सम्पादकीयः पश्चिम सुर्खेतमा मालपोत नापीको सेवा पुर्याउ

यसअघि चौकुने गाउँपालिकाका अध्यक्ष सहित त्यहाँका नागरिकहरु टिप्पर चढेरै वीरेन्द्रनगर आएका थिए । वर्षातको समयका कारण सार्वजनिक सवारीहरु पालिकामा नपुगेपछि विरोध स्वरुप उनीहरु वीरेन्द्रनगर आउन वाध्य नै भए । सोपछि अहिले सार्वजनिक सवारी पालिका तर्फ गुडिरहेका । सुर्खेतको पश्चिम क्षेत्रमा रहेका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चोकुने गाउँपालिका विकासका दृष्टिकोणले निकै पछाडी परेका छन् । कर्णाली प्रदेशकै राजधानी रहेको जिल्लाका पालिकाहरुमा सार्वजनिक सेवामा पहुँचको अवस्था निकै दयनिय छ ।
अहिले बाबियाचौरमा रहेको ईलाका प्रशासन कार्यालयले समेत नागरिकता लगायतका सेवा प्रवाह गर्न सकेको छैन । गृह मन्त्रालयले कर्मचारीलाई समयमा नै अख्तियारी नपठाउदा ईलाका प्रसाशनले सेवा प्रवाह गर्न नसकेको हो । प्रशासनको सेवा मात्र होइन सार्वजनिक सेवा प्रवाहमा अन्यको अवस्था पनि उस्तै छ । पूर्वाधार तथा जनशक्तिको अभावकै अवस्थामा अहिले ईलाका प्रहरी कार्यालयलाई मुद्दा दर्ता तथा अनुसन्धानको अधिकार प्राप्त भएको छ । तर ईलाका प्रशासन आफैमा पूर्वाधारयुक्त भने छैन । यसका लागि प्रहरीले समेत स्थानीय तहसँग सहयोग तथा समन्वयका लागि अनुरोध गर्ने योजना गरेको छ । यसअघि सुर्खेतको पश्चिम क्षेत्रका नागरिकहरुलाई प्रहरीको सेवाका लागि उजुरी बोकेर जिल्लामा धाउनुपर्ने वाध्यता थियो । यस विषयमा भने अहिले ईलाकामै काम हुनेभएपछि स्थानीय तहले पूर्वाधारका लागि विशेष ध्यान दिन जरुरी छ । स्थानीय तह आफैले मात्र प्रहरीलाई आवश्यक पूर्वाधार निर्माण गर्न सक्दैन । पालिकाका सिमित स्रोत साधनमा उनीहरुले संघीय सरकारले पठाउनुपर्ने सेवाका लागि खर्च गर्नसक्ने प्रयाप्त स्रोतको अभाव नै छ । यसमा प्रदेश सरकार र संघीय सरकारले समेत सहयोग गर्नुपर्छ । अर्को विषय हो, पश्चिमका नागरिकलाई मालपोत र नापी सेवाका लागि पनि वीरेन्द्रनगरमै धाउनुपर्ने वाध्यता छ । यसमा प्रदेश सरकारले चाडो भन्दा चाडो सोहि क्षेत्रमा ईलाका मालपोत र नापी कार्यालयको स्थापना गराउन मद्दत गर्नुपर्ने देखिन्छ ।
पश्चिमका नागरिकलाई दैनिक जीवनमा आवश्यक यस्ता सेवाका लागि वीरेन्द्रनगर नै आउनुपर्ने वाध्यताको अन्त्य गर्नैपर्छ । वीरेन्द्नगर देखि करिव ५०–६० किलोमिटर टाढा रहेका यि क्षेत्रका नागरिकहरु सार्वजनिक सेवाका लागि सास्ती भोगिरहेका छन् । यसतर्फ सम्बन्धित पालिका तथा प्रदेश सरकार समेत जिम्मेवार बन्नै पर्छ । सुर्खेतको पूर्वका क्षेत्र भन्दा पश्चिम विकासका दृष्टिकोणमा पछाडी परेको छ । यहाँ विपद्युतको विस्तार, सहज रुपमा सञ्चारको व्यवस्था, सडकको निर्माण लगायतका विषयमा अझैपनि उचित पूर्वाधारको अभाव नै छ । केहि योजनाहरु पश्चिमका सञ्चालन भएपनि उनीहरुको काम समयमा नै पुरा भएको देखिदैन । प्रविधिको क्षेत्र समेत पश्चिम सुर्खेतका विकास भएको छैन । यि अवस्थाले त्यहाँको मानव विकास सुचकांकको अवस्था कल्पना समेत गर्न सकिदैन । प्रदेशकै राजधानी रहेका जिल्लाका पालिकाहरुको यो अवस्थामा प्रदेश सरकार पनि स्वयम् जिम्मेवार हो । प्रदेश सरकारले यस तर्फ समयमा नै ध्यान दिन जरुरी छ । यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जाओस् !






