दार्मामा २ सय ४१ अस्थायी आवास निर्माण


चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म दुई सय ४१ अस्थायी आवास निर्माण भएका छन् ।

विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन ।

माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयमले एक सय ५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माणमा जुटेर फिर्ता भएको उनले बताए । उनले भने, ‘भूकम्पको पिडामा सहयोग गर्न कालिकोट लगायत बाह्र जिल्ला र सल्यानका विभिन्न पालिकाबाट जुन सहयोग भयो त्यसको हामी सधैँ ऋणी नै रहनेछौँ ।’

पालिकामा चार सय स्वयंसेवक परिचालन गर्ने भएपनि माओवादी केन्द्रका एक सय ८० र नेकपाका ४५ मात्र स्वयंसेवक परिचालन भएको र अन्यको रेकर्डमा नभएको केसीले बताए ।

अस्थायी घर टहरा निर्माणका लागि पहिलो किस्ता बापतको २५ हजार पीडित सबैले लगिसकेको र जनशक्तिको अभावका कारण जुन गतिमा कार्य अघि बढ्नु पर्ने हो त्यसमा केही कमी देखिएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताए । स्थानीय जनशक्तिको अभाव भएपछि जिल्लाका विभिन्न स्थानबाट पुनः स्वयंसेवक आउने तयारी भइरहेको उनको भनाइ छ ।

दार्मामा भूकम्पबाट एक हजार एक सय ७९ परिवार विस्थापित भएका थिए । जसमध्ये दुई सय अस्थायी टहरा, एक सय टेन्टमा र एक सय बढी सामान्य मर्मत गरेका घरमा बस्दै आइरहेका छन् भने पाँच सय परिवार त्रिपालमुनि बस्दै आइरहेका छन् ।

दार्मामा २ सय ४१ अस्थायी आवास निर्माण

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ