खरायोको मासुबाट भन्दा ऊनको टोपीबाट बढी फाइदाः रोकाया कृषक


सुर्खेत ।
कर्णाली प्रदेश सरकारले अनुदानमा दिएको खरायोबाट सुरु गरेका चन्दननाथ नगरपालिका– ८ उमखलाका पदमबहादुरले अहिले एक सय ३० वटा खरायो पालेका छन् ।
उनले ४० वटा खरायो बिक्री गरिसकेको बताएका छन् । वार्षिक ४० देखि ५० वटासम्म उनले खरायोको उनबाट बनेको टोपी उत्पादन गरी बिक्री गर्ने गरेको सुनाए ।
रोकाया खरायोपालक कृषक हुन् । उनले ३० वर्षदेखि खरायोपालन गर्दै आएका छन् । विशेष गरी खरायोको ऊनबाट टोपी उत्पादन गर्ने गरिन्छ । खरायोबाट मासु पनि उत्पादन हुन्छ । तर, किसानले खरायोको ऊनको टोपीबाट बढी फाइदा लिने गरेका छन् । खरायोको ऊनबाट टोपी, गलबन्दी, स्विटर उत्पादन हुने भए पनि बजारमा बढी टोपीकै माग छ ।
एउटा टोपी तीन हजारदेखि तीन हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । उनले भने, ‘अहिले मेरो मुख्य पेसा नै खरायो पालन हो । यसबाट राम्रो आम्दानी छ । घर–व्यवहार चलाउन सहज भएको छ ।’
पदमबहादुरजस्तै स्थानीय भैरव धराला, सुकधुने बोहरा, वृषबहादुर धराला, भक्तबहादुर रावललगायतले खरायो पालन गर्दै आएका छन् । खरायोको ऊनबाट बनेको टोपी ‘हाइप्रोफाइल’ व्यक्तिहरूले खरिद गर्ने गरेका किसानहरू बताउँछन् । उत्पादन कम र बजारमा माग बढी भएकै कारण महँगो मूल्यमा बिक्री हुने गरेको हो ।
चन्दननाथ नगरपालिकाको वडा नम्बर ८ र ९ का किसानले खरायोपालन गर्दै आएका छन् । खरायोको ऊनको टोपी बढीजसो सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेता, जनप्रतिनिधि, व्यापारीले खरिद गर्ने गर्दछन् ।
आफूभन्दा माथिल्ला ओहोदाका कर्मचारी वा नेताहरूलाई उपहार दिनका लागि खरिद गर्ने गरेको किसानहरू बताउँछन् ।
खरायोपालक किसान वृषबहादुर धराला भन्छन्, ‘सरकारको सानो सहयोगले परिवारकै लागि रोजगारी मिलेजस्तो भएको छ ।’ उनी आफूले ऊन कात्ने, भाइले टोपी बुन्ने र परिवारका अन्य सदस्यले अरू सहयोग गर्दै आएको बताउँछन् । ‘अहिले घरमा ७० वटा खरायो छन् । दुई खरायोको ऊनबाट एक टोपी हुन्छ,’ उनले भने । वृषबहादुरका अनुसार अंगुरा जातको खरायोबाट हरेक तीन महिनामा ऊन निकाल्न सकिन्छ ।
किसानले बर्सेनि एकदेखि दुई लाखसम्म आम्दानी भइरहेको बताएका छन् । उचित खोर व्यवस्थापन, आधुनिक औजार र दाना पिस्ने मेसिनको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।
चन्दननाथ बहुउद्देश्यी सहकारी जुम्लाका प्रमुख ऋषिराम पाण्डेका अनुसार सहकारीको मिनि मार्केटमार्फत खरायोको ऊनको टोपीको बजारीकरण भइरहेको छ । ‘दुई वर्षदेखि एक हजार एक सय ७२ टोपी करिब ४१ लाख रुपैयाँबराबरमा खरायोको टोपी बिक्री–वितरण गरेका छौँ,’ उनले भने ।
खरायोको ऊनबाट आम्दानी बढी देखिएकाले गत आर्थिक वर्षमा तलिउम गाउँका पाँचजना खरायोपालन किसानलाई ५० प्रतिशत अनुदानमा पाँच सय खरायो वितरण गरिएको थियो ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाका अनुसार गत वर्ष चन्दननाथ– ८ का खरायोपालक किसानलाई प्रतिउद्योग रु. एक लाख २८ हजारका दरले पाँच सयवटा खरायो अनुदान दिइएको हो ।






