भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी


खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन् ।
आर्थिक वर्ष २०७९-०८० को राष्ट्रपति रनिङ्ग शिल्ड र नगर प्रमुख कपको खाना तथा अन्य खर्च बापतको रकम भुक्तानी नदिएको भन्दै व्यावसायीहरुले तालाबन्दी गरेका हुन् ।
कार्यक्रममा खर्च भएको रकममध्ये भुक्तानी भएको करिब आठ लाख नगर खेलकुदको खातामा असार मै रकम गए पनि विविध समस्या देखाएर रकम भुक्तानी नगरेको उनीहरुको आरोप छ ।
खेलकुद आयोजकले पेश गरेको बिल भरपाई अनुसार नै भुक्तानी गर्ने हो भने अँझै १० लाख ४५ हजारभन्दा बढी रकमको भुक्तानी अन्योलमा परेको छ । स्थानीयका अनुसार करिव १७ जनाभन्दा बढी व्यावसायीहरुको नगरपालिकाबाट भुक्तानी हुन बाँकी छ ।
तालाबन्दीपछि अहिले नगरमा छलफल भईरहेको स्थानीय अगुवा सुरेन्द्र शाहीले बताए ।






