रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरुले बिर्सन थालेका छन् । संघीय संरचना स्थापनार्थ बलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधीन पुस्तकालयको भवन रकम अभावमा अलपत्र परेको छ ।
शहीद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा ४० लाख रुपैयाँमा दुई किस्तामा पुस्तकालयको काम भएको छ ।
तर, पछिल्लो समयमा रकम व्यवस्थापन नहुँदा भवन निर्माण हुन नसकेको उनी बताउँछन् । उनले भने क्रमागत बजेट पनि के भयो थाहा भएन । तातोपानी गाउँपालिका–७ साविक (ताम्ति गाविस) १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधीन अवस्थामा रहेको पुस्तकालय अलपत्र अवस्थामा रहेको हो ।
अलपत्र शहीद हरिबहादुर बहुउद्देश्यीय स्मृति पुस्तकालयमा पहिलो तल्ला वाचनालय, दोस्रो तल्ला पुस्तकालय र तेस्रो तल्ला कार्यालय गरी बनाउने गरी डीपीआर तयार गरिएको थियो । जसको लागत १ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।शहीदको सम्झनामा शुरु गरिएको पुस्तकालय भवनको विषयमा अहिले जनप्रतिनिधि, राजनीतिक दल कसैको पनि चासो छैन । कर्णाली प्रदेश सरकारले पनि यो विषयमा ध्यान दिएको छैन् ।
शहीद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुवँरका अनुसार हरिबहादुरको विषयमा परिवार र नजिकको शुभ चिन्तकले मात्रै नभइ राज्यले अपनत्व दिनुपर्ने हुन्छ ।
शालिक राख्ने ठाउँ पाइएन:
स्वायत्त कर्णाली राज्यको माग गर्दै आन्दोलनमा गोली लागि निधन भएका हरिबहादुर कुँवरको शालिक गोली लागेको ठाउँमा राख्ने निर्णय भएको थियो।यसमा राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको बैठकलेसमेत शहीदको शालिक बजार नजिक गोली लागेको ठाउँमा राख्ने निर्णय गरेका थिए । तर जग्गा पाउन नसकेपछि कुँवरको शालिक निर्माण भए पनि शालिक भने काठमाण्डौमै थन्किएको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडि नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय अगाडि शालिक राख्ने भने पनि पछि भने स्थान टुङ्गो नलाग्दा शालिक राख्न सकिएको छैन ।
शहीद कुँवरका दाजु राजबहादुर कुँवरका अनुसार १३ लाख रुपैयाँको लागतमा काठमाण्डौमा शालिक बने पनि स्थान टुङ्गो नलाग्दा सालिक त्यसै थन्किएको छ।
प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शीर्ष राजनीतिक दलले शुरुवाती चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश हो, कर्णाली प्रदेश,जुम्लासहित माथिल्लो कर्णाली र सुर्खेतसहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछि चार जनाको बलिदानीले सरकारले सातौँ प्रदेश कर्णाली प्रदेशको घोषणा ग¥यो ।
यही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भीर घाइते भइ भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । सुर्खेतमा पनि चर्किएको आन्दोलनमा तीन जनाको ज्यान गएको थियो । सरकारले उनीहरुलाई पनि शहीद त घोषणा गरेको छ ।
तर शहीदको बलिदानीको उद्देश्य के हो भन्ने विषयमा ध्यान नदिएको शहीद कुँवरका दाजु राजबहादुर कुँवरले बताए।उनले भनेर शहीदको बलिदानीले कोही मन्त्री भए कोही सांसद भए तर यस विषयमा चासो देखाएनन् । यता प्रदेश सांसद देवेन्द्रबहादुर शाही शहीदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् ।उनले भवन अलपत्र भएको विषय आफूलाई जानकारी नभएको बताए ।
यस्तै नागरिक समाज जुम्लाका संयोजक तथा स्वायत्त कर्णाली प्रदेशमा घाइते हुनु भएका राजबहादुर महतले भने,कर्णाली आन्दोनको मुख्य उद्देश्य जुम्ला राजधानी नै थियो ।
शहीदको बलिदानी पनि भयो, अहिले सम्मका जनप्रतिनिधिको कुनै चासो देखिएन, प्रदेशमा पनि, जिल्लामा पनि खासै चासो दिएको देखिँदैन। प्रदेश आन्दोलनको महत्व प्रदेशकै नेताहरुले बुझ्नुपर्छ । प्रदेशको राजधानीमा शालिक र जिल्लामा पनि शालिक निर्माण गरिनुपर्ने छ ।
घाइतेहरुको सवालमा पनि सम्मान गर्न आवश्यक रहेको छ।
जुम्ला निवासी बुद्धिजीवि हरिहर न्यौपानेका अनुसार हरिबहादुर कुवँरले दिएको बलिदानीको योगदान गर्दै प्रदेश सरकारलाई केही वर्षअघि बजेट क्रमागतमा राखेको थियो । तर के भयो थाहा नभएको र पूरा गर्न सबै लाग्नुपर्ने उनको जोड छ।सरकारले हरिबहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको थियो ।






