वीरेन्द्रनगरका व्यापारी पर्वमा समेत उत्साहित छैनन्

प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश व्यापारी यो पटकको दसैँमा उत्साहित छैनन् ।
कस्मेटिक पसल, भाँडा पसल, पूजाका सामान बिक्री गर्नेदेखि ठेला व्यापारीहरु समेत विगतका दसैँको तुलनामा व्यापार घटेको बताउँछन् ।
दसैँ भन्ने बित्तिकै पूजाआजासँग पनि जोडिन्छ । तर, पूजाआजाका सामान बेच्ने व्यापारी पनि दसैँमा व्यापार नभएपछि चिन्तित छन् ।
यो पटकको जस्तो कमजोर व्यापार यसअघि कहिल्यै नभएको व्यापारिहरुको भनाइ छ । अन्य समयभन्दा दसैँ–तिहार व्यापारका दृष्टिकोणले मुख्य सिजन हो । तर, यो पटक पूरै सुक्खा रहेको व्यापारी बताउँछन् ।
केही कपडा पसलमा भने मान्छेको भिड लाग्ने गरेको देखिन्छ । तर, त्यो पनि अघिल्ला दसैँको तुलनामा निकै कम रहेको वीरेन्द्रनगरका व्यवसायी बताउँछन् ।
यो दसैँमा व्यापार सन्तोषजनक मात्रै रहेको व्यवसायीको भनाइ छ । वीरेन्द्रनगरका अधिकांश पसल सञ्चालकहरु दसैँजस्तो पर्वमा समेत उत्साहित छैनन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल विगतभन्दा यो पटक व्यापार व्यवसायमा ठुलो मात्रामा गिरावट आएको बताउँछन् । उनका अनुसार अटो मोबाइल र निर्माण सामग्री विक्री वितरणमा ८० प्रतिशत गिरावट आएको छ । अन्य व्यवसायमा ६० देखि ४० प्रतिशतसम्म गिरावट आएको उनको भनाइ छ ।






