घृणायुक्त अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण


राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डौमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले शुक्रवार विज्ञप्ति निकालेर घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ । काठमाण्डौमा राष्ट्रिय युवा सङ्घ नेपाल र ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का नामबाट व्यवसायी दुर्गा प्रसाईं समूहबाट बिहीवार प्रदर्शन भएको थियो ।

आयोगले शुक्रवार प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरमा रहेको निवास क्षेत्रको अनुगमनसमेत गरेको छ । तीनकुनेमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले पक्राउ गरी प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

बिहिवार प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य–मान्यता र मर्यादा विपरीत एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्ति घाइते भएको, सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधि नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य–मान्यता विपरीत रहेको आयोगको ठहर छ ।

आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्य–मान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् पोस्टर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरि जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगले प्रदर्शनमा सहभागी समूहलाई आग्रह गरेको छ । साथै नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, उनीहरूमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्नसमेत आयोग सरकारलाई आग्रह गरेको छ ।

घृणायुक्त अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण

सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन

घृणायुक्त अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण

जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या