, कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले पनि खस भाषाको पाठ्यक्रम लागू गर्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले खस भाषाको पाठ्यपुस्तक समय सान्दर्भिक हुने बताए । आधुनिक भाषा, संस्कृति र संस्कारका कारण रैथाने खस भाषा–संस्कृति लोप हुने अवस्थामा छ, उनले भने, अब तल्लो कक्षादेखि नै स्थानीय विषयबस्तुमा आधारिक खस पढाइ सुरु गर्दा राम्रो हुने देखिन्छ ।






